बाँकेको जमुनाहा नाका बन्द गरिँदै

बाँकेको जमुनाहा नाका बन्द गरिँदै

बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही बैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमा नाका बन्द हुने भएको छ । 

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भोलि राति १२ बजेदेखि बैशाख २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिन लागिएको हो । प्रमुख जिल्ला अधिकारी विपिन अर्यालका अनुसार नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्ने तथा संवेदनशीलता अनुसार काम गर्ने सहमति भएको छ । 

उनले सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको समेत जनाए । त्यस्तै, सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी अर्यालले बैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा रोक लगाइने जानकारी दिए ।  नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।

टिप्पणीहरू