लेनिनले मन पराउने युवतीसँगको लफडा

लेनिनले मन पराउने युवतीसँगको लफडा

भ्लादिमिर इल्यिच लेनिन सन् १९१७ देखि १९२४ सम्म रुस र सन् १९२२ देखि १९२४ सम्म सोभियत संघको सरकार प्रमुख रहे । उनले जीवनमा तीन महिलासित प्रेम गरे । नादेज्दा क्रुप्स्काया पत्नी बनिन् भने बाँकी २ जना प्रेमिका मात्र थिए । नादेज्दा र इनेसा अर्मान्डसँगको प्रेमबारे पाठकहरू जानकार नै छन् तर अपोल्लिनारिया याकुबोभाबारे भने कमैलाई मात्र थाहा हुन सक्छ । याकुबोभा सेन्ट पिटसबर्ग निवासी हुन् । रुसको दोस्रो ठूलो यो शहर क्रान्तिकालमा पेत्रोग्राद र लेनिनको मृत्युपश्चात् लेनिनग्रादको नामले बिख्यात बन्यो । जार सम्राट् पिटर महानले सन् १७०३ मा शहर बसालेकाले यसको नाउँ नै पिटसवर्ग रहन पुगेको हो । याकुबोभाका बुबा यसै शहरस्थित चर्चको पादरी थिए । युवावस्थामा टेक्नेबित्तिकै उनले त्यहाँको विश्वविद्यालयमा भौतिक विज्ञान र गणित विषय अध्ययन गरिन् । लेनिनले सन् १८९५ मा सेन्ट पिटसबर्गमै ‘श्रमिक वर्गको मुक्तिका लागि संघर्षशील लिग’ गठन गरेका थिए । यो एउटा उग्र वामपन्थी संगठन हो, जसभित्र फरक–फरक धारका २० वटा माक्र्सवादी संगठन थिए ।

इतिहासकारका अनुसार लिगमा याकुबोभा र उनका भावी पति पनि संलग्न थिए । उच्चशिक्षा हासिल गरिसकेपछि शिक्षण पेशामा लागेकी उनमा शुरुदेखि नै माक्र्सवादतर्फ झुकाव थियो त्यसैले बिदाको दिन (आइतबार) मजदुरलाई पढाउन र संगठित गर्न थालिन् । त्यसबेला लेनिनको नादेज्दासँग भेट भइसकेको थियो । नादेज्दा पनि सेन्ट पिटसबर्गकै थिइन् । सन् १८९० मै माक्र्सवादी ग्रुपमा सक्रिय भइसकेकी । नादेज्दाले लेनिनलाई मन पराउन थालेकी थिइन् तर लेनिन याकुबोभालाई चाहन्थे । त्यो बेला नादेज्दा र याकुबोभा दुबैको उमेर २६ थियो भने लेनिनको २५ । लेनिन महिला साथीहरूलाई उपनाम दिनमा सिपालु थिए । उदाहरणका लागि, जिनाइदा नेभ्जोरोभा मोटी थिइन् त्यसैले उनको नाउँ रह्यो– पास्ट्री । त्यसैगरी क्रुप्स्कायाको आँखामा पहिल्यैदेखि समस्या थियो तसर्थ नाउँ राखिदिए– रिबा (माछा) । त्यसैगरी याकुबोभा उनलाई मायालु लाग्थिन्, त्यसैले पहिला कुबोच्का भनी बोलाउन थाले । पछि अझ मिठासपूर्वक लिरोच्का । लण्डनस्थित क्वीन मेरी विश्वविद्यालयका प्राध्यापक तथा रुसी इतिहास विज्ञ डा. रोबर्ट हेन्डर्सनका अनुसार लेनिनले याकुबोभासामु बिहेको प्रस्तावसमेत राखेका थिए तर उनले त्यसलाई सुने नसुनेझैं गरिदिइन् । उनी बिछट्टै राम्री थिइन् । लेनिन मात्र होइन, त्यो बेला उनको पछि लाग्ने थुप्रै केटा थिए । हेन्डर्सनका अनुसार याकुबोभाले प्रेम प्रस्ताव अस्विकार गरेपछि मात्र लेनिन र नादेज्दा क्रुप्स्काया नजिकिएका हुन् । सन् १८९६ मा क्रान्तिकारीमाथि जार शाहीले दमन चर्कायो । लेनिन, क्रुप्स्काया, याकुबोभा, उनका पतिलगायत थुप्रै संख्यामा माक्र्सवादी क्रान्तिकारीहरु पक्राउ परे । यिनीहरूमध्येका अधिकांशलाई साइबेरियाको निर्वासनमा पठाइयो । २ वर्षपछि क्रुप्स्कायालाई पनि सोही स्थानमा लगियो । जहाँ लेनिन र उनले सन् १८९८ मा बिहे गरे ।

सन् १९०० मा जसोतसो याकुबोभा र उनका पति जेलबाट भाग्न सफल भए । उनीहरू पैदलै भाग्दै महिनौँ दिनपछि ७ हजार टाढाको शहर लण्डन पुगे र माइल सुदूरपूर्वको रिजेन्ट स्क्वायरमा बसे । गरिब र श्रमिकबीच राजनीतिक छलफल चलाउन र लण्डनमा बसिरहेका रुसीहरूका छोराछोरीलाई पढाउन थाले । विशेषतः याकुबोभा ह्वाइट च्यापेलका उपप्राध्यापकबीच राजनीतिक बहस चलाउन, फरक राजनीतिक धार बोकेकाहरूलाई एउटै धारमा डो¥याउन खोज्थिन् । रुसमा रहँदै लेनिनसित भिन्न मत राख्थिन् । संगठित लोकतन्त्रको वकालत गर्थिन् जबकि लेनिन शुरुदेखि नै जनवादी केन्द्रियताको पक्षधर थिए । वैचारिक विवादकै क्रममा लेनिनले उनीमाथि अराजकतावादीको आरोपसमेत लगाए । लेनिनको उक्त आरोपपछि उनी हतोत्साह बनेर बिरामी नै भइन् । यसले दुई जनाबीचको सम्बन्धमा तिक्तता मात्र ल्याएन बल्की संगठन नै विभाजित हुने अवस्थासम्म पुग्यो । पहिला उनी क्रुप्स्कायासित धेरै मिल्थिन् तर लेनिनसित बहस गर्ने गरेका कारण क्रुप्स्कायाले पनि उनीदेखि टाढिन मन पराइन् । भन्न थालिन् – दुई जनाबीच मेलमिलापको सम्भावना देखिन । यसपछि नै हो याकुबोभाले आफू संगठित संगठनको प्रमुख कोन्स्टान्टिन ताख्तारेभसँग बिहेका निर्णय गरेको ।

याकुबोभा लण्डनमै हुँदा लेनिनले उनलाई एउटा पत्र लेखे । उनी त्यो बेला भर्खरै देशबाट निर्वासित हुने क्रममा स्विट्जरल्याण्ड पुगिसकेका थिए । सन् १९०० को अक्टोबर २४ को याकुबोभाको पत्रको प्रत्युत्तरमा अक्टोबर २६ मा लेखे ‘मलाई तिम्रो पत्रले अनौठो अनुभूत गराउँछ । ठेगाना र फर्वार्डिङसम्बन्धी जानकारी र व्यंग्यात्मक निन्दाबाहेक, त्यसमा अरू केही हुन्न– कुनै स्पष्टीकरण बिनाको नग्न निन्दा मात्र पाइन्छ । तिमी व्यंग्यात्मक टिप्पणीमा पोख्त छौं । यो सबै रूसी श्रमिक आन्दोलनको हितका लागि गरेको हो वा प्लेखानोभको फाइदाको लागि ? बुझ्न कठिन छ । तिमीले मेरो भनाइलाई गलत तरिकाबाट ब्याख्या गरिरहन्छ्यौ । ‘तिमीले मेरो साथीलाई लाज लाग्दैन भने हामीसँग लड्नुस् भनेर लेखेकी रहिछौ। साथीको हकमा साथीले नै जवाफ देलान् । जहाँसम्म मेरो कुरो छ, म लड्न र संघर्ष गर्न न डराउँछु न लाजै मान्छु । संघर्षबिना छाँटकाँट हुन सक्दैन, छाँटकाँटबिना सफलता हात लाग्दैन, न त दिगो एकता नै हुन सक्छ । अहिले संघर्ष गर्नेहरूले कुनै हालतमा एकता भत्काइरहेका छैनन् । अहिलेको समयमा कुनै टिकाउ एकता भइरहेको छैन । एकता आफँै भत्किसकेको अवस्था छ । ‘तिमीसितको पत्रमा सधैं संघर्षको कुरो उठाइरहनुपर्दा मलाई अप्ठेरो लाग्छ । तर हाम्रो पुरानो मित्रता छ, त्यसैले यो अनिवार्य पनि बनेको छ ।’

निर्वासित जीवन भोग्ने क्रममा लेनिन र क्रुप्स्काया स्विटजरल्याण्ड, जर्मनी हुँदै सन् १९०२ मा लण्डन पुगे । फेरि याकुबोभासँग भेट भयो । तीनै जनाले सँगै काम गरे । नजिकिए । तर, त्यो बेलामा पनि उनी र लेनिनको विचारमा मतक्यैता थिएन । एकता र संघर्ष सँगसँगै चल्यो । पुरानो प्रेम जागृत भयो पनि तर राजनीतिक विचारधाराकै कारण क्षणभरमै भताभुंग भयो । तैपनि, साथमा काम गर्न भने छाडेनन् । राजनीतिज्ञलाई आममाफी दिने जारशाहीको घोषणापछि सन् १९०५ मा याकुबोभा दम्पती रुस फक्र्यो र शिक्षण पेशामा लाग्यो, सन् १९०९ र १९१० बीच याकुबोभाहरू फिनल्याण्ड गएर बस्न थालेको र उनलाई क्षयरोग लागेकोसम्म हेन्डर्सनले उल्लेख गरेका छन् । त्यसपछिको अवस्थाबारे कुनै जानकारी छैन । किनभने यसअघि सन् १९०५ देखि उनी राजनीतिबाट विमुख भइसकेकी थिइन् । उनको निधन १९१७ मा फिनल्याण्डको क्निपोभिच कटेजमा भएको अनुमान छ । लेनिनले आफ्नो मृत्युअगाडि लेखेका छन्, ‘मेरो एक निःस्वार्थ साथी, जसले श्रमिकको मुक्तिका लागि आफ्नो जीवन बलिदान गरिन् ।’ राजनीतिक विचारधारामा मतैक्यताको बाबजुद लेनिनले याकुबोभासँग सच्चा र गहिरो प्रेम गरेको र लेनिन, क्रुप्स्काया र याकुबोभाबीच त्रिकोणात्मक प्रेम सम्बन्ध रहेको’ भन्ने दाबी गर्ने हेन्डरसन भन्छन्’ रुसी क्रान्तिको इतिहास लेख्ने क्रममा इतिहासकारले धेरै क्रान्तिकारीको योगदानलाई जानाजान उल्लेख गर्दै याकुबोभा उनीहरूमध्येकै हुन् ।’
 

टिप्पणीहरू