सार्वजनिक पदमा रहेकाले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्ने
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबैले अनिवार्य रुपमा आफ्ना सन्तति सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । पालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्टका अनुसार पालिकाभित्र सार्वजनिक पद धारण गरेका सबैको बालबालिकालाई सात दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुले सात दिनभित्र आफ्ना छोराछोरी पालिकाभित्रको सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा दिनुपर्ने छ ।
‘सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाई शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्देश्यले गाउँ शिक्षा समितिको हिजो बसेको बैठकबाट सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय भएको हुँदा सात दिनभित्र अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू