सेना र सशस्त्रका हाकिमहरुको नगरकोटमा भेला
नेपाली सेना र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरुले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालित ‘सि.सं. ११ हाईयर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्ष’ को स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् ।
सशस्त्रका आईजीपी राजु अर्यालसहितको टोलीले आज स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरेको बताइएको छ । सो अवसरमा आईजीपी अर्यालले कोर्षका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया समेत गरेको बताइएको छ ।
शिक्षार्थीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रमुखले सुरक्षा संगठनहरुबीच भएको आपसी सहकार्य तथा सहयोग आदानप्रदान र आत्मीयताले एकापसबीचको सम्बन्ध थप मजबुत एवम् प्रगाढ हुँदै गइरहेको जानकारी दिएका हुन् । राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा शुरुवातदेखि नै विविध तालिम तथा साधन स्रोत व्यवस्थापनमा नेपाली सेनासँग समन्वय भइरहेको उल्लेख गर्दै उनले अन्तरक्रिया तथा भ्रमणले सुमधुर सम्बन्ध बनाउने विचार राखेका हुन् ।
राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायतका कार्य सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने आईजीपी अर्यालको भनाइ छ । त्यस्तै, उनले कोर्षका प्रशिक्षक सहायक रथी हिम्मतबहादुर विष्टलाई संगठनको तर्फबाट मायाको चिनोसमेत प्रदान गरेको जानकारी दिइएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको बारेमा कोर्षका शिक्षार्थीहरुले राखेको विविध जिज्ञासाबारे स्पष्ट पारेका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम कर्तव्य र अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा संगठनहरुबीच समन्वय र सहकार्यका क्षेत्रहरु, विद्यमान चुनौतीलगायतका विषय प्रस्तुतीकरणमार्फत जानकारी गराएका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू