पदभार ग्रहणमा स्वास्थ्यमन्त्रीका चार घोषणा
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि चारवटा निर्णय गरेका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले महत्त्वपूर्ण चार निर्णयमा हस्ताक्षर गरेका हुन् ।
सरुवा रोगको महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्ने मन्त्री बस्नेतको पहिलो निर्णय छ । त्यसका लागि कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्व लिएर संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त पारी नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी, स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकको सहज पहुँच र सुविधाका लागि दातृ निकायसमेतको सहभागिता जुटाएर स्वास्थ्य संस्थामार्फत सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने मन्त्री बस्नेतको दोस्रो निर्णय छ ।
अर्को निर्णयमा आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने भनिएको छ ।
स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र स्रोत साधनको अत्यधिक उपयोग भए÷नभएको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने मन्त्री बस्नेतले निर्णय गरेका छन् ।
टिप्पणीहरू