जसलाई गीतले बोलाइरहन्छ

जसलाई गीतले बोलाइरहन्छ

जरा सामने तो आओ छलिये
छुप छुप छलने में क्या राज है
यूँ चुप न सकेगा परमात्मा
मेरी आत्मा की ये आवाज है ।
हम तुम्हे चाहे तुम नहीं चाहो
ऐसा कभी न हो सकता

पिता अपने बालक से बिछुड़ के
सुख से कभी न सो सकता
हमें डरने की
जग में क्या बात है
जब हाथ में तिहारे मेरी लाज है ।
प्रेम की है ये आग सज्जन जो
इधर उठे और उधर लगे
प्यार का है ये तार पिया जो
इधर सजे और उधर बजे
तेरी प्रीत पे बड़ा हमें नाज है
मेरे सर का तू ही रे सरताज है
यूँ चुप न सकेगा परमात्मा
मेरी आत्मा की ये आवाज है ।

यो गीत मन्नु देसाई निर्देशित हिन्दी चलचित्र ‘जनम जनमके फेरे’ को हो । मन्नु उनै मनमोहन देसाई हुन् जसले ‘अमर अकबर एन्थोनी, सुहाग, नसीब, कुलीजस्ता ९ वटा हिट चलचित्रमा अमिताभ बच्चनलाई अभिनय गर्ने मौका दिए । जनम जनमके फेरे उनको पहिलो निर्देशित चलचित्र हो, सन् १९५७ मा यो चलचित्र प्रदर्शन हुँदा उनी मात्र २० वर्षका थिए । त्यसो त उक्त चलचित्र धार्मिक चलचित्र थियो पौराणिक पात्र ‘सती अन्नपूर्ण’ मा आधारित तर उल्लिखित गीत त्यो बेला सर्वाधिक लोकप्रिय गीत बन्न पुग्यो । यो गीतका रचनाकार थिए – पण्डित भरत ब्यास । गीतकारले यो गीत रचना गर्नुमा उनको आफ्नै कथाव्यथा थियो । 

सन् १९५० को दशक गीतकार भरत ब्यासको लागि सुनौलो दिन थियो । लगातार चलचित्रमा गीत लेख्दै गए अधिकांश हिट भए । सन् १९५७ को एकदिन उनका छोरा श्यामसुन्दर ब्यास घरबाट निस्के र फर्केर आएनन् । अति संवेदनशील स्वभावका उनी परीक्षामा फेल भएका थिए र बाबुबाट गाली खाने डरले घर छाडी भागेका थिए । भरत छोरोलाई खोज्न हिँडे । अखबारमा विज्ञापन दिए । ‘तिम्रो सबै इच्छा र आकांक्षा पूरा गर्छु फर्केर त आउनू’ भन्ने सन्देशसहित फोटो राखेर सडक र गल्लीमा पोस्टर टाँसे । ज्योतिषीहरूसँग राय लिए । मन्दिर, मस्जिद, गुरुद्वारा, चर्चमा प्रार्थना गरे । धरती र आकाश एक पारे तर छोरोलाई खोजेर निकाल्न सकेनन् । उनी अत्यन्त निराश बने । कुनै काममा पनि उनको मन नलाग्ने भयो । प्रत्येक क्षण हराएको छोरोलाई सम्झेर उदास बन्न थाले । यस्तै बेला एक जना चलचित्र निर्माता सतीश गोयल आफूले बनाउँदै गरेको चलचित्रका लागि गीत माग्न उनको घर पुगे । तर भरतको अवस्था गीत लेख्ने मनस्थितिको थिएन । तैपनि, सतीशले कर गर्न थाले । भरतले आफूलाई नियन्त्रण गर्न सकेनन् र सतीशलाई हकार्दै घरबाट निस्कन भने । यसबीच कोठामा भरतकी पत्नी प्रवेश गरिन् । उनी लोग्नेको बियोगबारे पूर्णतः जानकार थिइन् । उनले सतीशसित माफी माग्दै भोलि बिहान आउन भरतलाई आग्रह गरिन् । सतीश ‘हस्’ भन्दै निस्के । सतीश निस्केपछि पत्नीले भरतलाई सम्झाउँदै भनिन्, ‘पैसाका लागि न सही, कम्तीमा पुत्र वियोगलाई लिएरै भए पनि एउटा गीत लेखिदिनुस् ।’

अचम्म ! छोरो नभेट्टाएसम्म केही गर्दिनँ भनी बसेका भरत यो पालि पत्नीको आग्रह मानी गीत लेख्न थाले । उनले आफ्नो व्यथा गीतमा पोखे । भोलिपल्ट सतीश भरतको घर गए र गीत पाएर खुशी हुँदै फर्के । सतीशले उक्त गीत ‘जनम जनम के फेरे’ मा प्रयोग गरे । गीतलाई एसएन त्रिपाठीको संगीतमा मोहमद रफी र लता मंगेशकरले अत्यन्त सुमधुर तरिकाले गाए । चलचित्र प्रदर्शित भएपछि उक्त गीत यतिबिघ्न चल्यो कि वर्षकै उत्कृष्ट र सर्वाधिक लोकप्रिय सावित भयो । उता, भरत आफूले लेखेको गीतले आकाश छोइसकेपछि पनि प्रशन्न हुन सकेनन् किनभने अझै श्यामसुन्दरबारे उनी बेखबर नै थिए । तर, उनले हिम्मत हारेनन् । सन् १९५९ मा रिलिज भएको चलचित्र ‘रानी रूपमती’का लागि अर्को एउटा गीत लेखे । पुत्र बियोगलाई नै केन्द्रबिन्दुमा राखेर लेखेको र बेदनाले भरिपूर्ण उक्त गीत पनि निकै हिट भयो । भरतको पछिल्लो प्रयास भने सफल भयो । कलमको जादु चल्यो । उनका छोरा श्यामसुन्दर घर फर्के । हराएको छोरालाई घर फर्काउन सफल उनको गीतको बोल थियो ।

आ, लौट के आजा, मेरे मीत
तुझे मेरे गीत बुलाते हैं
मेरा सूना पड़ा रे संगीत
तुझे मेरे गीत बुलाते हैं ।
बरसे गगन, मेरे बरसें नयन
देखो तरसे है मन, अब तो आजा
शीतल पवन ये लगाए अगन, हो
सजन, अब तो मुखड़ा दिखा जा ।
एक पल है हँसना, एक पल है रोना
कैसा है जीवन का खेला
एक पल है मिलना, एक पल बिछड़ना
दुनिया है दो दिन का मेला ।
ये घड़ी ना जाए बीत
तुझे मेरे गीत बुलाते हैं
आ, लौट के आजा मेरे मीत ।

हिन्दी चलचित्र जगत्मा गीतकार भरत ब्यासको योगदान अतुलनीय छ । उनी बिकानेरका हुन् । ब्राह्मण परिवारका सदस्य । १७–१८ वर्षको उमेरदेखि नै कविता लेख्न थालेका थिए । नाटक पनि लेखे । अभिनय पनि गरे । तर, उनको झुकाव पद्यतर्फ बढ्यो । पछि भाग्य आजमाउने उद्देश्यले मुम्बईतर्फ लागे । पहिलो पटक सन् १९४२ मा निर्माता निर्देशक अनुज बीएमले चलचित्र ‘दुहाइ’का लागि गीत लेख्न दिए । पारिश्रमिक स्वरुप भरतले भारु १० पाए । उनले पाएको मौकालाई गुमाएनन् । चलचित्रका लागि गीत लेख्दै गए । अधिकांश गीत हिट भए । हिन्दी चलचित्र जगत्मा प्रसिद्ध गीतकारको रूपमा स्थापित भए । चलचित्र नवरंगको ‘आधा है चन्द्रमा, रात आधी, रह ना जाए तेरी मेरी बात आधी, मुलाकात आधी, दो आँखे बारह हाथको ‘ए मालिक तेरे बन्दे हम’, सन्त ज्ञानेश्वरको ‘जोत से जोत जलाते चलो, प्रेमकी गंगा बहाते चलो, सम्राट् चन्द्रगुप्तको ‘चाहे पास हो चाहे दूर हो, मेरे सपनों की तुम तस्बिर हो, मेरे जीवन की तुम तकदीर हो’ गूंज उठी सहनाईको ‘दिलका खिलौना हाए टुट गया’ बूँद जो बन गई मोतीको ‘येह कौन चित्रकार है’ बेदर्द जमाना क्या जानेको ‘कैद में है बुलबुल, सैय्याद मुस्कुराये’ उनीद्वारा लिखित अत्यधिक लोकप्रिय बनेका गीतमध्येका हुन् । उनले १ सय ७३ वटा चलचित्रमा गीत लेखे । ४० वर्ष लामो क्यारियरमा चलचित्र र गैरचलचित्रमा गरी १ हजारभन्दा बढी गीत लेखे । ३६ जना संगीतकारसँग काम गरे ।

व्ही. शान्तारामलाई सम्पूर्ण भारतीय चलचित्र जगतकै ‘पितामह’ मानिन्छ । एक बहुप्रतिभाशाली निर्देशक । उनी त्यो महान् निर्देशक हुन् जसले डा. द्वारकानाथ कोटनिसबारे चलचित्र बनाउने आँट गरे । डा. कोटनिस ती व्यक्ति हुन् जसले चीन–जापान युद्धको समय चीनमा गएर लालसेनासित मिलेर काम गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिए । उनको निधनमा चीनका अध्यक्ष माओ त्सेतुङले श्रद्धाञ्जली अर्पण गर्दै भनेका थिए, ‘चिनियाँ सेनाले सहयोगी हात गुमायो, राष्ट्रले साथी गुमायो । उहाँको अन्तर्राष्ट्रियतावादी भावनालाई सदैव स्मरण गरौँ ।’

ह्वी शान्तारामले सन् १९५७ मा ‘दो आँखे बारह हाथ’ बनाउँदै थिए । उनले एक दिन भरत ब्यासलाई ‘तिमी मलाई यस्तो एउटा प्रार्थना–गीत लेखेर देऊ, जुन गीत सबै धर्मावलम्बीले गाउन मिलोस्’ भने । भरतले तुरन्तै एउटा गीत लेखेर सुनाए । शान्तारामलाई चित्त बुझेन । दोहो¥याएर लेख्न भने । भरतले रातभर जागा बसेर गीत लेखे र भोलिपल्ट शान्तारामलाई सुनाए । शान्तारामले गीतको अन्तरा पढ्नेबित्तिकै भने, ‘ल यो तिम्रो प्रार्थना गीत अमर हुने भयो ।’ त्यो गीत हो ‘ऐ मालिक तेरे बन्दे हम, ऐसे हों हमारे करम, नेकी पर चलें और बदी से टलें, ताकि हंसते हुए निकले दम’

नभन्दै आजपर्यन्त यो गीत भारतको सबै स्कूल र जेलमा समेत गाउने गर्छन् । यहाँसम्म कि पाकिस्तानमा समेत । उनले गीतमा कहिल्यै अश्लील शब्द र दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गरेनन् बरु यसको विरोध नै गरे । गीतमा मानवीय संवेदना, विरह, वेदना, संयोग, वियोग, भक्ति र दर्शनलाई प्राथमिकता दिने गरे । उनको निधन ६५ वर्षको उमेरमा सन् १९८२ मा मुम्बईमा भयो ।
 

टिप्पणीहरू