चौधरीले संगीतालाई यस्तरी च्यापे

चौधरीले संगीतालाई यस्तरी च्यापे

डलर अर्बपति तथा कांग्रेसका सांसद विनोद चौधरी र उनको व्यापारिक संस्था चौधरी ग्रुप एकपछि अर्को विवादमा तानिएका छन् । विशेषगरी अपारदर्शी कारोबार र सार्वजनिक जग्गामाथिको बक्रदृष्टिका कारण चौधरी र उनका विभिन्न व्यावसायिक कम्पनी स्थानीय र सर्वसाधारणको तारो बन्ने गरेका छन् ।

चौधरी ग्रुपको लगानी रहेको कोपुण्डोलस्थित आलिशान रेसिडेन्सीको जग खन्ने क्रममा केही स्थानीयको घर भत्किएको छ । झण्डै एक दर्जन घर उच्च जोखिममा छ । उता, थानकोट नजिकैको सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्सको कम्पाउण्डले स्थानीयले दशकौंदेखि प्रयोग गर्दै आएको बाटो मिचेको उजुरी नगरपालिका, अख्तियार र जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । 

यता, ललितपुरको भैंसेपाटीमा निर्माणाधीन चौधरीको सिजी हिल्सले सार्वजनिक जग्गाबाट कोलोनी छिर्ने ठूलो बाटो बनाउन अनेक प्रपञ्च रचेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । ललितपुर महानगरदेखि मालपोत तथा नापी कार्यालय हुँदै अदालतसम्म पुगेको यो लफडालाई आफ्नो पक्षमा पार्न चौधरी समूहले स्थानीय एक महिलालाई प्रयोग गरेको अन्यको आरोप छ ।

पैसा र पहुँचको आडमा सार्वजनिक जग्गा कब्जा गरेको भन्दै सिजी हाउजिङविरुद्ध जिल्ला अदालत ललितपुरमा दायर मुद्दाको गत वैशाख २७ गते पहिलो पेसी थियो । सो दिन चौधरीका तर्फबाट १५ जना कानुन व्यवसायीले बहस गरे । ती सबैको जिकीर सार्वजनिक जग्गालाई कोलोनीको बाटोमा परिणत गर्न स्थानीय संगीता थापाले गरेको ‘गुपचुप’ सहयोगमा आधारित रहेको बताइन्छ ।

तर, स्थानीयले भने सार्वजनिक जग्गा अतिक्रमण गरिसकेको सिजीले दायाँबायाँको जग्गासमेत मिच्ने योजना बनाएको अर्को आरोप लगाएका छन् । कम्पनी पर्दाभित्र बसेर संगीतालाई अघि सारिएको र उनले चौधरी ग्रुपको आर्थिक प्रलोभनमा स्थानीयलाई धोका दिन खोजेको स्थानीयको निश्कर्ष छ ।

सिजी हिल्सले कोलोनी प्रवेशमार्ग नजिकैको सार्वजनिक जग्गामा आँखा लगाएपछि पहिलेदेखि नै केही स्थानीय र जनप्रतिनिधिलाई प्रलोभनमा पार्दैै साँठगाँठ गरेको बताइन्छ । ‘त्यो जग्गामा पहिले हामी खेल्ने गथ्र्यौं । ठूलो चौर भएकाले अहिले बालबालिका खेल्छन् । सबैलाई त्यो सार्वजनिक जग्गा भन्ने थाहा छ’, स्रोतले भन्यो, ‘तर स्थानीय संगीता थापाले चौधरीको प्रलोभनमा पहिल्यैदेखि बाटो रहेको बताएकी छन् । संगीतालाई मोहोरा बनाएर सार्वजनिक जग्गा हडप्ने काम भइरहेको छ ।’ 

सार्वजनिक चौरमा बाटो रहेको झुटो निवेदन दिएकी संगीताले खुलेआम सिजीको वकालत गर्न थालेपछि स्थानीय झस्केका छन् । अर्कोतर्फ मुलुकभर जग्गाको कित्ताकाट रोकिएको छ । तर यही बेला उक्त जग्गाको कित्ताकाट हुनु आफैंमा आश्चर्यपूर्ण घटना हो । तत्कालीन वडाध्यक्ष पुरुषोत्तम खड्काले सिजीलाई उक्त कार्यमा सहयोग गरेको हालका जनप्रतिनिधिहरू बताउँछन् ।

खड्काले सार्वजनिक जग्गामा बाटो खन्न शुरु गरेपछि निरीक्षणका लागि त्यहाँ पुगेर स्थानीयसँग भनेका थिए, ‘म तुरुन्त ललितपुर महानगरपालिकालाई चिठी लेखेर यो कार्य रोक्न लगाउँछु ।’ तर, भोलिपल्टै सिजी हिल्ससँग हात मिलाए । सिजीका साइट इञ्चार्ज राजन क्षेत्रीको प्रयासमा खड्काले आफ्नो अडान त्यागे । पछि उक्त सार्वजनिक जग्गाबारे चासो दिन छाडे । 

स्थानीय भन्छन्, ‘पहिले त उहाँले बाटो खन्ने काम रोक्ने भन्नुभएको थियो । तर, हामीलाई वाचा गरेको भोलिपल्टै आफैँ फेरिनुभयो । बाटो बन्द गर्न मिल्दैन भन्दै आउनुभएका उहाँले त्यसपछि फोन पनि उठाउन छाड्नुभयो ।’

सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्न बसेका स्थानीय सरकारका वर्तमान प्रतिनिधिहरूमाथि पनि हात बाँधेर बसेको आरोप लागेको छ । वर्तमान वडाध्यक्ष दामोदर खड्काको पछिल्लो मौनतामाथि पनि स्थानीयले प्रश्न उठाएका छन् । आफूहरूले प्रमाणसहित वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । 

वडामा नक्सा पास नगरी घर बनाउने क्रम बढेकोतर्फ पनि स्थानीयले जनप्रतिनिधिहरूलाई सजग गराएका छन् । गतवर्ष सिजीले हाउजिङका ढल हाल्ने क्रममा पनि वडाले चासो नदेखाउँदा धेरैले अचम्म मानेका थिए । जनप्रतिनिधिहरू नै दोहोरो भूमिकामा देखिएपछि आफूहरू अभियन्ता तारा बरालको सहयोगमा चौधरीविरुद्ध मुद्दा लड्न बाध्य भएको उनीहरू बताउँछन् ।
 

टिप्पणीहरू