जब निरीह भँवरीमाथि उच्च जाति जाइलागे

जब निरीह भँवरीमाथि उच्च जाति जाइलागे

भारतको उत्तरी राज्य राजस्थान यति ठूलो छ कि यसले त्यहाँको कूल क्षेत्रफलको १० दशमलव ४ प्रतिशत भूमि ओगटेको छ अर्थात् यो नेपालभन्दा झण्डै साढे दुई गुणा ठूलो छ । भँवरीदेवी सोही राज्यअन्तर्गतको सानोगाउँ भतेरीमा जन्मेकी हुन् । पेशाले कुम्हाले उनको परिवार अत्यन्त गरिब र अनपढ थियो । पिता ज्यालादारीको काममा पनि जान्थे । गाउँका अधिकांश मान्छे गुजर जातिका थिए । घुमन्ते थिए । भारतको विभिन्न स्थानबाट आएका यिनीहरूले मध्ययुगको राजस्थानमा राज्यसमेत सञ्चालन गरेका थिए । गुजरहरूले आफूलाई कुम्हालेभन्दा माथिको जातिका ठान्थे । सन् १९९० को दशकतिर गाउँमा बालविवाहको चलन सामान्य थियो । जातीय भेदभाव चर्को । भँवरी त्यस्तै ५ या ६ वर्षकी मात्र थिइन् होला, उनको बिहे ९ वर्षका मोहनलाल प्रजापतसँग भयो । सानैमा बिहे गरेकाले किशोरावस्थामा पुग्दै उनी दुई छोरा र दुई छोरीको आमा बनिन् । आमाबुबा निरक्षर भए पनि सन्तानलाई शिक्षा दिलाए ।

सन् १९८५ देखि भँवरी ‘साथीन’ मा सामेल भइन् । यो महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूलाई आफ्नो अधिकारप्रति जागरुक पार्न राज्य सरकारद्वारा चलाइएको कार्यक्रम थियो । भूमि, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्र उनको जिम्मा थियो । सन् १९८७ मा एउटा बलात्कारसम्बन्धी केस उनकोमा आयो । उनले उक्त इस्युलाई जबर्जस्त उठाइन्, जसले गर्दा गाउँ र छिमेकी महिला उनको समर्थन गर्न थाले । सन् १९९२ तिर आइपुग्दा बाल विवाहको मुद्दा उठाउन थालिन् । भारतभरि बालविवाह कानुनी तवरमा अवैध हो तर सर्वत्र चलन छ । नेपालजस्तै भारतमा पनि अक्षय तृतीया पर्व मान्दछन् । नेपालमा यो दिन साइत नहेरिकनै विवाह गर्न मिल्छ । भारतमा पनि यो दिनलाई विवाहका लागि उत्तम मानिन्छ । उक्त दिन विवाहित हुन् वा अविवाहित, जो पनि लोग्ने वा भविष्यमा बन्ने पतिको भलोको कामना गर्ने गर्छन् । भारतमा यो दिन धेरैभन्दा धेरै बालविवाह सम्पन्न हुन्छ । भँवरीले त्यसरी बालविवाह सम्पन्न नगर्न गाउँलेलाई आग्रह गरिन् तर कोही पनि उनको कुरा सुन्न तयार भएनन् ।

अक्षय तृतियाकै दिन रामकरण गुजर ९ महिनाकी छोरीको बिहे गर्ने योजनामा थिए । यो कुरो थाहा पाएकी भँवरी त्यसो नगर्न परिवारका सदस्यलाई मनाउने प्रयत्नमा लागिन् । तर रामकरणहरु सो दिन बालविवाह सम्पन्न गर्न कटिबद्ध रहेको थाहा पाएपछि भँवरीकै सूचनाको आधारमा प्रहरी टोली गाउँ घुम्न थाल्यो । मे ५ को दिन एसपीको टोली विवाह रोक्न रामकरणको घर पुग्यो । प्रहरीको उपस्थितिले गर्दा त्यो दिन विवाह सम्पन्न भएन तर भोलिपल्ट राति २ बजे रामकरणले छोरीको बिहे गरी छाडे, जसलाई प्रहरीले रोक्न सकेन । भँवरीकै कारण प्रहरी गाउँमा आइपुगेको भन्दै गाउँलेले भँवरीको परिवारलाई नै गाउँबाट बहिष्कारको घोषणा गरे । गाउँलेले भँवरीको परिवारलाई दूध बेच्न र उनीहरूले बनाउने माटाका भाँडाकुँडा किन्नबाट रोके । भँवरीका लोग्ने युवकहरूको पिटाइमा परे भने भँवरीको जागिर पनि जबर्जस्ती खोस्न लगाइयो ।

२२ सेप्टेम्बर, १९९२ । साँझ ६ बजे भँवरी र पति खेतीबारीको काम सकाएर घरभित्र छिरेका मात्र थिए, एकाएक ढोकामा जोडले लात्ती बज्र्यिो । छाना उड्यो । सामान लुटियो । सुकाउन राखिएका माटोका भाँडा सबै फुटे । आँगनमा रोपिएका रूख उखेलिए, बार भत्क्यो । भँवरीहरू गरिब थिए, लुटपाट गर्न आएका सबै राजनीतिक कार्यकर्ता, त्यसैले केही चलेन न गुजरहरूले भँवरीसँग बदला लिन आएको सुइँको नै गाउँलेले पाए । त्यो साँझ, गाउँलेमध्येकै एकको भैंसी म¥यो । परम्पराअनुसार गाउँले भोलिपल्ट दिनभरि मरेको भैंसीको अन्तिम संस्कार गर्नपट्टि लागे । खुला खेतमा त्यो दिन भँवरी र उनका लोग्ने मोहन मात्र थिए । सूर्य अस्ताउन लागेको थियो । भँवरी हतारहतार घाँस काट्न थालिन् । मोहन अलिपर वस्तु चराउँदै थिए । भँवरीले चिच्याएको आवाज सुनिन् र मोहन भएतर्फ दौडिन् । उनले देखिन् ५ जना मान्छे मोहनलाई भुइँमा लडाएर लात्ती र लाठी वर्साउँदै थिए । उनले लोग्नेलाई नपिट्न बिन्ती बिसाइन् । कुटपिट गर्नेहरूलाई तुरुन्तै चिनिन् । तीमध्येका एक स्थानीय नेता बद्रि गुजर थिए भने अरू तीन जना उनैको परिवारका सदस्य छोरा रामसुख गुजर, भतिज रामकरण गुजर (भँवरीको कारण त्यो दिन बालविवाह रोक्न बाध्य बनेका) र सालो ग्यार्सा गुजर । पाँचौँ व्यक्ति थिए– गाउँको मन्दिरका ब्राह्मण पुजारी श्रवण शर्मा ।

भँवरीले किन मेरो लोग्नेलाई कुटेको भनेर सोधिन् । जवाफ दिनुको साटो बद्री उनको अगाडि ठिंग उभिन पुगे । उनले भँवरीको कुम सुम्सुम्याउँदै स्तन छुन थाले । भँवरीले विरोध गर्दै प्रहरीमा उजुरी दिने बताइन् । बद्रिले भँवरीको संवेदनशील अंग छुन छाडेनन् । जाऊ जहाँ रिपोर्ट गर्न मन लाग्छ गर, तिमीले गाउँमा हामीविरुद्ध छेडेको अभियानको आज बदला लिन आएको । मेरो पुरुषत्व जागिसक्यो भन्दै भँवरीलाई खेतमै लडाए । उनीहरूमध्येका दुई जनाले मोहनलाई समातेर राखे भने अर्को दुई जनाले भँवरीको हातखुट्टा समाते । अनि बद्रिले बलात्कार गरे । छोरा र भतिजले पनि भँवरीमाथि पालैपालो बलात्कार गरे । धूलोमा घिसार्दै परसम्म लगे अनि विजयीभावमा अट्टहास गरे । अनि धूलो उडाउँदै भागे । भँवरी सकिनसकी उठिन् अनि सजायँँ दिलाइछाड्छु भनी रुँदै चिच्याइन् । उक्त घटना हुँदा उनी ३९ वर्षकी थिइन् ।

भँवरीले पाँचै जनाविरुद्ध नामै किटेर प्रहरीमा उजुरी दिइन् । प्रहरीले पक्रेर अदालतमा पेश ग¥यो । तर, गुजरहरूको पछाडि स्थानीय सांसद धनराज मीना खडा भए । उनले पुरोहित नाउँले चिनिने वकिललाई मुद्दा लड्न लगाए । बलात्कृत भँवरीको पक्षमा सामाजिक अभियन्ता रसिला शर्मा, सावित्री गुणसेकरलगायत गैरसरकारी संगठन खडा भए । भँवरीलाई प्रहरी चौकीमा रसिलाले नै लगेकी थिइन् । चौकीमा भँवरीले प्रमाणको रूपमा आफूले लगाएको लेहेंगा र रगत लत्पतिएको मोहनको लुगा बुझाइन् । गाउँमा महिला चिकित्सक नभएकोले त्यहाँ कार्यरत पुरुष चिकित्सकले भँवरीको शारीरिक जाँच गर्न मानेनन् । र, जयपुर जान भने । उनले अस्पताललाई लेखेको पत्रमा ‘पीडितको उमेर पुष्टिका लागि’ उल्लेख थियो । उता, जयपुरको अस्पतालले मजिस्ट्रेटको आदेशबिना परीक्षण गर्न अस्वीकार ग¥यो । मजिष्ट्रेटले भोलि मात्र आदेश दिन सकिने भनी आलटाल गरे । नतिजास्वरुप योनी स्वाबको परीक्षण घटना घटेको ४८ घण्टापछि मात्र सम्भव भयो जबकि भारतको कानुनमा बलात्कार भएको २४ घण्टाभित्र स्वाब परीक्षण गरिसकेको हुनुपर्ने भन्ने छ । प्रहरी रिपोर्टमा उनको शरीरमा लागेको घाउ, चोटपटकबारे पनि उल्लेख गरिएन न त उनले भोग्नुपरेको शारीरिक असुविधाकै बयान त्यसमाथि थियो । 

यसबीच सेप्टेम्बर २५ का दिन राजस्थानको एउटा स्थानीय पत्रिकामा भँवरी देवीमाथि सामूहिक बलात्कार भएको र उक्त घटनाविरुद्ध प्रहरीमा उजुरी परिसकेको भनी एउटा सानो समाचार छापियो । उक्त समाचारले आगोको झिल्कोको काम ग¥यो । २–४ दिनभित्र सबै पत्रिकाको मुख्य समाचार बन्यो । कतिले त घटनाको विरोधमा सम्पादकीय नै लेखे । घटनालाई क्रूरताको नाउँ दिए । महिला अधिकारवादी र गैरसरकारी संस्थाहरूले घटनाको सत्यतथ्य जाँच हुनुपर्ने र दोषीलाई कडा कारवाही गरिनुपर्ने आवाज उठाए । उता, बलात्कारीहरूको समर्थनमा लागेका ब्यक्ति र संस्थाहरूले पनि भँवरीले सानो घटनालाई ठूलो रूप दिएको भन्दै सार्वजनिक तवरमै उनको बेइज्जति गरे । प्रहरीले घटनालाई सामसुम पार्न भँवरीसमक्ष रकम क्षतिपूर्ति दिने प्रस्ताव राख्यो, जसलाई भँवरीले अस्वीकार गरिन् । स्वाब परीक्षण र लेहेंगामा फरकफरक व्यक्तिको वीर्य फेला पारियो भने भँवरीका लोग्ने मोहनको वीर्य पाइएको थिएन । यसको बावजुद जिल्ला अदालतले मुद्दा खारेज गरिदियो । पक्राउ परेका सबैलाई रिहा गर्न आदेश भयो । महिला संगठनले दिएको दबाबले राज्य सरकार फैसलाविरुद्ध उच्च अदालत जान बाध्य बन्यो । देशभरिको दबाबको बावजुद मुद्दा सन् २००७ सम्म किनारा लाग्न पाएन । बल्ल उच्च अदालतले आरोपीमध्येका दुई जनाको निधन भइसकेको भनी फेरि पनि मुद्दालाई हल्का रूप दिन खोज्यो । यसैबीच भारतीय जनता पार्टीले ¥याली नै निकालेर अपराधीहरूको बचाउ ग¥यो । भँवरीलाई ‘फटाहा’ भनियो । उता, गाउँमा भँवरीको परिवारमाथि सामाजिक बहिष्कार जारी नै रह्यो ।

यहाँसम्म कि आमा मर्दा छोराहरू र आफन्तलाई अन्तिम संस्कारमा सरिक हुनै दिइएन । भँवरीका छोराले आफ्नी छोरीको बिहे मुस्किलले गर्न सके । तर, भँवरी काण्डलाई उच्च जातिका समुदाय मिलेर कमजोर बनाए पनि र अदालतले न्याय नदिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भने उच्च सम्मान पाइन् । यहाँसम्म कि चीनको बेइजिङमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय महिला भेलामा उनलाई सहभागी गराइयो । उनले देखाएको साहसको कदर गर्दै सन् १९९४ मा उनी ‘निर्जा भनोट पुरस्कार’द्वारा सम्मानित भइन् । राज्य सरकारले जग्गा दियो, घर बनाउन भारु. ४० लाख पनि ।

 

टिप्पणीहरू