रगतको अभाव कम गर्न विद्यार्थीहरुले गरे रक्तदान

रगतको अभाव कम गर्न विद्यार्थीहरुले गरे रक्तदान

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एस ईन्स्टिच्युट अफ म्यानेजमेण्ट कलेजका विद्यार्थीहरुले कलेजमै रक्तदान कार्यक्रमको आयोजना गरी उदाहरणीय कामा गरेका छन् । 

आधुनिक शिक्षासंगै विद्यार्थीहरु दिनप्रतिदिन व्यवसायिक बन्दै गएको गुनासो आइरहेको बेला बिबिएमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक र व्यवहारिक ज्ञान हासिल गरेका हुन् । 

राजधानीमा भएको रगत अभावलाई कम गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम राखिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भनाइ छ । पढाइको अलावा विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि बढावा दिनुपर्छ भनेर सामाजिक कार्य गरिएको उनीहरु बताउँछन् ।

रगतको अभावले छट्पटी रहेका बिरामीलाई जीवनदान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि रक्तदान कार्यक्रम गरेको विद्यार्थी सांदिम लामाले बताए । त्यस्तै, विद्यार्थी ज्योस्ना बस्नेतले शैक्षिक संस्थामा यस्ता सामाजिक कार्यक्रमको आयोजना गरिरहनुपर्नेमा जोड दिएकी छिन् । उनले रक्तदानका संगसंगै आँखा जाँच र दाँतको समेत उपचार गरिएको जानकारी दिइन् । 

रगत आवश्यक पर्ने बिरामीको लागि भनेर ‘एक परिवार, एक रक्तदान’ अभियान चलाएका अभियन्ता किरण योगीले स्वास्थ्य व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गरेमा रगत अभावको समस्या समाधान हुने बताए । कलेजमा पढ्ने विद्यार्थीलाई व्यवसायिक मात्र नबनाई सामाजिक र व्यवहारिक बनाउने मुख्य उद्धेश्यका साथ बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक मंगेस त्रिपाठी बताउँछन् । 

बेलाबेलामा गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा उत्साह बढाउने उनको भनाइ छ । एस सस्टेनिबीलिटी क्लब, समाज डेण्टल हस्पिटल, शान्ति नेपाल समाजलगायत विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा भएको कार्यक्रममा कलेजमा अध्ययनरत ५५४ विद्यार्थी सहभागी भएका थिए । शिविरमा २५५ जनाले आँखा जाँच, २४५ जनाले दाँतको जाँच र ५५ जना विद्यार्थीले रक्तदान गरेका थिए ।

टिप्पणीहरू