मोडल र पत्रकारले ठगेको भन्दै हारगुहार

मोडल र पत्रकारले ठगेको भन्दै हारगुहार

सर्वसाधारणलाई विदेशमा आकर्षक जागिर लगाइदिने प्रलोभन दिएर ठगेको भन्दै पत्रकार र मोडलको विवरण सार्वजनिक गर्न लागिएको छ । ३९ जना पीडितले भोलि दिउँसो १ बजे राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुको नाम सार्वजनिक गर्ने बताएका छन् ।

सिंगापुरस्थित आफ्नो रेस्टुरेन्टमा महिनाको चार लाख रुपैयाँसम्म कमाइ गराइदिने भन्दै एक जना पत्रकारले ठगेको उनीहरुको भनाइ छ । प्रतिव्यक्ति पाँच लाखदेखि १९ लाख रुपैयाँसम्म लिएर ५० जनाभन्दा बढीको १० करोड रुपैयाँ ठगेको विषयमा ३९ जना पीडित युवाहरूले भोलि पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

फिलिपिन्समा बन्धक रहेकादेखि सिंगापुरसम्म पुर्याइएकाको वास्तविकता त अझ झन दर्दनाक भएको बताइन्छ । एक जना पीडितले भने, ‘यो घटना पनि नक्कली भुटानी शरणार्थीजस्तै गम्भीर छ । यो ठगीमा एक जना कथित मोडल पनि संलग्न छिन् । उनीहरुले विभिन्न दलका नेता, मन्त्री अनि अग्रज पत्रकारहरूको समेत हवाला दिएका थिए ।’ 

पत्रकार सम्मेलन बर्गर क्लब हाउस, गैरीधारा (तामा रेस्टुरेन्टको अगाडि) मा भोलि दिउँसो १ बजे राखिएको छ । ठगीमा पत्रकार भनिएका सुजन आचार्य र नेपाली बेली डान्सर विनु शाक्यको संलग्नता रहेको बताइएको छ । विनु सिन्धुपाल्चाेककी हुन् भने सुजन उदयपुर, गाइघाटका हुन् ।

टिप्पणीहरू