विद्यार्थीहरुद्वारा गाउँपालिकाको कार्यालय तोडफोड

विद्यार्थीहरुद्वारा गाउँपालिकाको कार्यालय तोडफोड

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले आज कार्यालय तोडफोड गरेका हुन् । 

नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रधानाध्यापक नयुक्तिको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएको बताइन्छ । सोही क्रममा उनीहरुले ढुंगामुढासँगै आगजनीसमेत गरेको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै, कार्यालय सहयोगीमाथि हातपात गरेर कार्यालयभित्र थुनेर ताल्चा लगाएको र अपशब्द प्रयोग गरेको विद्यार्थीहरुमाथि आरोप  छ । गाउँपालिकाले विद्यार्थीहरुलाई उचाल्ने गिरोहको खोजतलास गरी कडा कारबाही गर्न माग गरेको छ । 

आज प्रकाशित विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीमाथि हातपात, गालीगलौज र ढुंगामुढा गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई सुरक्षा दिनुपर्ने माग अघि सारिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले इन्स्टिच्युट सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थीको मागबमोजिम सुशिलकुमार सिंहलाई निमित्त प्रधानाध्यापकमा नियुक्ति गरिएको, खुल्ला प्रतिस्पर्धामार्फत् तीन जना शिक्षक भर्ना गरेको, पुस्तकालयको व्यवस्थापन गरेको, होस्टेलको व्यवस्थापनमा सुधार गरेको दाबी गरेका छन् । 

यता, गाउँपालिका राष्ट्रिय महासंघको मधेश प्रदेश कार्यसमितिले सार्वजनिक सम्पत्तिको क्षति र राष्ट्रसेवक कर्मचारीमाथि भएको हातपातलगायत अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टिप्पणीहरू