नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नै अन्यायमा परेको जिकिर

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नै अन्यायमा परेको जिकिर

नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल स्वयं पीडित भएकाले उनीविरुद्ध लागेको कसूर प्रमाणित नहुने अधिवक्ताहरुले जिकिर गरेका छन् । 

नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै करोडौं असुलेको अभियोगमा संगठित ठगी,राज्यविरुद्धको अपराधसहित चारवटा कसूरमा मुद्दा चलाइएका दुलाल आफैँ ठगीमा परेको भन्दै उनको पक्षबाट बहस गरेका कानुन व्यवसायीहरुले यस्तो जिकिर गरेका हुन् ।  

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशमा आज अभियुक्त दुलालतर्फका ६ जना वकिलले बहस गरेका थिए । त्यसक्रममा अधिवक्ता योगेन्द्रबहादुर अधिकारी,विकास भट्टराई,विकास थापा, विश्वास आचार्य, नरबहादुर योगी र राजन भट्टराईले उनी कसूरदार नरहेको दलिल पेश गरेका छन् ।

उनीहरुले अभियुक्त भनिएका दुलाल आफैं ठगीमा परेर पीडित भएकाले उनीमाथि लगाइएका कुनैपनि अभियोग तथा कसूर प्रमाणित नहुने तर्क गरे । दुलालले गृह मन्त्रालयमा गएर लिखत परिवर्तन गरेको भन्ने आरोपमा सत्यताको आधार के हो भन्दै  अधिवक्ताहरुले इजलाशमा प्रश्नसमेत गरेका थिए । दफा तोकेर आरोप लगाउँदैमा पुष्टि हुन नसक्ने दाबी अधिवक्ता योगेन्द्र अधिकारीको थियो ।

अधिवक्ता विश्वास आचार्यले दुलालको प्रतिरक्षा गर्दै भने-श्रीमानले यो मुद्दामा ठूलो नजिर बन्नेगरी आदेश दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ । त्यसो भएमा श्रीमानको नाम स्वर्ण अक्षरले लेखिनेछ ।' कानुन व्यवसायीहरुले इजलाशमा दुलाल आफैं अमेरिका जान खोज्दा ठगिएका र अरुलाई ठगेको प्रमाण नभएको  जिकिर गर्दै साधारण तारेखमा छोड्न माग गरेका छन् । 

अहिले अर्का अभियुक्त सानु भण्डारीको तर्फबाट अधिवक्ता विनोद शर्माले बहस प्रारम्भ गरेका छन् । भण्डारीको प्रतिरक्षामा उत्रिएका अधिवक्ता शर्माले शरणार्थी प्रकरण पनि ३३ किलो सुनकाण्ड जस्तै हुने त होइन ? भन्ने प्रश्न गरेका छन् । उनले सुनकाण्डका मुख्य व्यक्ति छाडेर अरुलाई मात्र फसाइएको दृष्टान्त दिँदै यो केशमा त्यसो गर्न नहुने तर्क पेश गरेका थिए ।

३२ जनालाई प्रतिवादी बनाइएको यो मुद्दामा सरकारका तर्फबाट कानुन व्यवसायीहरुले बहस सकिसकेका छन् । आजदेखि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस थालेका छन् ।

टिप्पणीहरू