आमासित बिहे र प्रायश्चितमा फुटाइएका आँखा

आमासित बिहे र प्रायश्चितमा फुटाइएका आँखा

इण्डोनेसिया १७ हजार टापुहरूको समूह हो । जनसंख्या पनि धेरै छ – २८ करोड । ३८ प्रान्तमा विभाजित । गोरोन्तालो तिनैमध्येको हो, जुन सुलावेसी टापुमा अवस्थित छ । इण्डोनेसियामा अहिलेसम्म १ हजार ३ सय् ४० जनजाति पत्ता लगाइएको छ । तीमध्येको एक हो– पोलाही, जुन गोरोन्तालो प्रान्तमा बस्छन् । यिनीहरू घुमन्ते हुन् । एउटा जंगलबाट अर्को जंगलमा बस्ती बसाउँदै हिँड्ने हाम्रा राउटेजस्तै । छाप्रो बनाएर बस्छन्, जंगली भालु, हरिण र सर्पको शिकार गर्छन् । यीबाहेक झारपात, कन्दमूल र बाली खाने, महिला हुन् वा पुरुष कसैले पनि कम्मरमाथिको अंग नछोप्ने, सबैभन्दा अनौठो एउटै आमाबुबाको सन्तान छोराछोरी भए वयस्क बनेपछि दाजुभाइ र दिदीबहिनीकै बीचमा बिहे हुने । अर्थात् आफ्नै रक्त–सम्बन्धबीच सहज रूपमा शारीरिक सम्बन्ध राख्न सक्ने । यस्ता सम्बन्धले जन्मेका बच्चा मानसिक वा शारीरिक रुपमा विकलांगका हुन्छन् भन्ने चिकित्सकीय धारणालाई चुनौती दिने । 

अफ्रिकी मुलुक ताञ्जानियामा अर्को एउटा जनजाति छ– कुरिया । केन्याको सिमाना नजिकको गाउँ कितावासीका निवासी हुन् यिनीहरू । यहाँका महिला महिलासितै बिहे गर्छन् तर शारीरिक सम्बन्ध भने राख्दैनन् । बिहेपछि दुबै महिलाबीच भावनात्मक सम्बन्ध रहन्छ तर समलिंगी सम्बन्ध भने रहन्न । महिलाहरूले सहजरूपमा पुरुषसितसम्बन्ध राख्न सक्छन् । उनीहरूको गर्भ स्वीकार्छन् तर यो सम्बन्ध मात्र बच्चा पाउनका लागि हुन्छ । बच्चामाथि पुरुषको कुनै हक लाग्दैन । बच्चा पाइसकेपछि महिलाले अर्की महिलासित बिहे गर्छिन् र परिवार पाल्छिन् । बिहे यसकारण गर्छन् ताकि पितृसत्ता समाजमा स्थापित नहोस् । पारिवारिक सम्पत्ति महिलाकै होस् भन्ने अर्को उद्देश्य हो यो परम्पराको । जुन महिलाको छोराछोरी हुन्न वा सन्तान हुनुअगावै विधवा बन्छिन्, सम्पत्तिमाथि उनको अधिकार हुँदैन । त्यस्ता महिलाले फेरि अर्को महिलासित बिहे गरेपछि मात्र हक पुनः कायम हुन्छ । 

विश्वभरि दशौं हजार जातजाति, जनजाति छन् । सबैका आ–आफ्नै संस्कार छन् । जन्म, मृत्यु, विवाह आदिको आ–आफ्नै परम्परा छन् तर, केही–केही जनजाति र आदिवासी समुदायबाहेक अरुमा कौटम्बिक विवाह वर्जित नै छ । त्यसो त धार्मिक ग्रन्थ र इतिहासको पानामा राजा, महाराजा, रानी, महारानीले पनि कौटम्बिक विवाह गरेको उदाहरण प्रशस्त भेटिन्छ । तुतान्खामुन प्राचीन मिश्रका राजा हुन् । इशापूर्व १३४१ देखि १३२३ सम्म १८ वर्ष शासन गरेका । ९ वर्षको उमेरमा गद्दीमा बसेका उनको बिहे आफ्नै बहिनी (सौतेनी आमाकी छोरी) आंखेसेनामुनसित भयो । अल्पायुमै निधन भयो । उनको मृत्युपश्चात् रानी आंखेसेनामुनले काकाबाजे आयसित दोस्रो बिहे गरिन् । राजा रामेसेस (द्वितीय) ले त आफ्नै छोरी बिन्तानथसित बिहे गरेका थिए । मिश्रका इतिहासविद जाही हवास भन्छन्, ‘हाम्रो राजपरिवारमा राजाले दिदीबहिनी र छोरीहरूसित बिहे गर्ने चलन सामान्य थियो किनभने त्यो बेला त्यहाँका राजालाई आइरिस र ओसिरिसजस्ता देवतासमान मानिन्थ्यो ।’

ग्रिक मिथकअनुसार थेबेसका राजा ओडिपुसले आफ्नै आमासँग बिहे गरेका थिए । उनी जन्मेलगत्तै ज्योतिषले बाबुको हत्या गरी आमासँग बिहे गर्ने भनी भविष्यवाणी गरेपछि राजा लुइस र रानीको आदेशमा उनलाई पहाडबाट फाल्न लगाइएको थियो । तर, सैनिक जवानलाई बालकप्रति दया जाग्यो र मारेनन् । बरु बालकलाई छिमेकी राज्य कोरिन्थका राजा र रानीको जिम्मामा सुम्पेर फर्के । ओडिपुस जब जवान भए, उनले आफूलाई पाल्नेमार्फत बुबाआमाले आफूलाई मार्न आदेश दिएको र ज्योतिषले गरेको भविष्यवाणी थाहा पाए । उनी उक्त भविष्यवाणी असत्य प्रमाणित गर्न चाहन्थे र त्यसैको लागि थेबेसतर्फको यात्रा गरे । तर, त्यहाँ पुग्नेबित्तिकै झगडा पर्‍यो। उनको हातबाट बाबु लुइस मारिए । यसैबीच, उक्त राज्यमाथि दैत्यहरूले हमला गर्दा ओडिपुसले उनीहरूलाई पराजित गरे । थेबेसका प्रजाले पुरस्कारस्वरूप ओडिपुसलाई राजा बनाइदिए र विधवा रानी जोकोस्टाको पुनर्बिहे गराइदिए, जोकोस्टा जो उनैको आमा थिइन् । केही समयपश्चात् राज्यमा प्लेग रोग फैलियो । रोगको रोकथाम पूर्वराजाको हत्याराले सजायँ पाएमा मात्र हुन सक्ने भनिएपछि रानी जोकोस्टाले छोरासित बिहे गरेको पश्चातापमा झुण्डिएर आत्महत्या गरिन् भने ओडिपुसले पनि आफैँलाई अन्धो बनाए । 

कौटुम्बिक बिहे र सम्बन्धलाई सर्वत्र अपवित्र, अधर्म, अनाचार र ब्यभिचार मानिन्छ । तैपनि, यस्ता घटना भइ नै रहन्छ ! इतिहासमा अत्यन्त बिख्यात, रूपशी मानिएकी रानी क्लियोपेट्राका लोग्नेहरू टोलेमी (आठौं) र टोलेमी (नवौं) उनका आफ्नै भाइहरू थिए । त्यति मात्र होइन, उनका पिता टोलेमी (सातौं) र आमा क्लियोपेट्रा (पञ्चम) पनि दाजु र बहिनी थिए । रोम साम्राज्यमा यस्तो सम्बन्ध र बिहे सामान्य थियो । ‘रोम शहर जल्दा बाँसुरी बजाइरहेको’ उपनाम पाएका निरोको जेठी पत्नी क्लाउडिया ओक्टाभिया जेठीआमाकी छोरी थिइन् । निरोकी आमा जुलिया एगृपिना सुन्दर, बुद्धिमानका साथै निर्दयी थिइन् । काका सम्राट क्लाउडियससित बिहे गरेकी थिइन् । बिहे गरेको ५ वर्षपछि लोग्नेलाई बीषपान गराएर मारिन् र आफ्नो नाबालिग छोरो निरोलाई गद्दीमा बसाली राज्य सञ्चालन गरिन् । निरो बालिग भएपछि शक्तिको कुरोमा आमासित निहुँ खोज्न थाले । जुलिया कुनै हालतमा शक्ति गुमाउन चाहँदैन थिइन् । त्यसैले छोरोलाई फसाउन र यौन सम्बन्ध राख्न थालिन् । निरो जता जान्थे जुलिया सँगै हिँड्थिन् । इतिहासकारहरूका अनुसार हरेक यात्रामा दुबैले शारीरिक सम्बन्ध राख्दथे । निरो अगाडिका सम्राट् क्यालिगुलाको आफ्ना तीनजनै बहिनीसँग यौन सम्बन्ध थियो । बहिनी जुलिया ड्रुसिलास“ग शारीरिक सम्बन्ध राख्दै गर्दा बज्यै एन्टोनियाले रंगेहात समातेकी थिइन् । उनले अरु दुई बहिनी जुलिया लिभिल्ला र जुलिया एग्रिपिनासँग पनि यौन सम्बन्ध राखेका थिए । 

बेलायतलगायत युरोपका कतिपय मुलुकमा कौटुम्बिक सम्बन्धलाई घृणाको दृष्टिकोणले हेरिन्न । विशेषतः दाजुभाइको दिदीबहिनीसितको सम्बन्धलाई । अस्ति मात्र बितेकी रानी एलिजाबेथ (द्वीतिया) र उनका लोग्ने फिलिप दुबैजना महारानी भिक्टोरियाका सन्तती हुन् । भिक्टोरिया र उनका पति अल्बर्ट पनि दाजुबहिनी नै थिए । अल्बर्ट भिक्टोरियाको मामाका छोरा थिए । बिख्यात भैतिकशास्त्री अल्बर्ट आइन्स्टाइन र उनकी पत्नी इल्सा लोबेन्थोलका आमाहरू साख्खै दिदीबहिनी हुन् । लघुकथा लेखनका शिखर पुरुष एडगर एलन पोए र उनकी पत्नी भर्जिनिया इलिजा क्लेम नातामा दाजुबहिनी थिए । पोएले २७ वर्षको उमेरमा काकाकी १३ वर्षकी छोरीसित बिहे गरेका थिए । त्यो बेला अमेरिकामा नजिकको नाता पर्ने दाजुभाइ र दिदीबहिनीबीचको बिहेलाई सामान्य रूपमा लिइन्थ्यो । फ्रेडरिख नित्से आधुनिक युगका महत्वपूर्ण दार्शनिकहरूमध्येका हुन् । मनोविश्लेषणवाद, अस्तित्ववाद र परिघटनामूलक चिन्तनको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको छ । जर्मन कला तथा साहित्यमा उनको गहिरो प्रभाव छ । विश्वका धेरै कवि उनका अनुयायी छन् । उनले पनि आफ्नी बहिनी एलिजाबेथसित कौटुम्बिक यौनसम्बन्ध रहेको स्विकारेका छन् । उनले भाइ बितेको राति एलिजाबेथ आफ्नो बिछ्यौनामा सुस्तरी आइपुगेकी र त्यहाँदेखि आफूहरूबीच सम्बन्ध कायम हुन थालेको बताएका छन् । उनले मृत्युशैयामा छटपटाइरहेकी काकी रोजालीले नजिक बोलाएर दुई जनाको सम्बन्धबारे आफूलाई सबै कुरो थाहा भएको बताएको र त्यो कुरो सुनेर आफू निकै लज्जित बनेको समेत लेखेका छन् । 

राजामहाराजाबाहेक यसरी कौटुम्बिक बिहे र सम्बन्ध राख्नेमा कलाकारहरू अग्रपंक्तिमा छन् । आज पनि अर्जेन्टिना, ब्राजिल, आइभोरीकोष्ट, जापान, लात्भिया, दक्षिण कोरिया, थाइल्याण्ड, टर्कीलगायत करिब २२ वटा जति मुलुकमा यस्ता सम्बन्ध राख्नुलाई अपराध मानिन्न । उता, संयुक्त राज्य अमेरिकाका कैयौं राज्यमा यस्ते सम्बन्ध अवैध छ भने कतिपय राज्यमा वैध छ । अफगानिस्तान, ब्रुनाई, इरान, नाइजेरिया, साउदी अरब, सोमालिया, संयुक्त अरब इमिरेट्स र सुडानजस्ता मुलुकमा यस्तो नाता र समलिंगी सम्बन्ध राख्नेलाई भने मृत्युदण्ड नै दिने चलन छ । 
 

टिप्पणीहरू