काम गर्ने, गाली खाने खड्गहरू पनि यहीँ छन्

काम गर्ने, गाली खाने खड्गहरू पनि यहीँ छन्

एमाले बागमती प्रदेश कमिटी सदस्य खड्गबहादुर खत्री सिन्धुलीको कमलामाई नगरपालिकाका पूर्वमेयर हुन् । तत्कालीन दुई गाविस सिद्धेश्वर र भिमानको भूगोल र जनसंख्यालाई गाभेर २०५३ सालमा बनाइएको नगरपालिकाको मेयरका रुपमा पाँच वर्ष काम गरे ।

स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेका उनको पालामा बालबालिका, महिला, पूर्वाधार, सञ्चारलगायतलाई मध्यनजर गर्दै धेरै काम भएको छ । इष्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरेको सिन्धुलीगढी किल्लामा ऐतिहासिक झल्को दिने युद्ध संग्रहालयको निर्माण सम्पन्न पूर्वमेयर खत्रीकै पालामा भयो । त्यस्तै, लामो समयदेखि भत्किएर बसेको रानी दरबार ठड्याउने कार्य पनि अघि बढाए । 

खत्रीले बेरोजगार युवाहरूलाई विदेश जानका लागि बिनाधितो र बिनाब्याज पाँच लाख रूपैयाँ ऋण दिने परिपाटीको विकास गरेका थिए । श्रम गरेर बिहान–बेलुका छाक टार्नेहरूका निम्ति पनि स्वास्थ्य बिमाको व्यवस्था मिलाइएको थियो । 

नगरपालिकाले पाँच वर्षको अवधिमा एक हजार मजदुरको बिमा गरेको उनी बताउँछन्– ‘मजदुरकै कारण मुलुकमा परिवर्तन आयो तर उनीहरूले के पाए ? त्यसैले हामीले मजदुरलाई लक्ष्य गरेर सानो कोसिस गरेका थियौं । उनकै पालामा खर र परालको छानोलाई विस्थापित गरेर कमलामाईको हरेक घरमा जस्ताको छानो छ । एक सय वर्ष पुगेकालाई दैनिक एक लिटर दूध दिने घोषणा गर्ने मेयर पनि उनी नै हुन् । 

सिन्धुलीमा हल नभएर कार्यक्रम गर्न साह्रै सकस थियो । उनले त्यहाँ ‘सिटी हल’ निर्माण गर्ने योजना बनाए । सोहीअनुरूप अण्डरग्राउण्ड पार्किङवाला हल निर्माण अघि बढेको छ । सामुदायिक विद्यालयमा ‘आईटी ल्याब’ को व्यवस्था गरिएको छ । १०७ वटा विद्यालयलाई घटाएर ८४ वटा बनाइएको छ । प्राविधिक शिक्षाको महत्वलाई ध्यानमा राख्दै सिटिईभिटीअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । आज हरेक स्थानीयको घरमा बिजुली पुगेको छ । 

जनप्रतिनिधि भएर तीन वटा मुलुक भ्रमण गरेका उनले राज्यबाट एक रूपैयाँ पनि लिएनन् । ०७४ जेठ ५ मा मेयर पद सम्हालेदेखि खुत्रुके बचत शुरु गरेका थिए । नगरपालिका च्याउमा आत्मनिर्भर छ । स्यानिटरी प्याड खरिदमा चलखेल गरेको, सिन्धुली अस्पताल, कर्मचारी मिलन केन्द्रको भवनलगायत निर्माणमा पनि अनियमितता गरेको उनीमाथि आरोप थियो । नगरपरिषद्लाई गुमराहमा राखेर कतिपय विषयमा आफ्नै मनोमानी चलाएको, निजी स्वार्थ पूरा गर्नका निम्ति कर्मचारीहरूसँग मिलोमतो गरेको भनी चर्को आलोचना खेप्नुपरेको थियो । 

जनप्रतिनिधि हुँदा होस् या नहुँदा आरोप लाग्न भने छाडेको छैन । अहिले पनि विभिन्न आरोप खेप्दै आएका छन् । तर, आफूलाई ती आरोपले कुनै फरक नपारेको खत्री बताउँछन् । जनप्रतिनिधि हुनुअगावै खानेपानी समितिको अध्यक्ष रहेको बताउँदै उनले भने, ‘म जनप्रतिनिधि धेरैपछि भएको हुँ । मलाई अत्यधिक मत दिएर किन जिताइयो ? मैले गलत गरेको भए जनताले मलाई चुन्दैनथे ।’

आफूले अनियमितता गरेको भन्नेहरूलाई उनले नगरपालिकाको खर्च विवरण चेकजाँच गर्न सुझाव दिएका छन् । भन्छन्, ‘राम्रा काम गर्ने व्यक्तिको खेदो खन्नेको यहाँ अभाव छैन । समाजमा वस्तुगतवादी र मनोगतवादी छन् । मनोगतवादी व्यक्तिहरूसंग दृष्टिकोण हुँदैन् । अनि अरुलाई खुईंलाउनेतिर मात्र लाग्छन् । पदका भोगीहरूले आरोप लगाउँदैमा केही फरक पर्दैन । किनकि हिजो पुष्पलाललाई नराम्रो भन्नेहरू आज राम्रो भन्छन् । राम्रो भन्नेलाई आज गद्दार भन्नेहरू छन् । त्यसैले कसैको बाधा अड्चनले मलाई रोक्न सक्दैन । म सधँै जनताका लागि काम गर्नेछु ।’ साथै, उनले जनतालाई आफूमाथि विश्वास गर्न आग्रह गरेका छन् । समाजले तिरस्कार र बहिष्कार गरेका कार्यहरू आफूबाट कहिले पनि नहुने उनको ठोकुवा छ । 

 

टिप्पणीहरू