प्रष्ट बोले सबैको कल्याण

प्रष्ट बोले सबैको कल्याण

उही काम आफूले गर्दा ठीक, अरुले गर्दा बेठीक कसरी हुन्छ ? भइसकेपछि कि हुन्छ भन्नुपथ्र्यो कि हुँदैन भन्नुपथ्र्यो तर त्यसो पनि नभन्ने ! प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणका लागि दिल्ली जाने दिन राष्ट्रपतिबाट जारी भएको नागरिकता विधेयकमा एमालेले संसद अवरोध र सरकारलाई र्‍याख र्‍याख्ती पार्‍यो तर विधेयक ठीक छ भनेन । जबकि, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुँदा अध्यादेशमार्फत नागरिकताबारे जे व्यवस्था जारी हुँदै थियो, अहिलेको विधेयकमा त्यही कुरा छ ।

तर, आफूले ल्याएकै अध्यादेश विधेयकका रुपमा पारित हुँदा एमाले देउवाले ल्याएको तर संसदले २÷२ चोटी पास गरेर पठाएको सोही अध्यादेश तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको हुँदा अब पहिले फेरि संसदमा छलफल नगराई नहुने  दाबीसहित विरोधमा उत्रिएको छ । त्यसो त, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो राष्ट्रपतिबाट फिर्ता पठाइएको त्यही विधेयकलाई प्रमाणिकरण गरेर गैरकानुनी बाटो अपनाउनुभएको पनि कतिपय कानुनविद्ले तर्क गरेका छन् । वर्तमान राष्ट्रपतिले त्यही बेला उक्त विधेयक प्रमाणिकरण गर्नुका पछाडि ‘मौसम’ पनि कारक हुनसक्ने जानकारहरु बताउँछन् । ‘मौसम’, अर्थात् प्रधानमन्त्री भारत जाने बेला उताको शक्तिकेन्द्रलाई ‘हामीले यसो गर्‍यौं नि’ भन्ने देखाउनका लागि त्यसो गरिएको हुनुपर्ने उनीहरुको अनुमान छ । 

अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्बाट दुई–दुई पटक सिफारिस हुँदा पनि त्यसलाई प्रमाणिकरण नगर्नु संविधानले निर्धारण गरेका कर्तव्यमाथिको उपहास थियो । राष्ट्रपतिलाई कुनै पनि विधेयक एकचोटि सुझावस्वरुप फिर्ता गर्नसक्ने व्यवस्था छ । तर, दोस्रोचोटिको सिफारिसलाई स्वीकार नगर्ने छूट हुँदैन । कतिपय कानुन व्यवसायीले भन्ने गरेका छन्, ‘संविधानविपरितको यस्तो भूमिका तत्कालिन राष्ट्रपतिको हकमा मानहानीयोग्य विषय थियो ।’

अहिले एमालेले ‘हामी साथ दिन तयार छौं, तर छोटो प्रक्रियाबाट पास गर्नुपर्छ’ भनेको भए मुन्टो जोगाउने ठाउँ हुन्थ्यो । हाकाहाकी आफैंले गरेको कामको आफैंद्वारा विरोध हुँदा कता–कता, के–के नमिलेजस्तो भएको छ । एमालेले यसमा प्रष्ट र जिम्मेवार जवाफ दिनुपथ्र्यो । किनभने, अध्यादेशमा यही प्रावधान उसले राखेको थियो । यस्तोमा कि हुन्छ भन्नुपर्छ, कि हुँदैन भन्नुपर्छ । ‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने व्यवस्था गरियो, त्यो व्यवस्थाप्रति हामी सहमत छौं’ भनेको भए सजिलो हुने थियो । 

टिप्पणीहरू