धादिङमा नगद १२ लाख र १२ तोला सुन चोरी

धादिङमा नगद १२ लाख र १२ तोला सुन चोरी

धादिङको सिध्दलेक गाउँपालिकास्थित किसान कृषि सहकारी संस्था लिमिटेड सलाङका कर्मचारी भीमबहादुर बयलकोटीको घरमा चोरी भएको छ । 

ग्रामीण भेगका सहकारी सदस्यहरुबाट संकलित बचत र ऋण असुलीबाट जम्मा गरेर बैंकमा दाखिला गर्न बाँकी रकम आफ्नै घरबाट चोरी भएको बयलकोटीले बताएका छन् । बयलकोटीका अनुसार सहकारीको अन्तर समूहहरुबाट जम्मा गरेर घरमा टिनको बाकसमा साँचो लगाई राखेको नगद १२ लाख र १२ तोला सुनको गरगहना २५ गते राती चोरी भएको हो । 

सिध्दलेक गाउँपालिका वडा नम्बर ३ गैरीगाउँमा रहेको घरबाट चोरी भएको भए पनि शुक्रबार दिउँसो मात्रै थाहा पाएको बयलकोटीको भनाइ छ । ‘सहकारीको कार्यालय मेरो घरभन्दा करिव डेढ घण्टा पर छ,फिल्डबाट भएको बचत संकलन र ऋण असुलीको रकम बैंकमा दाखिला गर्न जान भ्याएको थिइन’, बयलकोटी भन्छन्–‘बाहिरफेर हिंड्दा साँचो हराउँछ भनेर पैसा र गहना राखेको बाक्साको साँचो घरैमा साबुनको बट्टामा लुकाएर राख्ने चलन थियो,चोरले त्यही साँचो भेटेर बाक्सा खोली पैसा र गरगहना सबै लगेछ ।’ 

चोरी भएको घर बयलकोटीको पुरानो घर हो । उनीहरु केही महिनादेखि नयाँ घरमा सुत्न थालेका थिए । घर सम्पन्न नभइसकेकोले सरसामान सबै पुरानै घरमा थियो । सदस्यहरुको सहजताको लागि फिल्डबाटै ऋण लगानी गर्ने र बचत फिर्ता गर्ने काम पनि हुने र ट्याब्लेटबाट बिलिङ गर्ने सिस्टम भएकोले चोरी भएको पैसा यकिन नभएपनि ऋण लगानी गरेको रकम र बचत फिर्ता गरेको रकमसँग ट्याब्लेटबाट अनलाईन बिलिङ रुजु गरेपछि हराएको रकम निस्कने सहकारीका प्रबन्धक गोपाल सिलवालले बताए । 

चोरी भएको थाहा पाएपछि बलकोटीले प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले चोरीको घटनाबारे अनुसन्धान थालेको छ । चोरी गर्नेको तीव्र खोजी भइरहेको छ । 

बलकोटी लामो समयदेखि सहकारीमा कार्यरत कर्मचारी हुन् ।

टिप्पणीहरू