प्रचण्डको गेरुवस्त्र, सीताको स्वास्थ्यलाभ र नेपालको राजनीति

प्रचण्डको गेरुवस्त्र, सीताको स्वास्थ्यलाभ र नेपालको राजनीति

– वैकुण्ठ ढकाल

अस्पताल हाताभित्र मन्दिर किन बनाइन्छ ?
डाक्टरले बिरामीलाई अब घर लैजानुस् इच्छा पूरा गरिदिनुस् किन भन्छन् ?
अस्पतालबाट अब बढीमा यत्ति बाँच्नुहुन्छ भन्ने बिरामीका अभिभावक किन मध्यरात घाटमा पूजा गर्न भनेर निस्कन्छन् ? 
मासुको स्वाद नै थाहा नभएका कोही मानिसको घिडघिडो मासुको एक टुक्रामा किन अड्किएको हुन्छ ?

यी प्रश्नको जवाफ विज्ञानले दिन सक्छ ? दिए पनि त्यो पूर्ण हुन्छ ? पूर्ण नै जवाफ आयो भने पनि यी अवस्था रहेका बिरामी र उनीहरूका अभिभावकले विश्वास गर्लान् ? 

हुन त ‘महान क्रान्तिकारी’ नेता पुष्पकमल दाहाल प्रचण्डले पनि गेरुवस्त्र लगाउँछन् भन्ने कुरामा धेरैले विश्वास गरेकै थिएनन् । जसले प्रचण्डलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि त यो अस्वाभाविक कुरा थिएन ।
 

जसले जसरी बुझे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतको मध्यप्रदेशस्थित महाँकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको घटनाको बचाउ गरेका छन् । शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ आफूले गेरुवस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने तर्क गरेका छन् । आफ्नो सुरक्षाकर्मीले सकेसम्म गेरुवस्त्र नलगाउन कर गरेको तर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनैपर्ने नियमका कारण आफूले पनि लगाएको प्रधानमन्त्री प्रचण्डको जिकिर छ । 

‘प्रोटोकोल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति । त्यसले देशलाई फाइदा हुन्थ्यो त ?’ प्रचण्डको प्रश्न थियो, ‘म लाउन्न भन्दा के हुन्थ्यो त, एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । नेपाली के हो, नेपाल सरकार के हो भन्थे । मैले सहज ढंगले लगाउँदा सबै खुशी ।’

भारत भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोरमा फोहोर व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा भएको कामबारे अवलोकन गर्न गएका थिए । त्यसै क्रममा सांस्कृतिक शहर उज्जैनस्थित महाकालेश्वर मन्दिर दर्शन गरे । त्यस क्रममा प्रधानमन्त्री र उनको टोलीमा सहभागी मन्त्रीहरूले गेरुबस्त्र लगाएर पूजा गरेका थिए । यो घटनापछि कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डले धार्मिक रुझान देखाएको भनेर विरोध पनि भइरहेको छ । 

प्रचण्डले भने आफू मनैदेखि धर्मनिरपेक्षवादी भएको बताएका छन् । ‘म मनैदेखि धर्मनिरपेक्षवादी हो । धर्मनिरपेक्ष भनेको धर्मविरोधी होइन नि, सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा नगरोस् भन्ने हो’ प्रचण्डले भने, ‘धर्म निरपेक्षवादी भएको नाताले हिन्दू, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मावलम्बीप्रति समान व्यवहार गर्नुपर्छ ।’ आफू कम्युनिष्ट मात्र नभई प्रधानमन्त्री पनि भएको भन्दै सबै धर्मावलम्बीप्रति समान व्यवहार गर्ने बताए । ‘तपाईंहरूले म मुस्लिम कम्युनिटीको कार्यक्रममा गएर मुस्लिमको टोपी लगाई मुस्लिम भएको देख्नुभएको छ कि छैन ?, क्रिश्चियनको कार्यक्रममा गएर मन्त्र जप्दाखेरिको फोटो छ कि छैन ? म लुम्बिनीमा बुद्धको कार्यक्रममा त्यत्तिकै सहभागी भएको हेर्नुभएको छ कि छैन ?’ प्रचण्डले प्रश्न गरे, ‘अनि हिन्दूमा जान नहुने, अरुकोमा जान हुने भन्ने हुन्छ र ?’

उज्जैनमा आफूले पूजा गरेपछि एकथरिले के विचित्र देख्नुपर्यो भनेर लाज मानेको र एकथरीले सधैं गेरुबस्त्र लगाएर बसोस् भन्ने चाहेको भन्दै प्रचण्डले थपे, ‘म कमण्डलु लिएर हिंड्ने होइन, गेरुवस्त्र सधैँ लाउने पनि होइन । यसलाई हामीले सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ?’ जनयुद्ध र त्यो आसपासको समयमा धर्ममाथि माओवादीले के–के गर्यो भन्नेभन्दा के चाहिँ बाँकी राख्यो भन्ने अवस्था थियो । 

माओवादीको नेतृत्व गरेका प्रचण्ड जनयुद्धका ‘सुप्रिमो’ थिए । विद्यालयमा पुगेर संस्कृत विषयको पुस्तक च्याते, जलाए । पढ्ने–पढाउने वातावरण बिथोले । प्रचण्डले नेतृत्व गरेको माओवादी कार्यकर्ताहरूले गाउँघरमा लगाइने सत्यनारायण पूजा भाँड्नेदेखि मन्दिरका पुजारीलाई दुव्र्यवहार पनि गरे । माओवादीले गोरखनाथका पुजारीलाई कालोमोसो दलिदिएको थियो । यतिमात्रै होइन, नेपालको राष्ट्रिय जनावर र हिन्दूधर्ममा पुजिने गाई काट्न पनि प्रोत्साहित गर्यो । 

माओवादीले हिन्दू धर्मावलम्बी ब्राह्मण–क्षेत्रको टुप्पी काट्ने, मन्दिरमा पिसाब फेर्ने काम पनि गर्यो । पण्डित नारायणप्रसाद पोखरेलको त हत्या नै गरिदियो । चाहे हत्या गर्नु पर्नाको कारण र प्रष्टीकरण पनि माओवादीले दिएको छ । जे जे प्रष्टीकरण दिए पनि मानव हत्याजस्तो जघन्य अपराधको कुनै पनि प्रष्टीकरणले परिपूरण गर्न सक्दैन । 

माओवादीको नेतृत्व गरेकाले यी सबैको गुण र दोष प्रचण्डको थाप्लोमा थुप्रनु स्वभाविक छ । यत्तिका धेरै धर्मप्रति नास्तिक प्रचण्ड पूजा पाठ र मठ मन्दिर धाउला भन्ने नलाग्नेलाई त यो कुराले ठूलो चक्मा दिएको छ । 

महाकालेश्वर मन्दिरमा ‘गेरुवस्त्र’ धारण गरेर पूजापाठ गरेको कुरा उनका सहयात्रीलाई पनि पटक्कै मन परेको छैन । प्रचण्डसँग जनयुद्धदेखि नै सारथि बनेका बाबुराम भट्टराईले त सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रचण्डको ‘गेरुवस्त्र’ धारणलाई ‘अस्वभाविक’ भनेका छन् । 

भारत भ्रमणलाई अहिलेसम्मकै ‘सुपरहिट’ भनेका प्रचण्डको ‘गेरुवस्त्र’ धारणलाई शंकाको घेरामा समेत राखिएको छ । प्रचण्डसँग दशकौं राजनीति गरेका भट्टराईले सामाजिक सञ्जालमा प्रचण्डले पूजाअर्चना गरेको तस्बिर राख्दै ‘देश कता जाँदै छ’ ? भने प्रश्न गरेका छन् । 

२०७२ सालमा नेपालमा संविधान जारी गर्दा नै नेपाललाई हिन्दू राष्ट्र बनाउन दबाब दिएको भारतले त्यसयता विभिन्न माध्यमको प्रयोगबाट नेपालमाथि हिन्दू राष्ट्रको दबाब कायमै राखेको छ । यतिबेला नै भारतमै पनि हिन्दू राष्ट्र बनाउने विषय जोडतोडका साथ उठिरहेको छ । स्वयम प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक अभियानमा छन् । सम्भवतः भारतको आगामी निर्वाचनमा यसबारे ‘ठोस कदम’ चाल्न सक्ने संकेत देखिएको विश्लेषण हुन थालेको छ । 

भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीचको ‘वान–टु–वान’ वार्तामा मोदीले प्रचण्डलाई हिन्दूराष्ट्रको मुद्दा उठाउन भनेको भन्दै केही भारतीय सञ्चार माध्यमले समाचार नै लेखेका छन् । त्यसैले भारत गएर ‘गेरुवस्त्र’ धारण गर्दै मन्दिरमा पूजा गर्नुलाई के भारतको हिन्दूराष्ट्रको एजेण्डामा प्रचण्डले हरियो झण्डा देखाइदिएको त होइन भन्ने प्रश्नसमेत उब्जिएको छ ।

प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नुको कारण पत्नी सीता दाहालको लागि हो पनि भनिएको छ । महाकाल बाबाको गर्भगृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्रीलाई विशेष पूजा गराएका थिए । महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्रीले नेपालबाटै लगेको एक सय आठ किलो रुद्राक्ष र ५१ हजार रूपैयाँ चढाएको बताइएको छ । 

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित थिए । हुन त राजनीतिमा जे देखिन्छ, त्यो भनिँदैन । जे भनिन्छ त्यो हुँदैन भन्ने पनि गरिन्छ । अनि राजनीतिमा जे भनिन्छ त्यो गरिँदैन पनि भन्ने चलन छ । जे जे भनिए पनि प्रचण्डले गेरुवस्त्र धारण गर्नुको कारण पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना मात्रै थियो भनेर भन्नचाहिँ सकिँदैन ।

टिप्पणीहरू