प्रचण्ड भेटेपछि उत्साहित हुँदै बाबुरामले भन्नुभयो - बाहिरका हल्लामा नबगौं

प्रचण्ड भेटेपछि उत्साहित हुँदै बाबुरामले भन्नुभयो - बाहिरका हल्लामा नबगौं

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा गठनका विषयमा बाहिर चलेका हल्लामा विश्वास नगर्न आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । 

यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो शक्तिलाई उपेक्षा गरेकाले समाजवादी मोर्चा गठनमा बाबुराम सन्तुष्ट नरहेको ब्यापक चर्चा थियो । उहाँले पनि गृहजिल्ला गोर्खा पुगेर आफ्नो शक्ति विस्तारका लागि संगठन निर्माणमा जुट्ने घोषणा गर्नुभएको थियो । तर, आज माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीसँग कुराकानी गरेपछि बाबुराम मोर्चामा सामेल हुन् सहमत हुनुभएको हो । 

'वृहत समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसंग आग्रह !', सामाजिक सञ्जालबाट उहाँले भन्नुभएको छ । 

प्रधानमन्त्रीसँगको भेटमा हालैको भारत भ्रमण, बजेट, टिआरसीलगायतका शान्तिप्रकृयाका बाॅकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भएको डा. भट्टराईले खुलाउनुभएको छ । प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै निरन्तर अग्रगमनको दिशामा अघि बढ्न बृहत समाजवादी मोर्चा आवश्यक पर्नेमा आफूहरुबीच समझदारी बनेको उहाँले बताउनुभएको छ ।    

'देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी!', उहाँको भनाई छ ।

टिप्पणीहरू