भित्रभित्रै यहाँ जे जे हुँदैछ

भित्रभित्रै यहाँ जे जे हुँदैछ
सुन्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेका उनीहरूलाई राजनीतिमा पुनरागमन गराउन एमाले र माओवादी केन्द्रमा बहस र प्रयास उत्तिकै छ । 

सुरक्षा र सहयोगीहरुको बासका निम्ति घरभाडाबाहेक सरकारी सुविधा नलिएका र राजनीतिक कार्यक्रममा उपस्थिति जनाइरहेका भण्डारी र पुन पार्टीमा फर्किन इच्छुक रहेको देखिन्छ । राष्ट्रपति चुनिनुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारीले केही महिनाअघि सदस्यता नवीकरण गराएको चर्चा थियो । त्यसअघि नै मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका कार्यक्रममा सहभागिता जनाउँदै आएकी उनी पछिल्लो समय अनेमसंघलगायत एमालेका भ्रातृ संगठनको कार्यक्रममा उपस्थित भइरहेकी छन् । 

आन्तरिक भेटघाटमा पनि भण्डारीले राजनीतिमा फर्कनसक्ने सन्देश दिने गरेको निकटहरूले बताउने गरेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको ‘स्वागत’ को पर्खाइले भण्डारी रोकिएको उनीहरूको भनाइ छ । यता, पूर्वउपराष्ट्रपतिलाई पार्टीमा भित्र्याउन माओवादी केन्द्रले भने गृहकार्य शुरु गरिसकेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रुचिअनुसार पुनलाई उपाध्यक्ष बनाउन निश्कर्षमा पुगेको माओवादीले त्यसनिम्ति विधान संशोधन गर्न कार्यदल बनाएको छ । पुस २१ गतेदेखि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन पारित गर्ने र पुनलाई पार्टीमा फर्किन बाटो खुला गर्ने माओवादी केन्द्रका एक नेताले पहिले नै बताएका थिए । 

डेढ वर्षअघि उपराष्ट्रपतिबाट बाहिरिएपछि निष्क्रियजस्तै रहेका पुनः माओवादीको पछिल्ला केही पदाधिकारी बैठकमा नियमित उपस्थित हुँदै हालैको केन्द्रीय समिति बैठकमा अध्यक्षको छेउमा बसेका छन् । अध्यक्ष प्रचण्डसँग हाकाहाकी उपाध्यक्ष मागेको चर्चा थियो । सोहीअनुसार जिम्मेवारी दिनेगरी आन्तरिक तयारी भैरहे पनि पार्टीभित्रको सन्तुलन मिलाउन केही ढिलाई भएको माओवादी नेताको भनाइ छ । त्यसो त, पुनलाई पार्टीमा फर्काउन नहुने मत पनि माओवादीभित्र छ भनिन्छ । तर, अध्यक्ष प्रचण्डकै निर्णय अन्तिम हुने स्थिति विद्यमान रहेकाले त्यस्तो दृष्टिकोणले निर्णायक अर्थ राख्ने देखिँदैन । 

‘उपराष्ट्रपति भैसकेको मान्छेलाई पार्टीमा ल्याउनु सामान्य होइन’, यसबारे फरक दृष्टिकोण राख्ने नेता भन्छन्, ‘यसले हाम्रो पार्टीको आन्तरिक मात्र नभई नेपालकै राजनीतिमा प्रभाव पार्ने भएकाले थप छलफल गरौँ भनेर अहिले रोकिएको छ । केन्द्रीय समिति बैठकसम्म पुग्दा के हुन्छ हेरौँ ।’पूर्वउपराष्ट्रपतिलाई पार्टीमा फर्काएर प्रचण्डले ओलीमाथि दबाब बढाउन खोजेको ठान्नेहरू पनि छन् । किनभने पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्काउन अध्यक्ष ओली तयार भैनसकेको बुझिन्छ । 

एमाले स्रोतकाअनुसार जीवनमा एकपटक सर्वसम्मत अध्यक्ष हुने ओलीको ठूलो रहर छ । १० औँ महाधिवेशनमा त्यस्तो प्रयत्न गरे पनि भीम रावलका कारण सफल भएन । विधानमा ७० वर्षे उमेरहद निलम्बन गरेका ओली आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने करिब निश्चितजस्तै छ । त्यसनिम्ति वातावरण तयार पार्न उद्यत उनी भण्डारीको पार्टीमा सम्भावित आगमनले त्रसित रहेको एमाले स्रोतको दावी छ । ‘भीम रावललाई त पार्टीबाट निकालिसके,’ स्रोत भन्छ, ‘अहिले उहाँ (ओली) को चिन्ता चैं विद्या भण्डारी पार्टीमा आउनुभयो भने अप्ठेरोमा परिन्छ भन्ने देखिन्छ ।’ 

यो स्थितिमा माओवादीले पुनलाई पेरिसडाँडामा स्वागत गरेर ओलीमाथि दबाब बढाएको कतिपयको विश्लेषण छ । केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न पार्टीपंक्तिलाई घुमाउरो चेतावनी दिएबाट पनि त्यस्तो बुझिन्छ । भण्डारीलाई राजनीतिमा सक्रिय गराएर उनकै नेतृत्वमा एमाले, माओवादी र एकीकृत समाजवादीलाई एकतावद्ध गराउने र वाम आन्दोलनलाई ०७४ मा फर्काउने भन्दै एकथरी नेता लागिरहेका छन् । बताइएअनुसार उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, कर्ण थापा, गोकुल बाँस्कोटाहरू त्यसरी लागेको भनिएकोमा ओलीले सिधा–सिधा अस्वीकार गरेपछि बीचैमा रोकिएको हो । भण्डारी निकटहरूले अहिले पनि त्यस्तो प्रयास नरोकिएको दावी गरेका छन् । 

अर्कोतिर, भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन भूराजनीतिक तत्वले उत्प्रेरित गरिरहेको विश्लेषण भैरहेको छ । नेपालमा वामपन्थी एकताका लागि सदाशयता दर्शाउँदै आएको छिमेकी चीनले प्रत्यक्ष–परोक्ष त्यस्तो भूमिका खेलिरहेको एमाले र माओवादीका कतिपय नेता स्वीकार गर्छन् । ‘ओली र प्रचण्ड दुबै एकले अर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले पूर्वराष्ट्रपति भण्डारीलाई मियो बनाएर दुई पार्टीलाई मिलाउन सकिन्छ कि भन्ने चिनियाँको प्रयास छ’, हालै चीन भ्रमण गरेर फर्किएका माओवादी केन्द्रका एक उच्च तहका नेताले भने । नेपालमा वामपन्थी विभाजित भएकै कारण राजनीतिक शक्ति सन्तुलन फेरिएको र बिआरआई अनावश्यक रुपमा गिजोलिएको चिनियाँहरूको बुझाइ छ ।

(जनआस्थाको गतांकमा प्रकाशित)

टिप्पणीहरू