जिबीलाई उचाल्ने ससुरा कता बेपत्ता ?
बचतकर्ताको अर्बौं कुम्ल्याएर विदेश भागेका रवि लामिछानेका पूर्वसाझेदार जिबी राई सहकारी ठगी काण्डका मुख्य योजनाकार हुन् भन्ने धेरैलाई थाहा छ । तर, सहकारी ठगीको साम्राज्यमा उनको प्रवेशबारे कमैलाई मात्र जानकारी होला । नेटवर्किङ व्यवसायमा रमाइरहेका जिबीलाई देशभर सहकारीको सञ्जाल खडा गरी रातारात अर्बपति बन्न महात्वाकांक्षी आइडिया दिने व्यक्ति हुन्, ज्ञानबहादुर बम्जन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतका अनुसार सहकारी लुटेर अमेरिका पुगेका ज्ञानबहादुर ठगीका ‘मास्टरमाइन्ड’ हुन् । उतैबाट जिबीसँग मिलेर ठगीधन्दा चलाएका उनकै योजनाअनुसार जिबीले देशका मुख शहरमा ‘स’ बाट उच्चारण शुरु हुने नामका आधा दर्जन सहकारी संस्था खोलेको अनुसन्धानका क्रममा पत्ता लागेको हो । उनैको उक्साहटमा गोरखा मिडिया नेटवर्क प्रालि, नेचर हर्बस् प्रालि, नेचर नेष्ट प्रालि, हर्बो इन्टरनेशनललगायत ३५ वटा कम्पनी खोलेर सहकारीको रकम ओसारिएको तथ्य प्रहरीसँग छ ।
सहकारी ठग्ने योजनाअनुसार रकम ओसार्ने एक मात्र प्रयोजनका लागि खडा गरिएका गोर्खा मिडियालगायत सबै कम्पनी अहिले टाट पल्टिएका छन् । ‘सहकारीबाट करोडौँ पैसा गएको देखिन्छ, तर अहिले पैसा छैन । कम्पनी मात्र खुल्यो काम भएन । सबै घाटामा छन्’, यो मुद्दाको अनुसन्धानमा खटिएका सिआइबीका एक अधिकारीले भने ।
सहकारी ठगीको साम्राज्य चलाएका ज्ञानबहादुर र जिबी ज्वाईं–ससुरा हुन् । सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा जिबी, रवि लामिछाने, छविलाल जोशी, लीला पछाई, कुमार रम्तेलसँगै ज्ञानबहादुरलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला अदालत कास्कीमा दायर मुद्दामा गोर्खा मिडिया नेटवर्क प्रालिसहित ज्ञानबहादुरको योजनामा जिबीले खोलेका आठ वटा कम्पनी पनि विपक्षी छन् । रुपन्देही, चितवन, काठमाडौँ र पर्सामा मुद्दा चल्दा बाँकी २७ कम्पनी पनि प्रतिवादी कायम हुने प्रहरीले बताएको छ ।
यता, जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहँदा रवि लामिछाने र छविलाल जोशीले मात्र हैन प्रेमिका लीला पछाईले समेत अभियोग अस्वीकार गर्दै सबै दोष जिबीको थाप्लोमा हालिदिएका छन् । थुनछेक बहसअघि बयानका क्रममा उनीहरूले सहकारीको रकम अपचलन हुनुमा सम्पूर्ण जिम्मेवार जिबी नै हुने जिकिर गरेका हुन् । ‘सहकारीको रकम कम्पनीमा ओसार्न नपाइने कानुनी व्यवस्था थाहा नभएको’ केटौले तर्क गर्दै आएका रविले सहकारी नठगेको पुरानै अडान दोहोर्याएका छन् ।
आफू र पत्नी निकिताको अस्वाभाविक बैंकिङ कारोबारबारे पनि उनले इजलासमा भने, ‘पैसा घुमिफिरी आएकाले त्यतिधेरै देखिएको हो, श्रीमान् ।’ सन् २०१६ यता रवि र निकिताको पाँच वटा बैंकका फरक–फरक खातामा २१ करोड ट्रान्जेक्सन देखिएको छ । लामिछाने दम्पतिको खातामा अहिले रकम नरहेकाले क्रिप्टो र हुण्डीमार्फत विदेश पुर्याएको हुनसक्ने आशंका भैरहँदा उनले अदालतमा त्यस्तो जिकिर गरेका हुन् । गोर्खा मिडियाको प्रवन्ध निर्देशकको हैसियतमा ६५ करोड एकलौटी परिचालन गरेका रविले यहाँ पनि रकम प्राप्तिको स्रोत आफूलाई थाहा नहुने तर्क गर्दै आएका छन् ।
अभियोग अस्वीकार गरेकै आधारमा २४ करोडको स्रोत खुलाउन नसके रविले उन्मुक्ति पाउने अवस्था भने रहँदैन । ‘पुर्पक्ष हुनेबेला प्रतिवादीले प्रमाण पुर्याउन नसके अहिले गरिएका दावीको अर्थ रहँदैन’, प्रहरी स्रोतले भन्यो । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २८ मा सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेमा स्रोत प्रमाणित गर्न नसकेको जति त्यस्तो सम्पत्ति जफत हुने उल्लेख छ । दफा ३० मा ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ’ भनिएको छ ।
पहिला गोविन्दराज जोशी, जेपी गुप्ताहरूले स्रोत देखाउन नसक्दा जेल गएको नजिर छ । ८४ लाख स्रोत देखाउन नसक्दा जेल परेका जेपीको राजनीतिक जीवन नै समाप्त भयो । जबकि उनीहरू जेल पर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन आइसकेको थिएन । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअन्तर्गत मुद्दा चलाइएको थियो ।
टिप्पणीहरू