सबै श्रेणीहरू

नागरिकताविहीनमाथि भएको दमनको संसदमा चर्को निन्दा

नागरिकताविहीनमाथि भएको दमनको संसदमा चर्को निन्दा

नागरिकताविहीन संघर्ष समितिको धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले गरेको दमन निन्दनीय रहेको बताए । उनले यस्ता कार्य तत्काल रोक्न मागसमेत गरेका छन् ।

‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ,’ सांसद सिंहले भने, ‘एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार चुकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने, त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुन व्यवहार भएको छ, त्यसको भर्त्सना गर्न चाहन्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु ।’ 

राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा गइसकेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश दिएपछि तराई–मधेस केन्द्रित आन्दोलन गरिरहेका नागरिकताविहीनहरु केही समययता काठमाडौंमा आन्दोलित छन् । सोही क्रममा माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरुमाथि हिजो प्रहरीले अनावश्यक बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको थियो ।