सबै श्रेणीहरू

एबीसीमाथि पत्रकारलाई तलब नदिएको आरोप, मिडिया देखाएर अर्कै धन्दा नगर्न चेतावनी

एबीसीमाथि पत्रकारलाई तलब नदिएको आरोप, मिडिया देखाएर अर्कै धन्दा नगर्न चेतावनी

एबिसी टेलिभिजनले सञ्चारकर्मीलाई तलब नदिएको गुनासो बाहिर आएको छ । एबीसी मिडिया ग्रुप प्रालिद्वारा संचालित सो सञ्चार संस्थामा कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै श्रमजीवी पत्रकार संघले आपत्ति जनाएको हो । 

संघले आज विज्ञप्ति जारी गर्दै एबिसी टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुले तलब नपाएको गुनासो पटक-पटक आएकाले तत्काल भुक्तानी गर्न मागसमेत गरेको छ । अध्यक्ष जन्मदेव जैसीका अनुसार एबीसी टेलिभिजनका व्यवस्थापकले लामो समयसम्म पारिश्रमिक रोकिदिने, श्रमजीविको सामाजिक, पेशागत, अर्थ, सुरक्षामा चासो नदिनेजस्ता गैरजिम्मेवारपूर्ण व्यवहार गरेको गुनासो आइरहेको बताए । 

यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनले तत्काल श्रमजीवि पत्रकार ऐनले तोकेका सबै सेवा सुविधासहित पत्रकारहरुको बाँकी पारिश्रमिक अनिवार्य भुक्तानी गर्न माग गरेका छन् । अन्यथा, मिडिया देखाएर अर्कै धन्दा गर्ने, मिडिया प्लेटफर्मको दुरुपयोग गर्ने, दिनरात नभनी काम गर्दै आएका श्रमजीवीलाई दुःख दिने व्यवस्थापनकविरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनको चेतावनी छ । 

साथै, यसबाट सिर्जित जस्तोसुकै परिस्थितिको जिम्मेवार सरकार, व्यवस्थापन पक्ष र सम्बन्धित सरोकारवाला नै हुने पनि संघले प्रष्ट पारेको छ ।