नेपालको त्यो अडान, जसले चीनलाई सगरमाथा चढ्न लगायो

नेपालको त्यो अडान, जसले चीनलाई सगरमाथा चढ्न लगायो

चीनको हेनान प्रान्तअन्तर्गत सिह्वा निवासी वाङ फुचाउ एक प्रसिद्ध पर्वतारोही र आरोहण दलका पूर्व पार्टी सचिव पनि हुन् । ७४ वर्ष पुगिसकेका उनी यतिखेर राजधानी बेइजिङमा बस्छन् । तत्कालीन सोभियत संघमा पर्वतारोहणको ठूलो विकास भइसकेको थियो । तर त्यहाँ ८ हजार मीटरभन्दा अग्ला चुचुरा थिएनन् । त्यसैले चीन र सोभियत संघले आपसी सम्बन्धलाई मजबुत पार्न र छिमेकी मुलुकसित दोस्ती बढाउन संयुक्त रूपमा चोमोलोङमा (सगरमाथा) को संयुक्त आरोहण गर्ने भए । चीन र नेपालको सीमामा अवस्थित चोमोलोङमालाई लिएर त्यसबेला नेपाल र चीनबीच विवाद थियो । वार्ताका क्रममा चिनियाँ पक्षले चोमोलोङमा हिमालको चुचुरोमा सीमा रेखा कोर्ने प्रस्ताव राख्यो तर नेपाली पक्षले सगरमाथा पूरै आफ्नो भूमिभित्र रहेकाले यसमा चीनको कुनै साइनो नभएको दाबी गर्‍याे । 

वाङ फुचाउका अनुसार चोमोलोङमाको अर्थ तिब्बती भाषामा ‘विश्वकी देवीआमा’ हो । नेपालीहरू भने, ‘सगरमाथा’ भन्ने गर्छन् । वार्तामा चिनियाँ पक्षले उक्त हिमाललाई ‘फ्रेण्डसिप पिक’ को नाम दिन सुझाव दिँदा नेपाली पक्षले त्यो पनि मानेन । नेपालको तर्क रह्यो, ‘तिमी चिनियाँहरू त्यहाँ कहिल्यै गएका छौ र यसलाई आफ्नो हो भन्छौ ?’

सन् १९५३ को मे २९ मा ३९ वर्षीय नेपाली गाइड तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका पर्वतारोही एडमण्ड हिलारीले दक्षिणी ढलानबाट सगरमाथा (चोमोलोङमा) को सफल आरोहण गरेका थिए । तेञ्जिङ नोर्गेको उक्त सफल प्रयास नै वार्तामा नेपाली पक्षका लागि महत्वपूर्ण वजन बन्यो । त्यसबेला भारत नेपाललाई आफ्नो जागिरदारी ठान्दथ्यो । उसको दावी थियो, चिनियाँहरूले कहिल्यै सगरमाथा आरोहण गरेकै छैनन्, त्यसैले पनि सगरमाथा चीनको भूभागभित्र छैन । भारतको यो तर्कले चीनलाई अप्ठेरोमा पार्‍याे । यस्तो परिस्थितिमा सगरमाथा जसरी पनि चढी छाड्नुपर्‍याे। यसैबमोजिम चीन र सोभियत संघबीच सम्झौता भयो र सन् १९५८ मा संयुक्त टोली बनाएर आवश्यक तालिम दिन थालियो । वाङले त्यसबेला बेइजिङ विश्वविद्यालयबाट भखरै स्नातक उत्तीर्ण गरेका थिए, उनी पनि छनोटमा परे । 

वाङले पहिला चीनकै सियानसानमा प्रारम्भिक तालिम लिए । पछि उनीसहित अन्य आरोही थप तालिम लिन सोभियत संघ गए । तयारी एकपछि अर्को हुँदै गयो तर यसैबीच आन्तरिक र बाह्य स्थितिमा परिवर्तन आयो र यसको असर तालिममा पनि देखा प¥यो । किनभने सन् १९५० को दशकको शुरुवातदेखि नै चीन र सोभियत संघबीच खटपट शुरु भइसकेको थियो । सन् १९६० को जुलाईमा अकस्मात् सोभियत संघले चीनमा कार्यरत आफ्ना विशेषज्ञहरूलाई रातारात स्वदेश फर्कन आदेश जारी गर्‍याे। उक्त निर्णयले चीनलाई निकै अप्ठेरोमा पार्‍याे । सम्झौतामा हिमाल आरोहणका निम्ति आवश्यक सम्पूर्ण औजारलगायत खाद्यान्न सोभियत संघले उपलब्ध गराउने भन्ने थियो । तर, उसले हात झिकेको स्थितिमा ती औजार र सामग्री पश्चिम युरोपको बजारमा मात्र पाइन्थ्यो । जबकि पश्चिम युरोप र अमेरिकाले चीनमाथि नाकाबन्दी लगाइराखेको अवस्था थियो, जसकारण सामान खरिद गर्न विदेशी मुद्राका लागि हङकङको बजार प्रयोग गर्नुपथ्र्याे । त्यसपछि बल्ल स्विट्जरल्याण्ड, इटली, फ्रान्स र अन्य मुलुकबाट सामान किन्न सकिन्थ्यो ।

मार्च १९६० मा, ९० भन्दा बढी पर्वतारोहीसहित २०० बढीको टोली चोमोलोङमाको आधार शिविरमा भेला भयो । सोभियत संघले दिएको प्रशिक्षण विधिअनुसार टोलीले एकपछि अर्को स्टेप चालेर ४ चरणमा शिखर आरोहण गर्ने योजना थियो । पहिलो यात्रामा पर्वतारोहण टोली ६,४०० मीटरको उचाइसम्म अघि बढ्यो र बाटोमा तीन वटा अल्पाइन शिविर स्थापना गर्‍याे । सोहीअनुरूप सामग्री र उपकरण पनि ढुवानी गरियो । निर्धारित कार्यहरू पूरा भएपछि टोलीका सदस्यहरू आराम गर्न आधार शिविरमा फर्के । दोस्रो यात्रामा, पर्वतारोहण टोलीले उत्तरी कोलको फेदबाट माथिसम्मको ‘आरोहण मार्ग’ खोल्यो र ७००७ मीटरमा शिविर स्थापना गर्‍याे । दुर्भाग्यबश, लाञ्चाउ विश्वविद्यालयका एक युवा शिक्षक वाङजीले यो अपरेशनमा अल्टिच्युड सिकनेसका कारण ज्यान गुमाउन पुगे । योजनाअनुसार, तेस्रो यात्रामा बाटो खोज्ने र शिविर स्थापना गरी अनुकूल परिस्थिति हेरेर शिखर पुग्ने थियो । तर, अचानक मौसममा बदलाव आयो । यसको बाबजुद टोलीका ३ जना सदस्यले ८,५०० मीटरमा शिविर स्थापना गर्न सफल भए, यो अपरेशनमा टोलीले ठूलो क्षति ब्यहोर्नुपर्‍याे । पेकिङ युनिभर्सिटीका शिक्षक गुओ चिछिङको अल्टिच्युड सिकनेसका कारण मृत्यु भयो । कप्तान सि चानचुनसहित ५० भन्दा बढी व्यक्तिमा छालामा फोका उठ्ने, टिस्यू र हड्डीमा समस्या देखापरे र टोलीका धेरै सदस्यले आरोहण त्याग्नुपर्‍याे ।

दुई महिनाभन्दा बढी समयदेखि बरफ र हिउँमा पीडा भोग्दै आएको यो टोलीका तत्कालीन कमाण्डर हान फुदोङले अर्को वर्ष फेरि आरोहण गर्ने सोच बनाए । अघिल्लो अपरेसनमा यातायातको जिम्मा पाएका वाङ फुचाउ चौथो मार्चिङको अग्र टोलीमा परे । टोली नेता उपकप्तान सु जिङ रहे भने लिउ लियानम्यान र कोङपु पनि त्यसैमा थिए । 

चौथो मार्च मे १७ मा शुरु भयो । ६ दिनपछि, चार जना कमाण्डो सु जिङ, वाङ फुचाउ, लिउ लियानम्यान र कोङ्पु ८,५०० मीटर अग्लो शिविरमा पुगे, र खु यिन्ह्वा पनि टोलीलाई पछ्याउँदै त्यहाँ पुगे । र, मे २४ को बिहान करिब ९ बजे चार जना कमाण्डो टेन्टबाट निस्केर शिखरतर्फ लागे । अलि माथि पुग्दा नपुग्दै सु जिङ अचानक दुई पटक तल खसे । उनीहरूको सामु त्यहाँ अल्मलिने कुनै समय थिएन, त्यसैले यातायात टोलीका सदस्य खु यिनह्वालाई शिखरमा पुग्न जु जिङको स्थान लिन भनिएको थियो, जबकि वाङ फुचाउ, पूर्व–निर्धारित नेताको रूपमा नियुक्त भए । मध्याह्न १२ः०० बजे, चार जना ‘दोस्रो चरण’ मा पुगे जुन लगभग ८० डिग्री कोणको स्लोप थियो । तिनीहरूले देखे कि तल्लो चट्टानमा दरार छ, जसबाट एक जना व्यक्ति मात्र पार गर्न मिल्छ । दरारको बीचबाट माथि चढेपछि, त्यहाँ लगभग ६ मीटर अग्लो चट्टानको खण्ड थियो, लगभग सीधा माथि र तल, त्यहाँबाट ओर्लने कुनै ठाउँ थिएन । लिउ लियानम्यान, जो आगोसित खेल्दै हुर्केका थिए, उनमा सबैभन्दा बलियो आरोहण क्षमता पनि थियो । धेरै पटक चढ्ने प्रयास गरे तर सफल भएनन् । अन्तमा लिउ लियानम्यानले मानव भर्‍याङ निर्माण गर्ने तरिका अपनाए । लिउ लियानम्यानले खु यिनह्वालाई बोके । उनैको सहयोगमा लिउलेले चट्टानमा पिक प्रहार गरी बरफमा प्वाल पार्न सफल भए र डोरी अड्काएर माथि चढ्न थाले । अन्य ३ जनाले उनलाई पछ्याए ।

दोस्रो चरणको चढाइ तिनीहरूले अनुमान गरेको कठिनाइभन्दा धेरै गाह्रो थियो । उनीहरूले शुरुमा शिखर चढ्न ९ घण्टा खर्च गर्ने योजना बनाए, तर पहिलो ढलान पार गर्न नै ५ घण्टाभन्दा बढी लाग्यो । यसबीच लिउ लियानम्यान थकित भए र अगाडि बढ्न असमर्थ देखिए । यसको बाबजुद ८,७०० मीटरको उचाइमा वाङ फुचाउ, खु यिनह्वा र कोङ्गपुले लिउ लियानम्यानलाई हावाबाट सुरक्षित हुनेगरी ठूलो चट्टानको छेउमा राखे र आफूहरू शिखरतर्फ अघि बढे । तर दिन गैसकेको थियो तैपनि तीनै जनाले अँध्यारोमै अघि बढ्ने निर्णय गरे । मौसम पूर्वानुमानकाअनुसार राम्रो मौसमको यो खण्ड भोलिपल्ट सकिँदै थियो । हिउँको आँधी आउनुअघि उनीहरूले शिखरमा चढेर ओर्लनुपर्ने थियो । क्याम्पिङ उपकरण पनि ल्याएका थिएनन् । ताराहरू र हिउँको टल्कने प्रकाशको बलमा उकालो चढिरहेका थिए तर चढाइ यति कठिन थियो कि कुनै मार्ग फेला पार्न असम्भव । उनीहरूले हातको स्पर्शले मात्र आफ्नो बाटो पहिल्याइरहेका थिए । निकै समयसम्म केही खान नपाएकोले सबैको शारीरिक शक्ति धेरै घट्न पुगेको थियो । कतिपय ठाउँमा एक इञ्च उक्लन पनि गाह्रो थियो । जसोतसो उनीहरूले सगरमाथाको सफल आरोहण गरी छाडे । ८,७०० मीटरदेखि सगरमाथासम्म १०० मीटरको आरोहण गर्न १० घण्टाभन्दा बढी समय लाग्यो । शिखरमा पाइला टेक्दा मे २५ को बिहान ४ः२० बजेको थियो । चारैतिर आँखा डुलाएर हेरे । आकाश र चम्किलो ताराबाहेक केही थिएन तर उनीहरू दंग थिए, मिशन पूरा गर्न सकेकोमा ।

 

टिप्पणीहरू