चीनको लोभलाग्दो विकास, हाम्रो नेतृत्वको खोई साहस ?

चीनको लोभलाग्दो विकास, हाम्रो नेतृत्वको खोई साहस ?

जुन २३ तारिखका दिन । पूर्व निर्धारित कार्यतालिकाअनुसार बिहान ९ बजे जनगणतन्त्र चीनको दक्षिणपूर्वी व्यापारिक शहर हाङचौैका लागि रेलवे स्टेसन पुगिसक्नुपर्ने थियो । यात्रामा रमाउने र आत्मामा उतार्ने बानीका कारण म निकै उत्साहित थिएँ । एउटा सानो सुटकेसमा अत्यावश्यक सामान राखेर व्यवस्थापकको इशारासँगै निस्किएँ ।

बास बसेको होटलबाट करिब ५० किलोमिटरको दूरीमा रेल–वे स्टेशन थियो । यात्राका लागि टिकट लिइसकेको थिएँ । बेइजिङ्गको पूर्वी भागमा रहेको बेईजिङ्गनान रेल–वे स्टेसनको १५ नम्बर गेटबाट टिकटमा रहेको क्यूआरकोड गेटको स्क्यानरमा स्क्यान गर्दै भित्र प्रवेश गरियो ।

विकासशील राष्ट्रको नागरिक र त्यहाँको अत्याधुनिक प्रविधियुक्त स्टेसनको भेटमा निकै हर्षित थिएँ । मनमा अनेकौं विचार आइरहेको थियो । स्टेसनमा रहेका यात्रुहरुको भीडलाई पार गर्दै पाँच तल्ले विशाल स्टेशनको जि–३३ नम्बरको प्लेटफार्ममा पुगेँ । त्यहाँबाट मैले १० नम्बरको रेल १० बजे अगावै समाउनु थियो ।

समयमै ५ नम्बर डिब्बाको एक नम्बर सीटमा पुगियो । सँगैको सीटमा मेरा सहयात्री चिनियाँ नागरिक फफो थिए । उनी पनि हाङचौसम्म जान लागेका हुन् । पुख्र्यौैली घर हाङचौ भएका उनको र मेरो अन्तिम गन्तव्य मिल्यो । एक शिक्षित युवा, तर एकाध शब्द मात्र अंग्रेजी बोल्थे । उनी चिनियाँ बोल्थे, म अंग्रेजी ।

तापनि, हामी एकअर्काको भावना बुझ्थ्यौं । एक अर्कालाई हेरेर मुसुमुसु मुस्कुराउँथ्यौं । बिहानको १० बज्यो । घडीको सुईसँगै बेइजिङ्ग शहरलाई छाडेर १० वटा डब्बा भएको बुलेट ट्रेन गुड्यो । त्यो ट्रेन बन्दुकको नालबाट निस्किएको गोलीझैं तीन सय ५० किलोमिटर प्रतिघण्टाका दरले दक्षिण पूर्वतर्फ लाग्यो ।

खचाखच यात्रु बोकेर रेल निरन्तर दौडिएको छ । एउटा शहर छोडेर अर्को शहरमा बस्ती बसाउन जाँदैछौं जस्तो अनुभव भइह्यो । मेरा सहयात्री मलाई चिनियाँ बस्ती, ठाउँ र चिनियाँ विकास मोडलको बारेमा मोबाइल एपबाट जानकारी गराउँथे ।

‘एकता नै सर्वशक्तिमान छ’ भनेझैं जनता एकीकृत भएकै कारण चीनको विकास भएको हो ।  चिनियाँहरु सके गर्छन्, नसकेपनि विरोध गर्दैनन् भनिन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय हितलाई उनीहरु सर्वोपरी ठानेर एकजुट भएर अघि बढेकाले सफलता हात लागेको हो ।

आशा, भरोसा र अपेक्षा भयो भने सबै काम गर्न सकिन्छ भन्नेमा विश्वस्त हुन्छन्, चिनियाँ । चीनको उन्नति, प्रगति र तरक्की केबल बोलेर मात्र सम्भव भएको होइन । उसले विशाल भ्यू टावर निर्माण गरेर विकासको गफ पिटेको छैन । बरु, उसले खानी उत्खनन् गरी विकासको मूल फुटाएको छ । आफ्नो मुलुकको जनशक्तिलाई सही ठाउँमा सदुपयोग गरेको छ । विश्व श्रम बजारमा पर्यटक कामदार अर्थात आप्रवासी चिनियाँ कामदारको बढ्दो पलायन रोक्न अधिकतम समय खर्चिएको छ ।

हामी सवार रेल नजिकैका बस्ती, खेतबारी, उद्योग, कलकारखाना र कम्पनीहरुको लहरेताँतीलाई छोड्दै गन्तव्यतिर अघि बढिरहेको छ । केही समयपछि सुन्दर चुरे पहाड जस्तै देखिन थाल्यो । ठाउँठाउँमा पहाड छेडेर बनाइएको सुरुङमार्ग त कतै पहाड काटेर निर्माण गरिएको गल्छी ।

रेलभित्र तोकिएको पोशाकमा राम्रोसँग सजिएका परिचारिकाहरु खानाको अर्डर लिन व्यस्त छन् । कोही किनेर खान्छन्, कोही विद्युतीय माध्यमबाट काम गरिरहेका छन् । सबै व्यस्त देखिन्छन् । चारैतिर हरियाली र एकीकृत बाली प्रणाली देख्दा मन खुशी भएको छ । कतै गहुँ पाकिरहेको छ, कतै मकैमा घोगा लागिरहेको देखिन्छ । तरकारीका ठूल्ठूला हरिया फाँट साह्रै सुन्दर देखिन्छन् । कृषकहरुको सहजताका लागि नहरको सुविधा पनि जताततै देखियो ।

सहज मल आपूर्ति, कमभन्दा कम जमिनमा न्यूनतम श्रमबाट अधिक उत्पादनको लागि उन्नत खेतीबाली प्रणाली तारिफयोग्य छ । थोरै कृषकले विशाल मुलुकको जनसंख्यालाई धानेको मात्रै छैन, विश्वलाई बाली प्रणालीबारे गतिलो शिक्षा पनि दिएको छ । चीनको कृषि प्रणालीले हाम्रोजस्तो कृषिप्रधान देशलाई गिज्याइरहेको भान भयो ।

हामी खेतबारी बाँझो राख्दै अन्यत्रबाट आयात गरेर सुःखसयलमा रमाइरहेका छौं । नेपाल पछाडि पर्नुको कारण पनि यहि हो । विश्व भ्रमणमा निस्किने नेपाली राजनीतिज्ञ र वरिष्ठ भनिएका कर्मचारीहरु केही सिकेर मात्र फर्किन्छन् कि फोटो खिचेर मात्र ? शंका लाग्न थाल्यो ।

चिनियाँहरु शान्तिप्रेमी हुन्छन् । उत्तिकै मेहेनती र कर्मशील पनि । अथक प्रयासले असम्भवलाई सम्भवमा परिणत गर्न सकिन्छ भन्ने संस्कार उनीहरुमा छ । उनीहरु विकास गर्दा प्रकृतिलाई पनि उत्तिकै ध्यानमा राख्छन् । ‘प्राकृतिक वस्तु भगवानबाट मानवजातिका लागि प्राप्त अनुपम उपहार हो’, भन्ने ठान्छन् । प्रकृतिको अधिकतम उपयोग र सदुपयोग गर्छन् ।

रेल आफ्नै लयमा दौडिरहँदा मचाँहि झ्यालबाट बाहिर चियाइरहेको छु । त्यहाँको विकास देखेर दंग पर्छु । कृषिमा औद्योगिकीकरण र यान्त्रिकीकरणको आवश्यकता रहेछ भनेर सोच्छु । चीन खाद्यान्नमा आत्मनिर्भर हुनुको कारण मेशिनरी औंजारको अधिकतम प्रयोग नै हो । खानी, ऊर्जा, उद्योग, यातायात, सञ्चार र सिँचाइ चिनियाँ विकासको मुख्य संवाहक हो । कतै बस्ती नै बस्ती, कतै विशाल विद्युतीय प्रशारण लाइन । कुनै पनि पहाड खाली छैनन् । जहाँसुकै हावाबाट विद्युत उत्पादन हुने ‘विन्ड मिल’ मात्र देखिन्छन् । मानौं, त्यहाँ हावालाई पनि निर्वाध रुपमा बहने छुट छैन ।

कतै डाँडैभरि रणभूमिमा सिपाहीझैं लामबद्ध र पंक्तिबद्ध सोलार प्यानल राखिएको छ । सिँचाइ सुविधा नभएको नदीको सतहदेखि माथिको इलाकासम्म ठाउँठाउँमा समुदायस्तरमा पानी संकलन गर्ने कृत्रिम ड्याम (पोखरी) निर्माण गरिएको छ । त्यस्ता ड्यामले सुख्खायाममा पानी परिपूर्ति गर्छ । चीनले भौगर्भिक जल सतहको सुरक्षामा टेवा पुग्ने गरी पिउने पानीको स्रोत बनाएको छ । कम खर्चमा गरिएका यस्ता विकासको सिको गर्ने हो भने नेपालले पनि अत्यधिक लाभ लिन सक्छ ।

यहाँ हाम्रोजस्तो ओठे प्रकृति संरक्षणको नाममा निजी स्वार्थ प्रेरित भएर विकासमा बाधक बनेको छैन । चीनको विकास देखेर मनमा एक किसिमको लोभ पलाएको छ । नेपालमा पनि यस्तै रेल भइदिएको भए भनेर परिकल्पना गर्छु । तीन घण्टा ५० मीनेटको यात्रामा रेल कँहीकतै घच्याकघुचुक भएन । समय समयमा म कल्पिन्थें, हाम्रो देशमा किन माओ, सनयात्सेन र सि जिनपिङजस्ता व्यक्ति जन्मिएनन् ?

कुनै समय नेपालीहरु विश्वमा दुई महेन्द्र छन् भन्नेमा विश्वास गर्थे भने चिनियाँहरु दुई माओ । नेपालका स्वर्गीय राजा महेन्द्र र चीनका माओ जेदुङ्गलाई त्यसरी हेरिएको बताउनेहरु पनि भेटिए । सन् १९४० को दशकमा नेपाल र चीनको हैसियत लगभग एकै थियो अर्थात अविकसित । जसरी यात्राको शुरुवात पहिलो पाइलाबाट हुन्छ, त्यसरी नै चीनले विकास थाल्यो औद्योगिकीकरणबाट ।

नेपालका राजनीतिकर्मीहरुले लाज पचाएरै नेपाललाई विकासशील राष्ट्र भन्ने गरेका छन् । तर, साँच्नै भन्ने हो भने नेपालले विकास के हो भन्ने नै थाहा पाएको छैन । चीनले विकासको उत्कर्ष चुमिसकेको छ, हामी जहाँको त्यही छौं ।  

हाम्रो रेल एक विशाल स्टेसनमा गएर ११ बजेर २० मीनेटमा रोकिन्छ । स्टेसनमा भएको यात्रुको हतारोतर्फ देखाउँदै मेरा सहयात्री भन्छन्, ‘रेल–वे स्टेसनमा चिनियाँहरु हिँड्दैनन । सक्ने दौडन्छन् । नसक्ने लम्किन्छन् । अनि फरक क्षमता भएकाहरु मद्दत माग्छन् । तर, समयमा नै पुग्छन् ।’

चिनियाँहरु राति, साँझ र बिहान मात्रै थकाइ मार्ने ती मित्रको भनाई छ । चीनलाई साम्यवादी र जनवादी मुलुकको रुपमा चिनिन्छ । तर, यहाँको जनताको जीवनस्तर निकै फरक छ । मानिस आ–आफ्नो स्तरअनुसार जीवनयापन गर्छन्, यहाँ पनि त्यस्तै छ ।

क्षमता हुनेहरु उड्छन्, सक्नेहरु गुड्छन् र नसक्नेहरु हिँड्छन् । युवायुवती, तन्नेरी र बल भएकाहरु दौडिन चाहन्छन् । अलि बढी उमेर भएकाहरु सहारा माग्छन् । सुस्तरी भएपनि हिँडिरहेका हुन्छन् । चिनियाँ शब्दकोषमा बस्ने र रोकिने भन्ने शब्द नै छैन रे १ ‘कि गर कि मर’ यो सिद्धान्तमा चीन अघि बढेको छ । त्यहाँ बन्द, हड्ताल, विरोध भन्ने शब्द नै सुनिएन ।

हामी कहाँजस्तो राजनीतिज्ञले बिना श्रम तलब भत्ता र सेवा सुविधा लिएको खबर पनि सुनिएन, पढिएन । नेपालमा राजनीतिज्ञ नै विकासको बाधक बनेको भन्न थालिएको छ । किन कि एउटाले विकास गर्दा आफ्नो राजनीतिमा पूर्णविराम लाग्छ भन्ने डर उनीहरुमा छ । साथै, नेपाली राजनीतिज्ञहरु जसरी हुन्छ छिटो कमाउन चाहन्छन् ।

हामीकहाँ कर्मचारीहरु भ्रष्ट देखिन्छन् । चिनियाँहरु बिना श्रम सुविधा लिन र दिनु पाप ठान्ने गरेको बताउँछन् । त्यसो गरेमा अध्यक्ष माओको आत्माले श्राप दिने विश्वास गर्छन् । नेता र नेतृत्वले नागरिकलाई सही मार्गदर्शन देखाएका छन् । श्रमिकहरुलाई साहास र ढाडस दिन्छन् । उनीहरु भन्छन्,‘उठ जाग हे युवाहरु देश हामीले बनाउनु छ । हामीले देश नबनाए अरुले उछिन्छ । यात्रा धेरै लामो छ, सबैभन्दा पहिले हामी नै पुग्नु छ । हामीलाई बस्ने र रोकिने छुट छैन ।’

साढे ११ बज्यो हाम्रो रेलले पुनः गति लिन थाल्यो । त्यहाँ कसैको भनसुन लागने । सबै आफ्नो बलबुतोमा चलेका छन् । उनीहरु समयको पहरेदार हुन् । समयलाई उसले पछ्याउने होइन्, समयले उसलाई पछ्याउने चिनियाँ विश्वास झन् गाढा हुँदै गएको देखियो ।

हाम्रो रेल पहाडी सुरुङ्ग छेडेर नयाँ संसारमा पुग्यो । जहाँ अग्ला अग्ला संरचनाले स्वरुप पाउँदै छ । मानौं, यसले विकासको उत्कर्ष चरणलाई चुम्दैछ । हेर्दा औद्योगिक क्षेत्रजस्तो देखिन्थ्यो । हामीले त्यो पनि काट्यौं । मेरा सहयात्री भन्छन्,‘चीनको विकासको मुख्यकारक सशक्त औद्योगिकीकरण हो । यहाँ उद्योग खोल्नका लागि निश्चित स्थान निःशुल्क रुपमा दिइन्छ र वाह्य मुलुकमा निर्यात गर्ने उद्योगलाई कर छुट दिने गरिएको छ । जसले उद्यमशीलतासँगै रोजगारीको पनि सिर्जना गरेको छ ।’

यहाँको नेतृत्वले उत्पादित सामानहरु निर्यात गरेर वैदेशिक मुद्रा सञ्चित गर्न जनतालाई उत्प्रेरित गरेका छन् । मलाई त्यतिबेला नेपालको अवस्था देखेर मुटु पोल्यो । रुख, बोटविरुवा नभएका हाम्रा सडक र खाली सरकारी जमिनहरुको झल्झली याद आयो ।

उपयोगविहिन बनेका जमिनमा उद्योग खोल्न सके ऊर्जावान जनशक्ति विदेश पलायन हुनुपर्दैनथ्यो भनेर सोच्छु । विदेशिँदै गरेको नेपाली मुद्रा देशमै रहन्थ्यो जस्तो लाग्छ । खेल मैदानजस्तो नाङ्गो भएको जंगलमा रुखविरुवा रोपेर हरित बनाउनुपर्ने सके हुन्थ्यो भन्ने महशुस चीन भ्रमणले गरायो ।
 
यात्राका क्रममा टाढाटाढासम्म देखिने बहुतल्ले गगनचुम्बी भवनहरु केबल विकासका संकेत मात्रै होइनन्, रोजगारीका प्रमाणहरु पनि हुन् । समय र रेल एकै गतिमा दौडिरहेको थियो ।  रेल नान्जिङ्ग शहरको विशाल प्लेटफर्ममा गएर १२ बजेर १५ मीनेटमा रोकिएपछि फेरि त्यहाँ पनि यात्रुको हतारो छताछुल्ल भएको देखियो ।

यहाँ रेलले समयको पालना गर्दैन, समय यसको सच्चा पालक हो । चिनियाँ नागरिकहरु घडी हेर्नुको साटो रेल हेर्दै भन्न थाले, ‘हाङचौको रेल जान लाग्यो । १२ बजेर २५ मीनेट हुन लागेछ ।’

दिउँसोको १ बजेको छ । धेरै पर नीलो क्विन्ताङ्ग नदी देखियो । चच्याङको जननी छिन्ताङसँगैको क्षितिजमा केही गगनचुम्बी भवनहरु देखिए । मेरो उत्सुकता र कौतहुलता बढिरह्यो । २५ मीनेटमा हाङचौ शहरसँग साक्षात्कार गरेर रेल अघि बढ्यो ।

एक हजार दुई सय १९ किलोमिटर अर्थात सात सय ९५ माइल दूरीबिचका समथर जमिन, पहाडको गर्भ र नदीहरुलाई पार गर्दै घडीको सुईसँगै रेल हाङचौ शहरको ‘हाङचौं तोङ्ग विशाल रेल–वे’ स्टेशनमा रोकियो । १० मीनेटका लागि मात्रै रोकिएको थियो । हामी सबै आ–आफ्नो सामान लिएर ओर्लियौं ।

त्यति छोटो यात्रामा मैले मेरा सहयात्रीसँग सिक्नुपर्ने धेरै कुरा बाँकी थियो । तर, गन्तव्य फरक पर्यो । मैले उनलाई नेपालबाट लगेको राष्ट्रिय झण्डा भएको टिसर्ट चिनो दिएँ । नेपाल भ्रमणको निम्तो दिँदा उनले खुशी भएर झुक्दै भने, ‘यु यितियान चाइचेन ।’

(चीन भ्रमणबाट फर्केका एक जना पत्रकारको बेइजिङ्ग–हाङचौ यात्रा अनुभव)

टिप्पणीहरू