रविको टोलीद्वारा टिभीलाई जब ठग्ने थलो बनाइयो

रविको टोलीद्वारा टिभीलाई जब ठग्ने थलो बनाइयो

असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवमा सभापति रवि लामिछानेले लेखेका छन्, ‘रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नुहुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, न्युज २४ टेलिभिजन र ग्यालेक्सी टेलिभिजनलाई सम्झन चाहन्छु ।’ 

लामिछाने ग्यालेक्सी टेलिभिजनको संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) र परिकल्पनाकार हुन् । गोर्खा ग्रुप अफ कम्पनीअन्तर्गत गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित उक्त टेलिभिजनको सबै खाले परिकल्पना र व्यवस्थापन उनैले गरेका थिए । पछिल्लो समय सुशासनको नारालाई तेज गतिमा उरालिरहेका लामिछाने आबद्ध ग्यालेक्सी समूहले ५ वटा अलग–अलग सहकारी बनाएर ५ अर्बभन्दा बढी रकम ठगी गरेको तथ्य खुलेको छ । 

काठमाडौं, पोखरा, बुटवल, चितवन र वीरगञ्जमा अलग–अलग सहकारी स्थापना गरेर  ठगी सञ्जाल चलाउने प्रमुख पात्र हुन्, नेटवर्किङ मार्केटिङबाट उदाएका कुमार रम्तेल । समूहमा अध्यक्ष छन्, ओखलढुंगाका गितेन्द्रबाबु उर्फ जीबी राई । 

सहकारीबाट ५ अर्ब बढी बचत हिनामिना भएपछि पीडितहरूले प्रहरी र प्रशासनमा उजुरी दिएका छन् । तर मिडिया र प्रशासनको हाउगुजी देखाएर कारबाही प्रक्रिया नै रोकिएको पीडितहरूको भनाई छ । 

ठगी नम्बर १ : पोखरा 

तीन साताअघि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू दुई वटा बस रिजर्भ गरेर काठमाडौं आइपुगे । ग्यालेक्सी टेलिभिजन घेर्ने तयारीसाथ आएका तिनलाई सूर्यदर्शनको कोषाध्यक्ष रहेका कुमार रम्तेलले काठमाडौंको एक होटलमा लगेर सम्झाउने प्रयास गरे । उनी ग्यालेक्सी टिभीका उपाध्यक्ष हुन् । उनै रम्तेलसँग पोखराबाट आएका पीडितहरूले रुवाबासी गरे । जिन्दगीभर कमाएको पैसा नपाए आत्महत्यासम्मको चेतावनी दिए । उक्त भिडियो युट्युब र सामाजिक सञ्जालमा छरपष्ट हेर्न सकिन्छ । यो सहकारीको अध्यक्षमा थमन जिसीलाई राखिएको छ । तर, उनी डमी पात्र हुन् । ७० करोड हिनामिना गरेर अहिले उनीहरूले अफिस बन्द गरेका छन् । 

स्रोतका अनुसार एसपी अजित केसीलाई टेलिभिजनका अध्यक्ष जीबी राई र सभापति लामिछानेले मिलाएर कास्की लगेका हुन् । 

ठगी नम्बर २ : काठमाडौं

तीन महिनाअघि न्यूरोडस्थित स्वर्ण लक्ष्मी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा बचतकर्ताको उस्तै रुवाबासी चल्यो । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवा केन्द्र भनेर न्युरोड, महाराजगञ्ज, जोरपाटी र स्वयम्भूमा शाखा स्थापना गरेको छ । यसमा सर्वसाधारणको २ अर्ब ६० करोड बचत छ । यसको अध्यक्ष ग्यालेक्सी टिभीका अध्यक्ष राई आफैँ हुन् भने कोषाध्यक्ष कुमार रम्तेलको आफन्त नवीन अछामी छन् । 

ठगी नम्बर ३ : बुटवल

मंसिरयता बुटवलको अमरपथस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा गएर बचतकर्ताले रुवाबासी गरिरहेका छन् । स्रोतका अनुसार उही समूह र सञ्जालले बुटवलमा मात्रै बचतकर्ताको १ अर्ब १५ करोड ठगी गरेका छन् । सुप्रिम सहकारीले बुटवल, भैरहवा र कपिलवस्तुमा गरी ५० जनाजति संकलकहरूबाट दैनिक रकम संकलन गरेको थियो ।
बुटवलमा सहकारी स्थापना गर्दा जीबी राई आफै अध्यक्ष बसेका थिए । सहकारीका सचिव पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुन थिए । पछि सहकारीको अध्यक्षमा डिबी गुरुङलाई राखियो । पीडितहरू पटक–पटक प्रहरीमा गए पनि ‘पहुँचवालाको सहकारी’ भन्दै प्रहरीहरू पन्छिने गरेका छन् । 

ठगी नम्बर ४ : वीरगञ्ज 

वीरगञ्जको आदर्श नगरमा मुख्य कार्यालय रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्था अहिले बन्द छ । १ अर्ब १५ करोड बचत रहेको सहकारी बन्द भएपछि बचतकर्ताले रुवाबासी गरिरहेका छन् । पीडितहरू पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहकहाँ दैनिक पुग्ने गरेका छन् । २० भन्दा बढी बचतकर्ताको उजुरी परेपछि यसअघि महानगरपालिकाले जेठ १६ गतेभित्र सञ्चालकलाई उपस्थित हुन पत्र काटेको थियो ।

यो सहकारी पनि उनै सभापति लामिछाने, जीवी राई र रम्तेलकै हो । तर, यसमा ठगीको नयाँ विधि रचिएको छ । रम्तेल र राईले सहकारीको अध्यक्षमा आफ्नै दाजु अनन्तबाबु राईलाई राखेका छन् भने कोषाध्यक्षमा माओवादी नेता कैलाश दर्लामी मगर छन् । मगर रामेछापको लिखु तामाकोशी–७ नम्बर वडाका अध्यक्ष हुन् । स्रोतका अनुसार अध्यक्ष अनन्तबाबु राई भने रुवाबासी गर्दै भाइ जीबी राईलाई खोज्दै हिंडेका छन् । 

स्रोतका अनुसार अंग्रेजी विषयका शिक्षक राईलाई रम्तेल र उनका भाइ जीबीले जागिर छोडाएर नेटवर्किङ कम्पनी नेचर हर्ब इन्टरनेशनल प्रालिमा ल्याएका थिए । थाहै नदिई सहकारीको अध्यक्ष राखेर १ अर्ब १५ करोड हिनामिना गरिएपछि अनन्तबाबु न्यायको खोजीमा भौंतारिहेको स्रोतको भनाई छ । 

ठगी नम्बर ४ : चितवन

सहारा चितवन बचत बहुउद्देश्यीय सहकारी अहिले बन्द जस्तै छ । बचतकर्ताहरूको ६५ करोड बढी रकम यहाँबाट हिनामिना भएको छ । भरतपुर, टाँडी अनि पर्सामा यसको कार्यालय रहेको छ । कागजमा सागर केसी अध्यक्ष रहेको यो सहकारीको प्रमुख मालिक भने उनै ग्यालेक्सीका अध्यक्ष जीबी राई, उपाध्यक्ष कुमार रम्तेल र सभापति लामिछाने नै हुन् । तर कागजमा भने उपाध्यक्ष हेमन्त अधिकारी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, आशिष आनन्द, अनन्तबाबु राई र छत्रमणी भट्टराई देखिएको छ । 

युनिटीदेखि हर्बो हुँदै नेचर हबसम्म 

यो ठगीको प्रमुख भने कुमार रम्तेल नै भएको स्रोतको दाबी छ । केही वर्षपहिले नेपालमा नेटवर्किङ व्यवसायको बिगबिगी थियो । विभिन्न नाममा खुलेका कम्पनीले सामान बेच्थे र ग्राहकलाई सदस्य बनाउँथे । ती ग्राहकले अरूलाई सदस्य बनाए विभिन्न लाभ हुने प्रलोभन दिन्थे । त्यस्ता प्रभोलनबाट धेरै सर्वसाधारण ठगिएपछि सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाइदियो । उतिबेलाको प्रमुख नेटवर्किङ व्यवसायमध्ये एक हो, युनिटी नेटवर्किङ । 

ललितपुरको गोदावरीस्थित गरिब परिवारमा जन्मिएका रम्तेलले शुरुमा युनिटी नेटवर्किङमा काम गरेका थिए । त्यो बन्द भएपछि  हर्बो नामक नेटवर्किङतिर । रामेछापका पुष्पराज पुरुष भनिने पुष्पराज पौडेलसँग हर्बोमा करोडाँै ठगी गरे । ललितपुरका संगीता शाक्यलगायत १२ जनाको घर लिलामी गरेर खाइदिएपछि लामो समय भारतमा लुकेर बसेका थिए । यता ग्यालेक्सीको अध्यक्ष रहेका जीवी राईसँग पनि युनिटी नेटवर्किङमा रहँदा नै चिनजान भयो । भारतबाट आएपछि नेचर हब नामक नेटवर्किङ शुरु गरे । कुमार तामाङ्ग अध्यक्ष रहेको नेचर नेष्टले उत्पादन गरेका सामग्रीहरू नेचर हर्ब इन्टरनेशनलबाट बेच्ने गरिएको छ । यसको ५१ प्रतिशत उनै रम्तेलको नाममा रहेको छ । यसको सिईओ उनकी श्रीमती कविता रम्तेल छिन् । शंखमूल काठमाडौंबाट कारोबार गरिरहेको उक्त कम्पनीलाई विभागले २०७७ असार १ गते अनुमति दिएको छ । विभागमा अनुमति लिँदा यसका सञ्चालक थिए, उनै ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई र पूर्व डिआइजी छविलाल जोशी ।
 

टिप्पणीहरू