रवि लामिछानेको धन्यवादपछि प्रधानमन्त्रीको जवाफ : तपाईंलाई पनि धन्यवाद

रवि लामिछानेको धन्यवादपछि प्रधानमन्त्रीको जवाफ : तपाईंलाई पनि धन्यवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर चल्ने बताउनुभएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको हो । त्यसक्रममा उहाँले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने मान्यताका आधारमा सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो । 

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमको समर्थन गर्दै प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको थियो । त्यसक्रममा उहाँले भ्रष्टाचार निर्मुल पार्न जरैसम्म पुग्न प्रधानमन्त्रीलाई सुझावसमेत दिनुभएको थियो । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान जरासम्मै पुग्ने बताउँदै यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ आवश्यक पर्ने बताउनुभएको छ । आफूलाई धन्यवाद दिएकोमा प्रधानमन्त्रीले रविको नामै लिएर ‘काउन्टर धन्यवाद छ’ भन्नुभयो । 

प्रमुख तीन दलका नेताहरुले गरेका लगातारका भेटघाटप्रति रविले उठाएको आशंका निवारण गर्दै प्रधानमन्त्री प्रचण्डले दोषी जोगाउने गरी कुनै कुरा नभएको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू