पढाउन छाडेर गुरुहरू किन बन्छन् मन्त्रीका पिए ?

पढाउन छाडेर गुरुहरू किन बन्छन् मन्त्रीका पिए ?

जसरी बालकृष्ण खाँण गृहमन्त्री हुँदा शिक्षक नरेन्द्र केसीलाई स्वकीय सचिव बनाएर भित्र्याइयो र बदनामीमा मुछिए अहिले उही ढंगले स्वास्थ्यमन्त्री मोहन बस्नेत पनि विवादमा तानिँदै छन् । बस्नेतको सचिवालयमा विश्वरुप खड्कालाई प्रमुख सल्लाहकार बनाइएको छ भने रामेश्वर आचार्य स्वकीय सचिव, प्रेस हेर्ने गरी रामचन्द्र दुलाल, प्रशासन सहायक दीपक दुलाल र कर्मचारीतर्फ निजी सचिवको जिम्मेवारीमा छन्, उपसचिव मोहन निरौला । त्यहाँँ उपस्वकीय सचिवको रुपमा मास्टर विक्रम श्रेष्ठलाई सिन्धुपाल्चोकबाट तानिएको छ । शिक्षकको काम विद्यार्थी पढाउने हो तर विद्यालयमा दरबन्दी हुनुपर्ने सरकारी शिक्षक मन्त्रीको सचिवालयमा छन् । उनी आफू कार्यरत विद्यालयबाट काज बिदा मिलाएर मन्त्री बस्नेतको सचिवालयमा भित्रिएका हुन् । 

श्रेष्ठ बच्छलादेवी मावि बाह्रविसे नगरपालिका–७ मा उच्च माविको संघीय अनुदान कोटाबाट शिक्षक हुन्, झण्डै आठ वर्षदेखि त्यहीँ पढाइरहेका उनी डेढ महिनादेखि मन्त्रीको स्वकीय सचिव बनेर रामशाहपथमा रमाइरहेका छन् । मन्त्री मोहन बस्नेतको ठाडो आदेशमा नगरप्रमुख बालकृष्ण बस्नेतले त्यहाँँबाट काजमा पठाइदिएका हुन् श्रेष्ठलाई । उनको दरबन्दी रिक्त हुँदा र अरु शिक्षक नपठाइँदा विद्यार्थीहरूको पढाईमा बाधा पर्न थालेको छ । उनको काज सरुवापछि बच्छलादेवीमा शिक्षक पद रिक्त छ । शिक्षक मन्त्रीको सचिवालयतिर रमाउँदा विद्यार्थीको पठन पाठन प्रभावित हुन पुगेको छ ।

मन्त्रालयको सरकारी काममा सहयोग पु¥याउन निजामती कर्मचारीभित्रैबाट निजी सचिवको व्यवस्था गरिएको हुन्छ भने निजी कामका लागि स्वकीय सचिव हुन्छन् । सम्बन्धित पार्टीले आफ्ना मन्त्रीहरूको स्वकीय सचिव पार्टी तहबाटै सिफारिस गर्ने भनिए पनि मन्त्रीहरूले मनखुशी पिए नियुक्त गर्ने प्रवृत्ति बढ्दो छ । त्यसो गर्दा मन्त्रीका गोप्य कुरा बाहिर जाने भएन, परिवारभित्रै सीमित रहने भयो । मन्त्रीले आफ्नो सचिवालयमा कार्य सम्पादनमा सहयोग पु¥याउने र आफ्नो प्रतिष्ठा बढाउन मद्धत गर्ने गरी निजी तथा स्वकीय सचिव बनाउन छाडेर बिचौलिया र उठ्तीपुठ्ती धन्दामा माहिर कर्मचारी र कार्यकर्तालाई पिएमा भर्ती गर्ने परिपाटी केन्द्रदेखि प्रदेशसम्म मौलाएको छ । पिए श्रेष्ठले विशेष काममा मन्त्री भेट्न स्वास्थ्य मन्त्रालयमा आएका सांसद, पार्टीका नेता कार्यकर्तालाई भेट्न नदिने, रुखो बोल्ने गरेको गुनासो छ । 

बाह्रविसे नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठ पहिला माओवादीका विद्यार्थी नेता थिए । ०६५ सालमा अरनिको बालकोट कलेज बाह्रविसे अखिल क्रान्तिकारीबाट स्ववियू सभापतिमा निर्वाचित भएका उनी मोहनले चुनाव जितेको खण्डमा बाह्रबिसे बजारमा नांगै हिँड्छु भन्दै हिँड्थें । ०७४ को स्थानीय तहको निर्वाचनमा भाइ बालकृष्ण बस्नेतलाई हराउन भूमिका खेल्ने प्रमुख व्यक्ति नै हुन् भनिन्छ । अवसरको खोजीमा रहेका श्रेष्ठ आफ्नै जिल्ला र क्षेत्रका मोहन बस्नेत सूचना तथा सञ्चार प्रविधिमन्त्री भएपछि हँसिया हथौडाको राजनीति छाडेर जय नेपाल क्याम्पमा प्रवेश गरेका हुन् । 

सिन्धुपाल्चोकका कांग्रेसीहरूका अनुसार ०७९ को स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका–७ का कांग्रेस उम्मेदवारलाई हराउन लागिपरेका थिए । उनका दाइ दीपकविक्रम र भाइ बुहारी एलिसा बस्नेत बैंकिङ कसुर मुद्दामा प्रहरी हिरासतमा छन् । यी दुबैलाई छुटाउन मरिमेटेर लागिपरेका छन् । भाइबुहारी एलिसा सिन्धु विकास बैंकमा कार्यरत थिइन् । ग्राहकको मुद्दति खातामा रहेको पैसा निकाल्ने फण्डामा प्रहरीको खोरमा पुगेकी हुन् ।

टिप्पणीहरू