सुखान्त कहाँ थियो र दाँतेको संसार

सुखान्त कहाँ थियो र दाँतेको संसार

‘दैवी सुखान्त’ यात्रासम्बन्धी महाकाव्य हो । काव्यात्मक गुणले मात्र होइन, यसमा व्यक्त विषयवस्तुले गर्दा पनि विश्व साहित्यमा महान् र अनुपम कृति मानिन्छ । यसै कृतिमार्फत दाँते विश्वका श्रेष्ठ कविहरूको पंक्तिमा उभिन पुगेका हुन् । विचार, उपमा, लय, ध्वनि, नाटकीय रमिताले सिँगारिएको दृश्यका कारण यो काव्य विश्व साहित्यको महान् उपलब्धि बन्न पुग्यो । दाँतेको स्थान इटालेली साहित्यमा त्यत्ति नै उच्च र गर्विलो मानिन्छ, जति अंग्रेजी साहित्यमा विलियम सेक्सपियरको, ग्रिक साहित्यमा होमर र जर्मन सहित्यमा गेटेको छ । समालोचकहरू भन्ने गर्छन् ‘भर्जिल र दाँते नहुँदा हुन् त विश्व साहित्यमा इटालेली साहित्यको गणना नै हुने थिएन । साहित्य पारखीहरू उनलाई भर्जिल पछिको इटलीका महान् साहित्यकार मान्छन् । उनले ल्याटिन भाषामा लेखेका डि बुल्गारी एलोक्वेंटा, डि मोनार्किया, एक्लोग्युस र लेटार्स, इटालेली भाषाका डिभाइन कमेडी (नेपाली भाषाका साहित्यकार तथा समालोचकले ‘दैवी सुखान्त’ भन्ने गरेको), इन्फर्नो, पुर्गातोरियो, पैरादिसो, ला विटा न्युओवा, ले रिमे र कान्विवियो सबै अमर कृति हुन् । दाँते मात्र कवि र विचारक मात्र नभई राजनीतिक नेता र प्रशासकसमेत हुन् । उनले इटलीको फ्लोरेन्स राज्यमा शासन पनि गरेका थिए ।

उनका बाबुको नाउँ अल्जियेरो डी बेलिनसिएन थियो भने आमा गैब्रिएला डिली एबती हुन् । उनीहरू फ्लोरेन्टाइनका पुँजीपति थिए र गुलेफ पार्टीको समर्थक । दाँते मात्र ५ वर्षको हुँदा आमाको मृत्यु भयो । सन् १२७४ मा ९ वर्षका उनलाई बाबुले धनाढ्य फोल्को दि रिकोभेरो पोर्टिनारीकोमा लिएर गए । पोर्टिनारी बैंकर थिए र त्यो दिन त्यहाँ मे दिवसको पार्टी थियो । रात्रिभोजमा उनले फोल्कोकी छोरी बेतृसलाई देखे । त्यो बेला उनी ८ वर्षकी थिइन् । रंगीन र सुकिलोमुकिलो लुगामा सजिएकी ती बालिकालाई दाँतेले यति धेरै मन पराए कि जिन्दगीभर बिर्सनै सकेनन् । एकोहोरो प्रेम गर्दै गए । उनीहरूको भेट ९ वर्षपछि फ्लोरेन्सको एउटा गल्लीमा भयो, सन् १२८३ मा । त्यो बेला उनले सेतो रंगको लुगा लगाएकी थिइन् र दुई जना अधबैंसे महिला साथमा थिए । दाँते उनलाई देखेर टक्क अडिए । जबकि बेतृस उनी उभिएको स्थान नाघेर अघि बढिसकेकी थिइन् । अचानक पछाडि फर्किइन् र दाँतेलाई हाँसेर अभिवादन गरिन् । तर, यो दोस्रो मिलन र बेतृसको मुस्कानयुक्त अभिवादनबाट दाँतेको मन यतिबिघ्न प्रफुल्ल भयो कि उनले त्यसमा प्रेमको आभाष पाए । प्रफुल्ल बन्दै घर फर्के र १७ वर्षकी बेतृसबारे सोच्न थाले ।

राति सपनामा एक जना शक्तिशाली व्यक्तिसित भेट भयो । उनीसित कुराकानी गरे । त्यो व्यक्तिको अँगालोमा बेतृस थिइन्, निदाइरहेकी । शरीरमा रातो रंगको कपडा थियो । ती व्यक्तिले बेतृसलाई उठाए र दाँतेको दन्किराखेको मुटु ख्वाइदिए । यो देखेर दाँते डराए, निद्रा खुल्यो । सपनामा ती शक्तिशाली मान्छेले भनेका सबै कुरा सम्झन खोजे तर सकेनन् । उनको एउटा वाक्य भने बिर्सेनन् । ‘ईगो डोमिनस टुस’ अर्थात् ‘म तिम्रो भगवान् हुँ ।’ दाँतेले सपना सम्झँदै यसरी कविता लेखे– 

जसको आत्मा बन्दी छ, 
जसको हृदय उज्यालोले भरिएको छ, 
यी सबैभन्दा पहिला मेरो गीत प्रस्फुटन हुनेछ, 
जसले मेरो बहिरोपनको अर्थ भन्ने छ, 
प्रेमकी महिलाको नाममा – तिमीलाई सलाम !

पहिले नै तेस्रो घण्टी, जब ग्रहहरूलाई दिइयो, 
जब्बर भएर चम्के, आफ्नो मार्ग बनाउँदै, 
जब प्रेम मेरो अगाडि उभिन पुग्यो, 
मलाई सम्झिराख्न भयानक लाग्यो ।
मस्तीमा थियो प्रेम र आफ्नो हातको हत्केलामा 
मेरो ढुकढुकी अडिएको थियो तर हातैमा
उसले मस्तले निदाइरहेकी म्याडोनालाई लगे ।
र, बिउँझेर, म्याडोनालाई स्वाद दिएँ, 
भित्री हृदयले र उसले अल्मलिएर खाइदिइन् ।
फेरि मेरो प्रेम हरायो, सबै आँशुमा ।

दाँतेले औधी प्रेम गर्थे तर बेतृस भने उनलाई त्यति साह्रो मन पराउँदिन थिइन् । त्यसैले दोस्रो भेट भएको केही वर्षपछि नै बेतृसले सिमोन डी बार्दीसँग बिहे गरिन् । अर्को ३ वर्षमा अल्पायुमै सन् १२९० मा उनको निधन हुन पुग्यो । उनी त्यसबेला मात्र २५ वर्षकी थिइन् । प्रेमिका बितेको खबरले निकै मर्माहत बने र शोकमा डुबेर बसे । पछि, आफ्नो सम्पूर्ण ध्यान दर्शनको अध्ययनमा केन्द्रित गरे । सन् १२९१ मा जेम्मा डोनातीसँग बिहे गरे । उनी मुखाले थिइन्, सधैं कचकच गर्थिन् । दाँतेको कवि प्रतिभालाई कहिल्यै बुझिनन् र लोग्नेलाई चिन्न सकिनन् । नतिजा, घरमा अशान्तिको बिज रोपियो, सधैं कलह हुन थाल्यो । यसकारण दाँते एकछिन पनि घरमा नबस्ने भए । पारिवारिक अशान्तिको बावजुद डोनातीले दाँतेलाई चार सन्तानको बाबु बनाइदिइन् । त्यसो त बेतृसलाई पाउन सक्तिनँ भन्ने दाँतेलाई पनि थाहा थियो । दाँते अग्ला थिएनन्, नबोल्ने स्वभावका थिए । पातलो र दुब्लो थिए । रुप–रङ्ग आकर्षक थिएन, अनुहार लामो थियो, नाक सुगाको जस्तो, बंगारा ठूलो, तल्लो ओंठ बाहिर निस्केको, आँखा भित्र पसेको, सधैं उदास–उदास । फेरि उनी असाध्यै संकोची थिए, दम्भी पनि । एकपल्ट एउटा बिहे भोजमा केटीहरूले उनको भावभंगीमा नक्कल गरेर खिल्ली उडाए किनभने कसैले हँसिमजाक गर्दा उनी बोल्न जान्दैनथे । बेजोड थियो उनको लेखनकला, चमत्कारपूर्ण ।

दाँते पनि बेतृससितको प्रणयगाँठोलाई लिएर मानिसले कुरा काट्लान् भनी जानाजान अरु युवतीसित कुरा गर्न जान्थे । यसले झन् उनलाई बेतृसबाट टाढा लगे । अर्को पटक भेट्दा बेतृसले उनलाई अभिवादनसम्म गरिनन् । आफूले अन्धो प्रेम गरेकी प्रेमिकाको त्यस्तो निष्ठुरी र असहनीय व्यवहारबाट घायल बनेका दाँतेलाई झन् बढी कवितात्मक र मर्मस्पर्शी बनायो । र, जब बेतृसको मृत्यु भयो तब उनी झन् बढी घोत्लिन थाले । घोत्ल्याइले थप कल्पना दियो । बेतृसलाई स्वर्गका अप्सराको रुपमा कल्पना गर्न थाले । बेतृसको मृत्युको ३ वर्षपछि दाँतेले अमर कृति ‘ला विटा न्युओवा (नव जीवन)’ को लेखन सकाए । ३१ वटा प्रेम कविताको संग्रह हो । यो संग्रह बेतृसप्रति एकोहोरो प्रेमको उपज हो । यी रचनाबाट प्रष्ट हुन्छ उनी बेतृसलाई कति माया गर्थे । बेतृसलाई पहिलो पटक देखेपछि उनको नवजीवन कसरी प्रारम्भ भयो, हृदयमा कसरी नारीले बास गर्न थालिन्, कसरी उनी आशा र प्रेमको उपासक बन्दै गए भन्ने पढ्न सकिन्छ ।

बाह्रौँ, तेह्रौँ शताब्दीतिर इटली एकीकृत राज्य थिएन । फ्लोरेन्स शहर पनि स–साना दुईवटा सामन्ती राज्यमा विभाजित थियो । त्यहाँ ती दुबै राज्यबीच आपसमा सङ्घर्ष भइरहन्थ्यो । त्यस्तो स्थितिमा अरूलाई जस्तै महाकवि दाँतेलाई पनि एउटा पक्षमा उभिनुपर्ने बाध्यता आइलाग्यो । त्यो इच्छाविपरीतको कुरा थियो । यसरी राजनीतिको फेरो समाउँदा दाँतेलाई धेरै अपराधमा सामेल भएको भन्ने आरोप लाग्यो । सर्वश्वहरण गरेर फ्लोरेन्स शहरबाटै निस्कासन गरियो । उनले आफू निर्दोष भएको बताइरहे तर कसैले उनको कुरा सुनेन । एक त अभावको जिन्दगी, त्यसमा पनि सर्वश्वहरण भएर हिँड्नुपर्दा पत्नीले समेत साथ दिइनन् । भिक्षुजस्तै बनेर शान्तिको बास खोज्दै हिँड्न थाले । यसै सिलसिलामा एपोनिन्स नामक एउटा मठमा खान र शान्तिसित बस्न पाइने भयो । त्यसलाई उनले ठूलो सुखानुभूतिका रूपमा लिए । महाकवि दाँतेले यही मठमा बसेको बेला विश्वविख्यात महाकाव्य ‘दैवी सुखान्त’ लेखेका हुन् । सन् १३२१ मा दाँतेले देह त्याग्दा ५६ वर्षका थिए । उनी जीवित छँदा फ्लोरेन्सवासी खरानी पार्न चाहन्थे तर उनको निधनपश्चात दाँतेको खरानी मागे, तर राभेन्नाले दिन मानेनन् । दाँते मरेको पाँच सय वर्षपछि अंग्रेज कवि लर्ड बायरन उनको चिहान हेर्न गए । अनि यी कवि जसले जीवितको अघि कहिले आवेग प्रदर्शित गर्दैनथे तर उनी घुँडा टेकेर रोए । श्रद्धाभावले पुष्प अर्पण गरे ।
 

टिप्पणीहरू