कारागार तोडेर भाग्न खोजेका दुई कैदीबन्दीको मृत्यु

कारागार तोडेर भाग्न खोजेका दुई कैदीबन्दीको मृत्यु

चोरी र जबरजस्ती करणीको मुद्दामा कैद सजाय काटिरहेका दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आज बिहान अर्धचेत अवस्थामा फेला परेका उनीहरुको अस्पताल पुर्याइएको केहीबेरमै ज्यान गएको हो । 

मृत्यु हुनेमा संखुवासभाको मादी नगरपालिकाका विनोद तोलङ्गी र नुवाकोटको ककनी नगरपालिकाका आकाश बलामी रहेका छन् । राति शौचालयको रड काटेर भाग्ने कोशिस गरेका कैदीबन्दी बिहान अर्धचेत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय, संखुवासभाले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार आज राति २ बजे उनीहरु शौचालयको रड काटेर भागिसकेका थिए । कारागार सुरक्षामा खटिएको टोलीले उनीहरुलाई देखेपछि पक्राउ गरेर पुनः ब्लकमै फर्काएको थियो । बिहान ५ बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएपछि जेलरसहितको टोली घटनास्थलमा पुगेको उनको भनाइ छ । 

उनीहरु त्यतिबेला अर्धचेत अवस्थामा भेटिएको र तत्काल जिल्ला अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । ‘बिहान कारागारमा अचानक हल्लाखल्ला भएपछि जेलरसहितको टोली हेर्न जानुभएको रहेछ । दुवै जना अर्धचेत अवस्थामा रहेछन्, तत्काल अस्पताल लग्दा पनि बचाउन सकिएन्’, उनले भने । 

कैदीबन्दी मृत्युबारे छानबिन गर्न घिमिरेको नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन गरिएको छ । मृतक तोलङ्गीले जबरजस्ती करणी र बलामीले चोरी अभियोगमा सजाय काटिरहेका थिए ।

टिप्पणीहरू