निजेरको नियति !
- सुरेन्द्र नेपाल श्रेष्ठ
छिमेकी राष्ट्रहरु माली, बुर्किनाफासो, गिनीमा झैँ निजेरमा पनि सेनाले गत जुलाई २६ देखि शासन आफ्नो हातमा लिएको छ । प्रजातन्तको अपहरण गरेको भन्दै पश्चिम अफ्रिकी क्षेत्रीय संगठन इकोवासले ( इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स ) सैनिक हस्तक्षेप हुने चेतावनीसहित सैन्य शासकलाई तत्काल नजरबन्दमा राखिएका निर्वाचित रास्ट्रपतिलाई पूर्ववत रुपमा सत्ता फिर्ता गर्न आइतबार सम्मको म्याद दिइएको थियो ।
यसबीचमा अमेरिकी सरकारले प्रदान गर्दै आएको एक सय मिलियन डलरको सहयोग रोक्का भइसकेको छ । तर सैनिक प्रवक्ताले कुनैपनि वाह्य हस्तक्षेप भएमा युद्धको घोषणा भएको ठानिने र त्यसको महँगो मूल्य चुकाउनपर्ने जवाफी चेतावनी दिएका छन् । उनले गत आइतबारदेखि आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा बन्द गरिएको घोषणा गरेका छन् ।
माली र बुर्किनाफासोले भने सैनिक शासकसँग ऐक्यबद्धता जनाउँदै मालीका एक शक्तिशाली मन्त्रीको नेतृत्वमा प्रतिप्रतिनिधि मण्डल निजरको राजधानी नियामी पठाएको छ । अफ्रिकी शक्ति सन्तुलनको दृष्टिले त्यस क्षेत्रको ठूलो र महत्वपूर्ण मानिने देश निजरको भविष्यबारे इकोवासमा संग्लग्न राष्ट्रका प्रतिनिधिहरु थप छलफल गर्न भोलि नाइजेरियाको राजधानी अबुजामा जम्मा हुँदैछन् । निजेरले आफुविरुद्ध सैनिक कदम चालिएमा त्यसको प्रतिकार गरिने जनाउ दिँदै आएको छ ।
लामो समयसम्म आफ्नो अधिनमा रहेको निजेरका प्रायः सबै प्राकृतिक स्रोतहरुको एक्लौटी प्रयोग फ्रान्सले गर्दै आएको छ । त्यस क्षेत्रका अन्य देशमा पनि फ्रान्सको नै अधिपत्य रहेको छ । फ्रान्समा आणविक ऊर्जा उत्पादनको निम्ति अति आवश्यक यूरेनियमको आपूर्ति सोही क्षेत्रबाट हुने गरेको छ । त्यसबाहेक खानी, ऊर्जा, निर्माण र दूरसञ्चारसहित विभिन्न क्षेत्रमा फ्रान्सेली कम्पनीहरू निजेरमा सक्रिय देखिन्छन् ।
निजेरको सम्पूर्ण प्राकृतिक स्रोतमा फ्रान्सको संग्लनताका कारण आर्थिक रुपमा निजेर पूर्णरुपमा फ्रान्ससँग निर्भर भएको हो । त्यस कारण पनि फ्रान्सले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उसलाई विकास सहायता र मानवीय सहायता प्रदान गर्दै आएको छ । ती सहयोगबाट गरिवी, खाद्य असुरक्षा र स्वास्थ्य सेवा जस्ता चुनौतीलाई सम्बोधन गर्ने प्रयास भएको अर्थ लगाइएको छ ।
निजेर पश्चिम अफ्रिकामा अवस्थित एक भूपरिवेष्ठित मुलुक हो । यसको उत्तरमा अल्जेरिया, उत्तरपूर्वमा लिबिया, पूर्वमा चाड, दक्षिणमा नाइजेरिया र बेनिन, दक्षिण पश्चिममा बुर्किनाफासो र पश्चिममा मालीसमेत गरेर सात देशबाट घेरिएको छ । मुलुकको राजनीतिक र आर्थिक केन्द्रको रुपमा रहेको यहाँको सबैभन्दा ठूलो शहर राजधानी नियामी नाइजर नदीको किनारमा अवस्थित छ ।
सन् १९६० मा स्वतन्त्रता प्राप्त गर्नु अघिसम्म फ्रान्सेली उपनिवेश भएका कारण ऐतिहासिक सम्बन्धले दुई देशबीच गहिरो सांस्कृतिक, भाषिक र आर्थिक सम्बन्ध थियो । विभिन्न जातीय सामुदाय र प्रत्येकको आफ्नै सांस्कृतिक परम्परा र भाषा छन् । हौसा, जर्मा, तुआरेग र फुलानी केही प्रमुख जातीय समूह हुन् । धेरै भाषा बोलिए पनि प्रमुख भाषा फ्रेञ्च हो भने करिब नब्बे प्रतिशत जनता मुस्लिम धर्मालम्बी छन् ।
झण्डै साढे दुई करोड जनसख्या रहेको निजेरको मुख्य व्यवसाय कृषि, पशुपालन हो । यो संसारको बढी यूरेनियमको खानी भएको देशमध्ये एक हो । यस बाहेक कोइला, सुन र तेलसहित अन्य खनिज स्रोतहरू पनि प्रशस्त छन् ।
निजेरको उत्तरी क्षेत्रमा तातो मरुभूमि र दक्षिणमा अर्ध–सुख्खा मौसम छ । खडेरीले प्रायः यहाँको जनजीवन कष्टकर हुने गरेको छ । वन र वन्य जन्तुहरुमध्ये जिराफ र एडाक्स एन्टेलोप जस्ता प्रजातिहरू उल्लेख्य मात्रामा पाइन्छन् । अगाडेजको ऐतिहासिक केन्द्र र एर एण्ड टेनेरे प्राकृतिक रिजर्भ युनेस्को विश्व सम्पदा सूचीमा समावेश छन् ।
१५ औं र १६ औं शताब्दीमा पश्चिम अफ्रिकी क्षेत्रमा शक्तिशाली सोङहाई साम्राज्य रहेको यो मुलुक आन्तरिक तथा वाह्य कारणले संसारकै गरिब मध्येको एक मुलुकमा रहन बाध्य छ । निजेरमा नाइजेरिया र मालीको द्वन्दबाट भागेका शरणार्थीहरूको संख्या झण्डै तीन लाखको हाराहारीमा पुगेको बताइन्छ । यहाँका एक करोड भन्दाबढी नागरिक गरिबीको रेखामुनि रहेका अति नै अभावपूर्ण जीवन बिताउन बाध्य छन् ।
निजेर आप्रवासीहरूको निम्ति गन्तव्यमा पुग्न एउटा ट्रान्जिट मुलुकको रुपमा चिनिन्छ । मानव बेचबिखन र आप्रवासनको समस्याले पनि निजेरलाइ बढी जर्जर बनाएको छ । यस प्रकारका पहिचान नभएका वा विस्तापित भएकाहरुको संख्यासमेत तीन लाख ५० हजार भन्दाबढी रहेको पाइएको छ ।
निजेरमा सन् १८८५ देखि १९६० सम्म फ्रान्सेली उपनिवेशअन्तर्गत विभिन्न प्रशासनिक संरचना शासित थियो । सन् १९५८ डिसेम्बर १४ मा भएको क्षेत्रीय विधानसभा चुनावमा एक स्वायत्त गणतन्त्र बन्नुपर्ने धारणाले बहुमत पायो । फलस्वरुप अगष्ट ३, १९६० मा निजेरले फ्रान्सको उपनिवेशबाट पूर्ण स्वतन्त्रता पाएको हो ।
स्वतन्त्रतापछि पहिलो राष्ट्रपतिको रूपमा हमानी डिओरीले १४ वर्ष शासन गरे । सन् १९७४ मा सेनी काउन्चेको नेतृत्वमा भएको सैन्य विद्रोहपछि सन् १९८७ सम्म उसैले राजकाज चलाए । उनको मृत्युपछि अली साइबोउ उनका उत्तराधिकारीको रुपमा राष्ट्रपति बने । सन् १९८९ देखि लोकतान्त्रिक सुधारको निम्ति भएको आन्दोलन तथा बृहत सार्वजनिक दबाबपछि सन् १९९१ मा राष्ट्रिय सम्मेलन आयोजना गरियो । त्यसपछि नयाँ संविधान पारित गरिएको थियो ।
सन् १९९३ मा नयाँ संविधान लागु भएपछि महमन ओस्मान निजेरको पहिलो लोकतान्त्रिक निर्वाचित राष्ट्रपति बने । तर शक्ति र प्राकृति स्रोत तथा साधनमा एक्लौटी गर्ने राजनीतिक खिचातानीका कारण सन् १९९६ मा भएको सैन्य विद्रोहमा राष्ट्रपति ओस्मानेलाई अपदस्थ गरियो । त्यसको तीन वर्षपछि अर्को सैन्य विद्रोहमा राष्ट्रपति मैनासाराको हत्या भएको थियो ।
व्यापक दबाबका कारण मुलुकमा पुन निर्वाचन भयो र सोही वर्ष मामाड़ोऊ तान्डजा राष्ट्रपतिमा निर्र्वाचित भए । संक्रमणकालीन रुपमा केही महिना दौडा मालम बाके रास्ट्रपति बने । सन् २००४ मा भएको निर्वाचनमा पनि तान्डजा नै विजयी भएका थिए । उनले पनि आफ्नो स्वार्थमा सबै शक्ति केन्द्रित गरेपछि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपर्यो । जनस्तरमा असन्तुष्टी भए पनि सेनाले त्यसको पहलकदमी लिएर सन् २०१० फेब्रुअरी १८ मा सलोउ जिबोको नेतृत्वमा भएको सैन्य विद्रोहमा राष्ट्रपति तान्डजालाई अपदस्थ गरियो ।
सन् २०११ को अप्रिलमा सेनाले निर्वाचन मार्फत् युशुफ महामडोउलाई नागरिक शासन जिम्मा लगायो । उनको १० वर्षको शासनकालमा सुरक्षा, विकास र शुशासन जस्ता विषयमा खासै प्रगति हुन सकेन । २ अप्रिल २०२१ देखि राष्ट्रपति बनेका मोहमद बाजोमलाई गत जुलाई २६ मा पुनः राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष अब्दुर रहमानले अपदस्थ गरेपछि २८ जुलाईदेखि आफुलाई नै राष्ट्रिय काउन्सिल फर सेफगार्ड अफ द होमल्याण्डको नेताको रूपमा घोषणा गरेर शासन हातमा लिएका छन् । उनी २०११ देखि निजेरियन राष्ट्रपति गार्डका प्रमुख समेत थिए ।
निजेरका चुनौतीहरूमध्ये सुरक्षा एक मुख्य समस्या हो । माली, लिबिया र बुर्किनाफासो जस्ता देशहरूसँग सीमाहरू जोडिएकाले बोको हराम, अल–कायदा इन द इस्लामिक मगरेब र ग्रेटर सहारामा इस्लामिक राज्य लगायत विभिन्न चरमपन्थी समूहहरूको आतङ्ककारी गतिविधिका कारण त्यहाँको सुरक्षा थप संवेदनशील बन्दै गएको हो । यसले थुप्रै क्रस–बोर्डर खतराको सामना गर्नुपर्ने अवस्था उत्पन्न गरायो ।
केही क्षेत्रमा पानी र पशुपालनका लागि चरनको खर्कलगायत प्राकृतिक स्रोतहरूमाथिको प्रयोग गर्ने द्वन्दले स्थानीय तनाव र हिंसा हुँदै आएको छ । विभिन्न सम्प्रदायबीच अन्तरसाम्प्रदायिक द्वन्दहरू पनि अर्को ठूलो चुनौती बनेको बताइन्छ । ती सुरक्षा चुनौतीलाई सम्बोधन गर्न निजेरीयाली सरकार, क्षेत्रीय संगठनहरू र अन्तर्राष्ट्रिय साझेदारहरूद्वारा जति प्रयास गरिएपनि प्रभावकारी र स्थायी हुन सकेनन् ।
फ्रान्सको सक्रिय सहभागिता र सहयोगमा निर्माण गरिएको जी फाइभ (बुर्किनाफासो, चाड, माली, मौरिटानिया र नाइजर) को संयुक्त बलमा रहेका देशहरुबीच आतंकवाद विरोधी क्रियाकलापमा सहकार्य हुने गर्दछ । त्यस्तै सो क्षेत्रमा पछिल्लो समय अमेरिका, चीन, रुस र छिमेकी राष्ट्रहरुको पनि चासो र सक्रियता बढेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा आतंकवादसँग लड्न र क्षेत्रीय रुपमा शान्ति शुरक्षा कायम गर्न निजेरसँगको सम्बन्ध बढाउन चाहेको देखिन्छ । त्यस्तै चीन पनि आफ्नो अन्तराष्ट्रिय प्रभाव विस्तारका लागि बिबिध रुपमा निजेर र वरपरका देशमा विशेषतः आर्थिक लगानी र पूर्वाधार परियोजनाअन्तर्गत खानी र निर्माण जस्ता क्षेत्रमा संलग्न छन् ।
अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनको निम्ति केही समयदेखि रूस र निजेरले कूटनीतिक सम्बन्ध कायम राखेका छन् । प्रत्यक्ष रुपमा नदेखिएपनि आन्तरिक रुपमा रूसी कम्पनीहरूले निजेरको यूरेनियमलगायत खनिज स्रोतहरू अन्वेषणमा चासो देखाएका छन् । रुससँग महत्वपूर्ण आणविक उद्योगहरु भएका कारण यूरेनियम स्रोतहरूमा पहुँच पुर्याउन खोज्नु रणनीतिक रूपमा महत्वपूर्ण हुनसक्छ । रुसले निजेरलाई विभिन्न शीर्षकमा नियमित सहयोग गर्दै आएको छ । अहिलेको सैनिक शासकसँग रुसले प्रयोग गर्दै आएको वाग्नर सेनाको विशेष सम्पर्क हुनसक्ने पश्चिमाहरुको अनुमान छ । त्यसैले पछिल्लो सैनिक विद्रोहमा रुसको हात हुनसक्ने आकलनसमेत गरिएको छ ।
विद्रोही र सैनिक विद्रोह समर्थकहरुले फ्रान्सको झण्डा जलाउनु, रुसको झण्डा बोक्नु, फे्रञ्च राष्ट्रपति म्याक्रोनलाई तथानाम गाली गर्दै पुटिनको जय जयकार गर्नु यसको प्रमाण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकामा दिनानुदिन नयाँ खालका समस्याहरु थपिनु र कतिपय देशमा विद्रोह र गृहयुद्धनै शुरु भइसकेकाले धेरैथरी अनुमान गरिएको हो ।
यता युक्रेन र रुसबीचको समस्या समाधान हुने कुनैपनि संकेत देखिएको छैन । ठूला राष्ट्रहरुको ध्यान अफ्रिकातर्फ पनि केन्द्रित भएमा युक्रेनमाथि रुसको थप आक्रमण हुन सक्ने एकथरीको विश्लेषण छ । समग्रमा विश्वले निकट भविष्यमा ठूलो युद्धको सामना गर्नुपर्ने अनुमान सत्य साबित हुने सम्भावना बढ्दै गएको भन्न थालिएको छ ।
टिप्पणीहरू