अटेर गर्ने शासक, सास्ती भोग्ने आमनागरिक

अटेर गर्ने शासक, सास्ती भोग्ने आमनागरिक

सुतोमु यामागुची त्यतिबेला २९ वर्षका थिए । मित्सुबिसी हेभी इण्डष्ट्रिजका लागि तेलको ट्यांकर डिजाइन गर्थे । अगष्ट महिना शुरु भएपछि हिरोसिमाबाट नागासाकीमा सरुवा भयो । सन् १९४५ को ६ अगष्टका दिन बिहानै आफ्ना दुई साथीकासाथ हिरोसिमा बस स्टेशनतर्फ जाँदै थिए । त्यति नै बेला केही सामान छुटेको सम्झना भयो । साथीहरुलाई छोडेर सामान लिन फर्के । त्यो दिन मौसम खुला थियो । सबै आ–आफ्नो काममा व्यस्त थिए । हिँड्दै गर्दा उनले आकाशमा अमेरिकी सेनाको विमानबाट दुईवटा प्यारासुट झर्दै गरेको देखे । लगत्तै ठूलो बिष्फोट भयो । प्यारासुटबाट मान्छे होइन, बम खसालिएको रहेछ । उनको आँखा लामो समय अनायस बन्द भयो । आँखा खोल्दा सबैतिर अँध्यारो थियो । शरीरमा गम्भीर चोट थियो । चोटका बाबजुद उनी नागाशाकीतर्फ लागे । उनलाई थाहा थिएन, त्यहाँ पनि यस्तै भयंकर बिष्फोटले प्रतिक्षा गरिरहेको छ । ९ अगष्टमा कम्पनीको कार्यालय पुग्दा शरीरमा थुप्रै ब्यान्डेज थियो । उनी आँखा देख्नसक्ने भइसकेका थिए । कम्पनीका निर्देशकले एउटा बमले पुरै शहर बर्बाद गर्न नसक्ने तर्क गर्दै थिए तर, त्यति नै बेला  नागासाकीमा पनि बम खस्यो । सन् २००५ मा क्यान्सरबाट उनका छोराको निधन भयो । किड्नी र कलेजोमा समस्या देखिएपछि सन् २००९ मा श्रीमतीको । यो सबै अमेरिका खसालेको परमाणु बम बिष्फोटको परिणाम थियो । बम हमलामा बाँचेकाहरु प्रायः सबै जीवनभर यस्ता समस्याबाट ग्रस्त भए ।

बुन हासिजुमीको घर समुद्र नजिक थियो । उनी हरेक दिन आफ्नो घरको झ्यालबाट सूर्यास्तको मज्जा लिन्थिन् । आमा, दाजु, दिदीहरुसँगै बसेर रमाइलो गर्थिन् । उनलाई पुतली र फूल मनपथ्र्यो । १४ वर्षको उमेर पुग्दा नपुग्दै आफूलाई कविको रुपमा देखिसकेकी थिइन् । दोश्रो विश्वयुद्ध मच्चिरहेको थियो । त्यसैले देशमा केही भइरहेको छ भन्ने थाहा थियो । पुरुषहरु युद्ध लड्दै थिए । त्यसैले घर तथा कार्यालयका काममा महिला तथा किशोरीले खट्नुपरेको थियो । त्यो दिन बुन हिरोसिमाको सञ्चार मन्त्रालयमा कामका लागि जाँदै थिइन् । कार्यालयको तेस्रो तल्लाको झ्यालमा बसिरहेकी थिइन् । एउटा ठूलो आवाज आयो । लाग्यो– पृथ्वीमा सूर्य खसेको छ । चारैतिर इन्द्रेणीजस्तो रंग फैलिएको थियो । अरु दृष्य हेर्न नपाउँदै बेहोश भइन् ।  ब्युँझदा अर्कै कोठामा थिइन् । टाउकोमा चोट लागेको थियो । एउटी महिलाले अस्पताल लान मद्दत गरिन् । बाटोमा देखिन्– शहर पहिलेजस्तो छैन । त्यहाँ कुनै ठूला भवन थिएनन्, रुख र पुतलीहरु थिएनन् । जताततै लाशको थुप्रो मात्र । चारैतिर घाइतेहरु चिच्याएको आवाज । एक्कासी आमाको सम्झना आयो । आमाको चिन्ताले भोलिपल्ट अस्पतालबाट निस्केर सीधै आफ्नो बस्तीमा गइन्, त्यतिञ्जेल पनि त्यहाँ आगो निभिसकेको थिएन । पाइला चाल्दा होश पुर्‍याउनुपर्ने अवस्था थियो । बस्तीमा उनको भेट तीन जनासित भयो । छिमेकी काकी, आफ्नै आमा र बहिनी । बम आक्रमणबाट घाइते बनेका दाजुको मृत्यु भइसकेको थियो । छोरीलाई जीवित देखेपछि आमा र बहिनी निकै खुशी भए ।

२० वर्षको उमेरमा उनले हिरोसिमामा छाडिन् । चार वर्षसम्म उक्त घटनाको विषयमा कसैसित केही बोल्ने हिम्मत नै गरिनन् । निकै कमजोर र डरपोक बनिसकेकी थिइन् तर परिवारले उनलाई त्यो कहालिलाग्दो घटनाबारे खुलेर भन्न प्रेरित गर्‍यो । उक्त घटनाले उनलाई कवि बनायो । बमले फैलाएको विकिरणले शरीर पछिसम्म दुख्ने गरेको थियो । पछि बिहे भयो । तीन छोरा र चार नाति–नातिनी भए । उनी उक्त घटनाबारे बेलाबेलामा उनीहरुसँग बोल्छिन् । यी सबै घटना र पीडाका बाबजुद उनी ती व्यक्तिलाई घृणा गर्दैनन् जसले हिरोसिमामा बम खसाल्न लगाए । तर, मानिसले नै मानिस समाप्त गर्नेगरी परमाणु बम खसालेको घटनालाई भने उनले बिर्सन सकेकी छैन ।

द्वितीय विश्वयुद्धकालमा सम्पूर्ण विश्व दुई गुटमा बिभाजित थियो । एकातिर जर्मनी, जापान, इटली र अर्कोतिर ब्रिटेन, चीन, रूस, अमेरिका आदि । ब्रिटेनको सहमतिमा अमेरिकाले ६ अगस्तमा हिरोसिमा र ९ अगस्तमा नागासाकीमा गरेको बमबारीमा लगभग अढाइ लाखभन्दा बढी जापानी नागरिकको मृत्यु भएको थियो । सबैभन्दा दुःखको कुरो मारिनेमा सबैभन्दा बढी सर्वसाधारण थिए । विश्वयुद्धको शुरुमा अमेरिका संलग्न थिएन । तर युद्ध शुरु भएको लगभग २ वर्षपछि सन् १९४१ मा जापानले  होनोलुलुस्थित अमेरिकी सैनिक अखाडा पर्ल हार्बरमाथि आक्रमण गर्‍यो । आक्रमणमा सयकडौं बिमान र पानी जहाजसहित २ हजार सैनिक मारिए । यो घटनापश्चात अमेरिका पनि युद्धमा संलग्न हुन पुग्यो । उसले सन् १९४५ को सुरुवातमै परमाणु बमको निर्माण शुरु गरिसकेको थियो । यसबीच ८ मे १९४५ मा जर्मनीले आत्मसमर्पण गर्‍यो । जापानलाई पनि आत्मसमर्पण गर्न मित्रराष्ट्रले भन्यो, तर सम्पूर्ण एशियालाई आफ्नो नियन्त्रणमा पार्ने लक्ष्यसहित अघि बढिरहेको जापानले मित्रराष्ट्रको आदेशलाई टेरेन । यसपछि अमेरिकी सरकारले मरिन युनाइटेड स्टेट आर्मी एयर फोर्सेजलाई बोइङ बी २९ लडाकू बिमानमा परमाणु बम ‘लिटल ब्वाइ’ लोड गर्न लगायो । र, विमानले ६ अगस्तको बिहान ८ बजेर १५ मीनेटको समयमा पहिलो परमाणु बम हिरोशिमामा खसाल्यो । अमेरिकाले त्यहाँ यसकारण बम खसाल्न आदेश दियो, किनभने यो शहर जापानीहरुको घनावस्ती बन्दै गएको, औद्योगिक विकास हुँदै गएको र सेनाको बलियो उपस्थिति रहेको स्थान थियो ।

‘लिटिल ब्वाइ’ ४ हजार किलो तौलको थियो अनि त्यसभित्र युरेनियमको मात्रा ६५ किलो थियो । बम लगभग १५ किलो टन टिएनटी बराबरको उर्जासाथ बिष्फोट भयो । बम जमिनभन्दा १ हजार ९ सय फुट माथि नै बिष्फोट भएको थियो, जसको कारण एकैपटक शहर धुँवाले ढाकिन पुग्यो । त्यहाँको तापमान १ लाख डिग्री सेल्सियस पुग्यो अर्थात सूर्यको प्रकाशभन्दा धेरै । एक सेकेण्ड नबित्दै आगोको ज्वाला ९ सय फुटसम्म बढ्यो, बिष्फोटको असर १० माइलसम्म फैलियो भने ३७ माइलसम्मकाले आवाज महसुस गरे । त्यो क्षेत्रफलभित्र सबै भवनका झ्यालहरु फुटे, शहरको दुई तिहाइ भवन खण्डहरमा बदलियो । करिब ३० मिनेटपछि शहरमा घनघोर पानी पर्‍यो । यो ‘कालो वर्षा’ धुलो, विष र अत्यधिक रेडियोधर्मीयुक्त कणले भरिएको थियो । हावाले यो वर्षालाई वरिपरीको क्षेत्रसम्म पुर्‍यायो । चारैतिर प्रदुषण फैलियो । नागरिक हावामा फैलिएको अत्यधिक तापमान र ज्वलनशील पदार्थको कारण मैनबत्ती सरह पग्लिन थाले । नागरिकहरु सडकमा दैडिन थाले । उनीहरु नांगै थिए, सबैको कपाल आगो र अधिकतम तापमानले जलिसकेको थियो भने पोलेको कारण छाला शरीरमा झुन्डिन थालेको थियो । सबै जना ‘पानी पानी’ भन्दै नदीतर्फ दौडिँदै थिए । हजारौं युवा, बूढाबूढी, केटाकेटी हेर्दाहेर्दै कंकालमा परिणत भए । तत्काल ९० हजारले ज्यान गुमाए भने १ लाख सख्त घाइते भए । सन् १९४५ को अन्त्यसम्म मर्नेको संख्या १ लाख ६६ हजार पुग्यो । जबकि त्यतिबेला शहरको जनसंख्या २ लाख ५५ हजार थियो । शहरको सबै बालिनाली नष्ट भएको मात्र होइन दशकौंसम्म उब्जाउ नहुने बन्जर भूमिमा परिणत भयो । बचेका नागरिक पनि अधिकांश अपा¨ बने, क्यान्सरलगायत अनेक रोगबाट ग्रसित भए ।

३ दिनपछि अगष्ट ९ बिहानको ११ बजे फेरि अर्को शहर नागासाकीमा पनि अमेरिकाले परमाणु बम खसाल्यो । ‘फ्याट म्यान’ नामक उक्त बमले पनि नागासाकीमा हिरोसिमामा मच्चाएकै सरहको हाहाकार मच्चायो । हि“डिरहेका युवा, केटाकेटी, बूढाबूढीको शरीरबाट छाला र मासु पग्लिन थाल्यो, हेर्दाहेर्दै उनीहरु कंकाल बने । बमको असरले तत्काल ४० हजारको ज्यान गयो ।  अमेरिकाले सोचेअनुरुप नागासाकीमा बमले कम असर गर्‍यो  किनभने बम एउटा घाँटीमा खस्यो र असर फैलिन पाएन । यसको फैलावट मात्र १ दशमलव ८ किमीसम्म मात्र भयो । तैपनि ४० प्रतिशत भवन ध्वस्त भयो । वर्षको अन्त्यसम्ममा मर्नेको संख्या ८० हजार पुग्यो । बम खसेको दुबै शहरमा बिकिरणको कारण पछि जन्मेका बच्चाहरु समेत अपा¨ भए । नागासाकीमा बम खसेको ६ दिनपछि जापानले बिनाशर्त मित्रराष्ट्रसमक्ष आत्मसमर्पण गयो । जापानले आत्मसमर्पण गरेलगत्तै अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमेनले खुशी हुँदै भनी ‘म यो दिनको प्रतिक्षामा थिएँ ।’ उनले हिरोसिमा, नागासाकीमा भएको मानवीय बिनासलगायत युद्धले पुर्‍याएको क्षतिबारे भने एक शब्द बोलेनन् । 

(सन्दर्भः अगष्ट ६/९)
 

टिप्पणीहरू