पुलिसदेखि देउतासम्मले नसुनेको यो पीडा

पुलिसदेखि देउतासम्मले नसुनेको यो पीडा
सुन्नुहोस्

यो देशका न्यायालय र प्रहरी प्रशासनले कति जना ‘लालबहादुर बिक’जस्ता सर्वसाधारणमाथि अन्याय गरिरहन्छ त्यसको हिसाब कहीँ–कतै छैन । अदालत र न्यायालयमा न्यायका तराजु लिएर बसेका श्रीमान्हरूको काम दूधको दूध र पानीको पानी छुट्ट्याएर न्याय दिने हो तर उनै श्रीमान्हरूको आदेशमा निर्दाेष व्यक्ति ९ महिनासम्म थुनिन्छन् । 

उनको न्यायका लागि सर्वसाधारण जुर्मुराएपछि बल्ल बिक खुला संसारमा आएका छन् । जसरी बिकलाई अदालतले फसायो उसैगरी मेरो श्रीमान्लाई समेत प्रहरी र अदालत प्रशासनले पुर्पक्षका लागि थुनामा पठाएको छ, त्यो पनि सल्टिसकेको दुई दशक अगाडिको केसमा । ठुल्ठूला हत्या अभियोग, भ्रष्टाचार मुद्दा लागेका तर राजनीतिक दलका संरक्षण पाएकाहरू खुलेआम हिँडिरहेका छन् । त्यस्ता भ्रष्ट र अपराधीलाई समात्न नसक्ने प्रहरी प्रशासन र न्यायालयले २० वर्षअघि स्कूल पढ्दाताकाको सानो हातपातको अभियोगमा सर्वसाधारण र गरिबको छोरालाई जेलमा लगेर कोचिरहेको छ । यो कस्तो कानुनी संरचना, यो कस्तो न्याय ? 

शीतल नगरकोटी हो मेरो नाम । माइती ललितपुरको बज्रबाराही नगरपालिका, टीकाभैरव लेले । विवाह भयो काभ्रेपलाञ्चोकका वसन्त हमालसँग । स्कूले शिक्षा पूरा गरेर बसिरहेका थिए, मामामार्फत चिनजान भएको हो वसन्तसँग । र, ०७३ सालमा काभ्रेपलाञ्चोक पाँचखाल हुक्सेका वसन्त हमालसँग विवाह बन्धनमा बाँधिएँ । घरको आर्थिक स्थिति दयनीय । पाखो पखेरो खोतल्दा र खोस्रँदा पनि खान पुग्ने स्थिति थिएन । परिवारमा खाने मुख बढ्दै थियो । बुवा आमा, तीन भाइको परिवार, घरको जेठो छोरा वसन्त । खाने मुख थपिँदै थियो । 

घरमा बसेर जीवन चल्दैनथ्यो धन कमाउने र सुख पाउने लालसामा राजधानी खाल्डोमा झर्‍यौँ । राजधानी खाल्डोमा को थियो र हाम्रो ? जीवनको रथ जसो–तसो गुडाइरहेका थियौँ । सोचेजस्तो सरल रेखामा कहाँ हिँड्छ र जीवन ? कहाँबाट हुरी आयो कहाँ पुर्‍याइदियो–सपना सबै । सपना थियो खुशीको संसार बसाउने तर राजधानीमा अभाव र दबाबका उपियाँले टोक्थे दिनदिनै । बिहेपछि परिवारको जिम्मेवारी थपियो वसन्तको काँधमा । औपचारिक शिक्षा एसएलसीसम्म थियो, दुबैको । न समाउने हाँगो न त टेक्ने ठाउँ नै ! जसोतसो सास अड्याउने माध्यम मजदुरी त गर्दै थियौँ । बिहेअगाडि साधारण चिनजानसमेत भएका वसन्त बिहे गर्दा पनि बिरानै थिए मेरा लागि । एकअर्काको मन बुझ्दै, चाहना बुझ्दै थियौँ । छोरी जन्मिइन् । एकल परिवार । काखमा छोरी । दुबै जना जागिर गर्दा छोरीलाई स्कूल लान र लैजान समस्या । त्यही कारण उनी पठाओ चलाउँथे, म एउटा अफिसमा काम गर्थें हाउस किपिङको । भर्खर पाँच वर्षमा टेकेकी छन्, छोरी । 

प्रहरी प्रशासनलाई के झोंक चल्यो १९ वर्षअगाडि नै सल्टिसकेको एउटा मुद्दामा जेठ तेस्रो साता कोठैबाट वसन्तलाई उठाएर लग्यो । श्रीमान्लाई प्रहरीले उठाएर लगेपछि घटनाबारे सोधपुछ गरेँ, बल्ल थाहा लाग्यो वसन्त स्कूल पढ्दै गर्दा फुटबल खेल्ने क्रममा सानो झैझगडा भएको रहेछ । त्यही झगडाको केसमा प्रहरीले नाबालक छोरीकै अगाडि उसको बुवालाई समाएर लग्यो, ठूलै अपराधीलाई पक्रिएझैँ गरेर । १७ वर्षको उमेर स्कूल पढ्दै गर्दाको झगडा, थाहा छैन फुटबल खेल्दा के–कसो भएको थियो । वसन्तका भाइहरूले बताएअनुसार वसन्तले महेश श्रेष्ठलाई पेटमा हानेका थिए रे, त्यतिबेला । घटनापछि वसन्त भागेका रहेछन् । महेश श्रेष्ठले टोल नै उठाएर हाम्रो घर घेर्न आएका थिए रे, त्यतिबेला । प्रहरीले मेरा ससुराबुवा लक्ष्मण लम्साललाई लगेछन् । महेशको उपचारमा लागेको खर्च सबै हामीले नै व्यहोरेका थियौं, त्यतिखेर । न त त्यसबखत भएको र व्यहोरिएको उपचार खर्चको बिल नै राखियो । प्रहरीले मिलापत्र गर्न दुबै पक्षलाई बोलाएको पनि थियो । सो समयमा मिलापत्र गर्नका लागि महेशहरूको तर्फबाट कोही आएनन् । यो प्रकरण यसै सकिएको थियो । अब सल्टियो होला भन्ठानेका थियौँ । 

तर, घटना भएको १९ वर्षपछि जेठ तेस्रो साता श्रीमान्लाई कोठाबाटै उठाएर लगेपछि खोज तलास गरेँ । किन र के कारणले प्रहरीले समात्यो भन्दा फुटबल खेल्दाको झगडा रहेछ भन्ने थाहा लाग्यो । दुई दशकअगाडिको घटना । यसका वादी भनिएका महेश युरोपियन मुलुक जापानमा पुगे । पाँच÷सात वर्ष उतै बसेर मनग्ये कमाएर फर्किए । राजधानीको इमाडोलमा घर जग्गा जमिन जोडेका छन्् । जापानबाट फर्किएको २ वर्षपछि मजदुरी गरेर खाने मेरा श्रीमान्लाई प्रहरीले पक्रेर लगेको छ । त्यो पनि सल्टिसकेको पुरानो केसमा । एउटा गरिबको छोरालाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएर पुर्पक्षका लागि थुनामा पु¥याइएको छ । जेठ २१ गते पाँच वर्षको कलिलो बच्चाको अगाडि उसको बुवालाई प्रहरीले पक्रेर लैजाँदा त्यो बच्चाको मनमा के खेल्ला ? सामान्य हेक्कासमेत राखेन प्रहरीले । कि प्रहरीका सन्तान छैनन् ? सन्तानको माया–ममता के हो भन्ने थाहा छैन प्रहरीलाई ? यो घटनापछि छोरी एकोहोरो हुन्छिन् । टोलाउँछिन् । खाना खान पनि छोडेकी छन् । 

उता, श्रीमान्लाई पुरानो र सल्टिसकेको केसमा प्रहरीले लगेर पुर्पक्षमा थुनामा हालेको छ । यता, काखेछोरी खाना खान छाडेकी छन् । एकोहोरो हुने र टोलाउने मात्र गर्छिन् । सासू र ससुरा दुबै मुटुका रोगी, त्यहीमाथि प्यारालाइसिसका बिरामी । आफ्नै छोरा यसरी काराबास हुँदासमेत भेट्न आउन सक्ने स्थिति छैन । एउटा गरिबको छोरा र श्रमजीवीलाई जेलमा सडाएर के पाउँछ प्रहरीले ? के पाउँछन् न्यायालयका श्रीमान्हरूले ? 

यो घटनापछि तीन पटक कारागारमा भेट्न गएँ । उनी आतिन्छन् । कसरी सम्झाउनु ? मेरो मन झनै आतिन्छ, बहकिन्छ । ‘भाग्य दाहिने भो र ईश्वरले पुकार सुनेछन् भने म छुट्नेछु । मैले गर्दै नगरेको अपराधको भागीदार हुनेछैन’, भन्छन् उनी । श्रीमान् छिटो फर्केर आउन् भनेर अहिलेसम्म सयौं देवीदेवतालाई भाकल गरेँ । मान्छेले नसुनेको कुरा देवताले के सुन्ला र ? तर, मेरो प्रार्थना त देवीदेवताले अहिलेसम्म पनि सुनिदिएनन् । यो घटनापछि महेशलाई फोन गरेको थिएँ उनले धरौटीमा छाड्न लगाउँछु भन्थे तर उल्टै प्रहरीले पुर्पक्षका लागि थुनामा लगेर हालेको छ । लाग्छ, पक्कै पनि प्रहरी र न्यायालयले कुनै राजनीतिक दबाबमा परेर यो काम गरेको हुनुपर्छ । होइन भने दुई दशकअगाडि सल्टिसकेको केसमा प्रहरी र न्यायालयले किन हात हाल्छ ? किन मान्छे समात्छ ? यो प्रकरणपछि कतिले हाँसेर उडाउँछन् । कतिपयले सहानुभूति प्रकट गर्छन् । 

महिनामा मुस्किलले १२÷१५ हजार कमाउँछु । यो रकमले काठमाडौंमा टिक्नु छ । छोरीलाई पढाउनु छ । दीर्घरोगी बुवा, अमाको औषधोपचार गर्नु छ । थाहा छैन मुद्दा कसरी लड्न सकिन्छ । मुद्दा लड्न के–के प्रक्रिया पूरा गर्नुपर्छ ? मेरो निर्दाेष श्रीमान्लाई कसरी जेलबाट छुटाउन सकिन्छ ? मुद्दा लड्न मसँग पैसा छैन ।

जिल्लामै मुद्दा लड्न के गर्नुपर्छ ? पुनरावेदनमा जान के गर्नुपर्छ ? कति पैसा लाग्छ केही थाहा छैन । भन्छन्, सास छउञ्जेल आस । न्याय पाउँछु, नेपालमा न्याय मरेको छैन भन्ने आशा र विश्वास अझै बाँकी छ । वसन्तबिना शून्य छ, यो घर, यो शहर । सबै बिरानो र फिक्का लाग्छ उनको अनुपस्थितिले । मान्छेबाट हुन सक्ने सबै विधि अपनाइसक्यौँ । ईश्वर पुकार्दा पुकार्दै थाकिसक्यौँ । अब जे गर्छन् ईश्वरले नै गर्छन् । यस्तै सोच्छु, सम्झिन्छु र चित्त बुझाउँछु । उनकै पर्खाइमा छन् आँखाहरू । कसैको प्रतिशोधमा जेलमा पुगेका छन्् वसन्त । जसरी लालबहादुर बिकलाई ९ महिनापछि कालकोठरीबाट बाहिर निकाले अभियन्ताहरूले उसैगरी कोही वकिल, अधिवक्ता नै भगवान् बनेर आउँछन् मेरो जीवनमा र न्याय दिन्छन् भन्ने आशा र विश्वास गढेको छ मनमा ।
 

टिप्पणीहरू