रातारात पहाडका जंगल रित्याइन थाले

रातारात पहाडका जंगल रित्याइन थाले

०६९ चैत १ देखि ०८० भदौ १३ सम्म २९५३ वटा एग्रो कम्पनी दर्ता ? नक्कली एग्रो (कृषि)कम्पनी दर्ता गरेर केही मारवाडी व्यापारीले अचम्मैसँग तराई, मधेशका सालको जंगल खरिद गरिरहेको विवरण जनआस्थाले प्राप्त गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कृषि फर्म दर्ता गरेर लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीमा मात्रै झण्डै ५ दर्जन कम्पनीले हजारौँ वर्ग किमि जग्गा खरिद गरिसकेको विवरण भेटिएको छ । 

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेका विभिन्न स्थानमा एग्रो कम्पनीको कार्यालय रहेको देखाई ५७ वटा फर्मले एकै पटक अर्घाखाँची जिल्लामा २ हजार ९ सय ७३ रोपनी ८ आना बराबरको आवादी जग्गा खरिद गरेको विवरण प्राप्त भएको छ । 

केही मारवाडी व्यापारीले अरुका नाममा एग्रो फार्म दर्ता गरी एउटै जिल्लामा झण्डै तीन हजार वर्गमिटर बराबरको आवादी जग्गा खरिद गरेको पाइएको छ । यो धन्दामा अगाडि सारिएका पात्र हुन्, काजीमान रायमाझी । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अहिले जेल पुगेका एमाले नेता टोपबहादुर रायमाझीका आफन्त रहेको बताइन्छ । काजीबहादुरकै नाममा भूमिकास्थान १० अर्घाखाँचीमा २३ हजार ३२५ वर्गमिटर आवादी जग्गा खरिद गरिएको छ ।

काजीमानलाई अगाडि सारेर काठमाडौं, भक्तपुर, ललितपुरका कम्पनीको नाममा पछिल्लो अवधिमा ५६ वटा एग्रो फार्म दर्ता गरेर एउटै जिल्ला अर्घाखाँचीमा १५१ दशमलव २७ हेक्टर जग्गा खरिद गरिएको र एउटै ठेगाना, काठमाडाैं १३ कलंकी राखिएको छ । ती अधिकांश एग्रो कम्पनीले अदुवा, कागती, हलेदोलगायत खेती गर्ने भन्दै अर्घाखाँची मालपोत कार्यालयबाट राजीनामा पास गराएर जग्गा लिएका हुन् ।

अदुवा, हलेदो खेती गर्न भन्दै जग्गा नामसारी गराइएको भए पनि त्यसको मक्सद भने फरक रहेको बताइन्छ । मालपोत कार्यालय अर्घाखाँचीका एक कर्मचारीले आश्चर्य मान्दै भने– यही वर्षको साउन यतामात्र यसैगरी ४० वटा कम्पनीले त्यहाँ राजीनामा पास गराएर जग्गा हात पारिसकेका छन् । 

यसरी आवादी जग्गा किन्न अर्घाखाँची झर्नेमा ८० साल जेठ २१ गते कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता भएको कम्पनी बसुन्धरा एग्रो प्रालि छ । उक्त कम्पनीले प्रेमनारायण भुषालबाट कित्ता नम्बर ९२८ मा रहेको ३३३० वर्गमिटर र कित्ता नम्बर ९०१ बाट ४४०५ वर्गमिटर आवादी जग्गा खरिद गर्न भ्याएको छ । यस्तै, ०८० जेठ १ गते दर्ता भएको धन्वन्तरी एग्रोले २९७० वर्गमिटर आवादी जग्गा किनेको छ । यही कम्पनीले पदम बेल्बासेको नाममा रहेको कित्ता नम्बर १२११ बाट ५१९० र कित्ता नम्बर १२५९ बाट ३५० वर्गमिटर आवादी जग्गा राजीनामा पास गरेर लिइसकेको छ । यस्तो खेतीपातीमा इष्टर्न इनर्जी कम्पनीले चुरामणि घिमिरेबाट ३५२० वर्गमिटर जग्गा राजीनामा पास गरेर लिइसकेको विवरण भेटिएको छ । 

यस्तै नरेन्द्र रायमाझीबाट सालिन एग्रोले ८ हजार ७ सय ५ वर्गमिटर जग्गा पास गरेको छ । उनै नरेन्द्रबाट शुभांकर एग्रोले ९८१५ वर्गमिटर आवादी जग्गा हात पारेको छ । यस्तै गोयल इन्भेष्टमेन्ट एण्ड एग्रोले भविश्वर घिमिरेबाट तीन कित्ताबाट ९६५० वर्गमिटर जग्गा राजीनामा पास गराइसकेको भेटिएको छ । प्रकृति होल्डिङ एण्ड एग्रो इन्भेष्टको नाममा ५८१५ वर्ग फिट, पृथ्वी फार्म सोलुसनले दुई व्यक्तिसँगबाट २३ हजार १० वर्गमिटर आवादी जग्गा खरिद गर्न भ्याएको छ । गुराया फुड प्रोडक्स प्रालिले ४५६० वर्गमिटर आवादी जग्गा राजीनामा पास गरेर लिएको विवरण छ । यसका अलावा आलमदेवी एग्रो फर्माले ८८५५ वर्गमिटर जग्गा अर्घाखाँची मालपोतबाट राजीनामा पास गराई आफ्नो नाममा पारेको छ ।

मालपोतको विवरण केलाउँदा सबैभन्दा बढी जग्गा आनन्द श्रेष्ठकी छोरी, विशालनारायण भारीको पत्नी भावना (धुलिखेल ५, काभ्रेपलाञ्चोक)को नाममा ४० हजार ६३६ वर्गमिटर जग्गा पास भएको देखिन्छ । यस्तै, बनेपा काभ्रेकी कल्पना शर्माको नाममा ३८ हजार ०७१ वर्ग मीटर जग्गा कित्ताकाट गरेर लिइएको छ । काठमाडौं १३ कलंकी ठेगाना राखेर विभिन्न १३ वटा फर्म दर्ता गरी उनीहरूले ३० हजार वर्गमिटरभन्दा बढीका दरले जग्गा नामसारी गराएर लिएका छन् । त्यहाँ सबैभन्दा कम जग्गा लिनेमा शशीबहादुरकी छोरी सौर्या सिजापतिको नाममा ४३५ वर्गमिटर जग्गा नामसारी भएको भेटिन्छ । उनीहरूले पछि फिर्ता गर्ने शर्तमा अहिले केही लाख रकम कृषकलाई दिएर आवादी जग्गा खरिद गरेको बताइन्छ । यो त एउटै अर्घाखाँची जिल्लाको मात्र विवरण हो । 

मालपोतका कर्मचारीले पछिल्ला तीन महिनामा तराई र पहाडी क्षेत्रमा भएको जग्गा खरिद–बिक्री आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् । विशेष गरी नवलपरासी (पूर्व), मकवानपुर, उदयपुर, कैलाली, पाल्पा, डडेलधुरालगायत क्षेत्रमा समेत यसैगरी नक्कली कम्पनी खडा गरी आवादी जग्गा खरिद भइरहेको छ । तराईसँग सीमा जोडिएका ती क्षेत्रका आवादी पहाडै किन्नुको कारण हो, रुखको कटानी खुला गर्न खोजिनु । । माछापुच्छ्रे बैंकको पूर्वअध्यक्ष रहिसकेका मन्त्रीलाई प्रभावमा पारेर सालको रूख कटानीसम्बन्धी प्रस्ताव क्याबिनेटमा पठाई स्वीकृत गराउने र गोलिया तथा चिरा बेची अर्बौं कमाउने धन्दा यतिबेला गुप्त रूपमा चलिरहेको छ । यसका लागि केही मारवाडी व्यापारीले २ अर्ब लगानी गरिसकेको स्रोतको दाबी छ । राज्यले साल, सतीसाल, विजय साल, ओखर प्रजातिका रुखहरू कटान, ओसार, पसार र विदेश निकासी गर्न प्रतिबन्ध लगाउँदै आएकोमा मन्त्री वीरेन्द्र महतोमार्फत आवादी जंगलका सालको रूख कटानी प्रतिवन्ध फुकुवा गर्ने गरी वन मन्त्रालयबाट प्रस्ताव तयार हुँदै छ । 

वन कर्मचारीका अनुसार गोलिया सालको रोयल्टी रेट ए वर्गको प्रति क्यु फिट १ हजार तोकिएको छ भने बी श्रेणीको सात सय, सी ग्रेडको पाँच सय र डीको २ सय ५० छ । खसी जिउँदो धार्नी तथा किलोमा बेच्दा नाफा आर्जन भएझैँ गोलिया सालको काठ चिरेर बेच्दा प्रतिक्युफिट ५ हजारसम्म लिन सकिन्छ । एउटै गोलिया कम्तीमा ६ हजारसम्म बिक्री वितरण गर्न सकिने भएपछि मारवाडी व्यापारीले नक्कली कम्पनी खडा गरी जग्गा खरिद गरिरहेको र जसमा २ अर्ब लगानी गरेर कम्तिमा २० अर्ब कमाउने योजनाअनुरूप काम गरिरहेको बताइन्छ ।
 

टिप्पणीहरू