सिडिओ कार्यालयमा अब ‘विद्युतीय गुनासो पेटिका’

सिडिओ कार्यालयमा अब ‘विद्युतीय गुनासो पेटिका’
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय, गोरखाले ‘विद्युतीय गुनासो पेटिका’ सञ्चालनमा ल्याएको छ । सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउनका लागि प्रशासन कार्यालयले ‘विद्युतीय गुनासो पेटिका’ प्रयोगमा ल्याएको हो । 

सेवाग्राहीहरुले आफ्ना उजुरी तथा गुनासोहरु उक्त पेटिकामार्फत राख्न सक्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । त्यस्तै, प्रशासनलाई कुनै सुझाव दिनुपरेमा त्यसैमार्फत पठाउन उनले आग्रह गरेका छन् । सार्वजनिक विकास निर्माण, सार्वजनिक सम्पत्ति अतिक्रमणलगायतका विषयमा पनि जानकारी गराउन सकिने उनको भनाइ छ । 

‘गुनासो पेटिकामा जो कोहीले जिल्ला प्रशासन कार्यालय, गोरखाले प्रदान गर्नुपर्ने सेवाका साथसाथै जिल्लाभित्रका सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरु राख्न सक्नुहुनेछ । यहाँहरुको गुनासो र सुझावहरुलाई अमूल्य सम्पत्ति र मार्गदर्शनको रुपमा लिई जिल्लाको सेवा प्रवाहमा सुधारको लागि प्रयोग गरिनेछ’, जारी सूचनामा उल्लेख छ । 

सो पेटिकामा आउने गुनासो तथा उजुरीहरु प्रमुख जिल्ला अधिकारीको पहुँचमा मात्र रहने प्रशासनले स्पष्ट पारेको छ । त्यस्तै, उजुरीकर्ता तथा गुनासोकर्ताको गोपनियताको हकलाई पूर्ण रुपमा संरक्षण गर्ने भनिएको छ ।

टिप्पणीहरू