बादलको कसरी होला व्यवस्थापन

बादलको कसरी होला व्यवस्थापन

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेललाई प्रथम उपाध्यक्ष बनाउने भएपछि प्रचण्डको साथ छाडेर बसेका रामबहादुर थापा बादललाई के दिएर चित्त बुझाउने हो भन्ने सवाल खडा भएको छ । पार्टीमा पौडेलभन्दा बादललाई सिनियर मानिएको छ ।

पौडेल र गुरुङसँग महत्वपूर्ण पदमा सम्झौता गर्दा अहिलेका महासचिव शंकर पोखरेल र उप महासचिव प्रदिप ज्ञवालीको व्यवस्थापन कसरी हुने हो भन्ने जिज्ञासा पनि ओलीपक्षधरबिच नै उठ्न थालेको छ । शंकर पोखरेलको पक्षमा लबिङ गर्न विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई, विशाल भट्टराई, हिक्मत कार्कीलगायतका नेताहरु खटिएको स्रोतको दावी छ । यी सबै नेतालाई फण्डिङ गर्ने काम पार्वत गुरुङ्ले गरेको बताइन्छ।

महाधिवेशन प्रतिनिधिमा भूगोलबाट आएका नेताहरु धेरैजसो नखुलेका भए पनि कतिपयले ओलीको तस्वीर प्रयोग नगरी तय गरिएको नारा भने उल्लेख गरेको बताइन्छ । महाधिवेशन प्रतिनिधिका रुपमा केन्द्रीय समितिले ५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । अध्यक्ष ओलीले एकलौटी फाइदाको रुपमा प्रयोग गर्ने सम्भावना अब झन् बढेको छ । मधेश प्रदेशका नेता रघुबीर महासेठ उपयुक्त अवसरको ताकमा रहेको बताइन्छ । 

ओलीले च्यासलमा लोगो सार्वजनिक गर्ने क्रममा निकै नरम बोलेको अनुभूति सहभागीहरुले गरेका छन् । त्यसबखत उनले जे गरे पनि सल्लाहले गरौं भनेर कम्तिमा ३ पटक बोल्न भ्याएका थिए । एकअर्कालाई गाली नगरौं, शिष्ट भाषा प्रयोग गरौं भन्दै नरम अभिव्यक्ति दिएका थिए । यसले पनि उनी आउने चुनौतीसँग निकै डराएको आंकलन हुन थालेको छ । ओलीको यस्तो अभिव्यक्ति आइरहँदा उपाध्यक्ष रामबहादुर थापा बादलले भने एकझप्को निन्द्रा मञ्चमै पु¥याउन भ्याएका थिए । ओलीले जोशिलो भाषण गरेका भए निन्द्रा लाग्दैनथ्यो होला तर उनको नरम भाषणवीच अरु स्रोताले पनि झप्की हान्न भ्याएको बताइन्छ । ईश्वर पोखरेललाई भीम रावलजस्तै बनाई दिन्छु भने पनि उनको मतले ८ सय नाघ्ने अवस्था रहेपछि अध्यक्ष ओली नरम देखिन बाध्य भएको बताइन्छ । हजार मत ल्याएर पोखरेल हारेको अवस्था पनि ओलीलाई पार्टी चलाउन निकै सकस हुने छ ।

परशुराम बस्नेतजस्ता डनलाई बिराटनगरमा उनकै कार्यकर्ताले हातपात गर्ने दिन पनि आए । पार्टीभित्र अहिले माथिमाथि तन्नेरी भए पनि तलतल ओलीको नाम लिएर चुनावमा भोट माग्न सकिँदैंन भन्ने कुराले राम्रोसँग घर गरेको देखिन्छ । यसै कारण अहिले ओलीको पक्षमा खुल्नेहरुले विपक्षमा अभिमत प्रकट नगर्लान् भन्न सकिन्न । ओलीलाई अघि सार्दै भोट माग्न जाँदा निरंकुंश हुन खोजेको, दमनकारी भएको आदि आरोपहरु फेस गर्नुपर्ने हुन्छ । त्यसबेला ओलीको बचाउ गर्ने कि आफ्नो बचाऊ गर्दै भोट माग्ने ? त्यतिखेर उनीहरुले पार्टी वा ओलीमध्ये कसलाई जोगाउने भन्ने सवालको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । 

– उमेशकुमार दवाडी​​​​​​​

(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू