यातनाशिविरकी ती सुन्दरी

यातनाशिविरकी ती सुन्दरी

फ्रान्सी राबिनेकको जन्म तत्कालीन चेकोस्लोभाकियामा भएको हो । उनकी आमा राजधानी प्रागमा सैलुन चलाउँथिन्, फेसन र बुटिकको काम पनि गर्थिन् । बाबु इलेक्ट्रिकल इञ्जिनियर । जब उनी पेटमा थिइन्, बाबुले स्वास्नीलाई गर्भ गिराउन दबाब दिए । फेरि छोरी जन्माउने डरले । तर, आमाचाहिँ मानिनन् । छोरीको जन्मपछि भने बाबुको मन बदलियो । छोरीका लागि कहिले के, कहिले के विद्युतीय सामग्री ल्याएर दिन थाले । फ्रान्सीले कलेज पढ्दापढ्दै फेशन डिजाइनको काम सिकिन् अनि १८ वर्षकै उमेरमा आमाको सैलुन सम्हालिन् । स्कि खेल्थिन् अनि नृत्य पनि गर्थिन् । 

सन् १९३२ मा जर्मनीमा नाजी पार्टी सत्तारुढ भएसँगै एडोल्फ हिटलरको महत्वाकांक्षा ह्वात्तै बढ्यो । उनले छिमेकी मुलुकमाथि गिद्दे दृष्टि लगाउन थाले । र, सन् १९३८ मै चेकोस्लोभाकियाको कतिपय भूभाग कब्जा जमाउन सफल भए । सन् १९३९ को मार्चसम्म प्रागलगायत सबै भूभाग जर्मनीको कब्जामा गयो । सन् १९४० मा २० वर्षको उमेरमा फ्रान्सीको बिहे एक जना उत्साही यहुदी युवक जोए सोलारसित भयो । लगत्तै अर्को वर्षको शुरुवातसँगै जर्मन सेनाले यहुदीहरूलाई समात्दै यातना शिविरमा पठाउन थाल्यो । यसै क्रममा फ्रान्सी र आमाबुबा पनि पक्राउ परे किनभने उनीहरू पनि यहुदी थिए । उनीहरूलाई थेरेसिस्टाडमा पठाइयो । थेरेसिस्टाडमा जर्मन सेनाले सैन्य शिविर खडा गरी वरिपरि यस्तो एउटा गाउँ बसाल्यो, जहाँ अन्यत्रबाट पक्राउ गरी ल्याइएका गरिब यहुदीलाई राखिन्थ्यो । त्यहाँ राखिएका ८८ हजार यहुदीमध्ये ३३ हजारको मृत्यु भोकमरी र विभिन्न रोगका कारण भयो भने बाँकीलाई अन्तै सारियो । पछि फ्रान्सीलगायत धेरैलाई नयाँ बसालिएको सोही गाउँमा राखियो । आमाबुबालाई चाहिँ सोभियत संघको मिन्स्क नजिकको मेली ट्रोस्टिनेटको शिविरमा पठाइयो, जहाँ उनीहरूको हत्या गरियो । 

यातना शिविरसहितको उक्त गाउँमा बस्दा फ्रान्सीले सिलाइको काम पाइन् । त्यसै पनि सधैँ चिसो मौसम हुने स्थान, कठ्यांग्रिने जाडोमा बाक्लो लुगा र सिरकको अभावमा धेरैले ज्यान गुमाए । फ्रान्सीले भने सिलाइको काम अरुलाई सिकाउने र खाना बनाउने कला अरुबाट सिकिन् । सीप जानेकै कारण खुँखार जर्मन सैन्य डाक्टर जोसेफ मेंगेलबाट पनि बचिन् । मेंगेल अमानवीय तरिकाले कैदीमाथि चिकित्सकीय परीक्षण गर्थे । जिउँदै चिरफार गर्थे । हानिकारक रसायनको सुइ दिन्थे । जथाभावी गरिने उनको परीक्षणले कत्तिको तत्काल ज्यान जान्थ्यो, कोही पागल हुन्थे, कोही नपुंसक त कसैको अंगभंग हुन्थ्यो । मेंगेलले आफ्नो परीक्षणका लागि सबै कैदीलाई नांगै उभिन लगाउँथे । एउटा परीक्षणको क्रममा फ्रान्सी पनि अरुसरह नांगै उभिन पुगेकी थिइन् । मेंगेलले कसैलाई विभिन्न काम गराउने त कसैलाई मार्ने उद्देश्यले कैदीको छनोट गर्दै गए । यसरी नांगै उभिन लगाउनुको एउटा मुख्य कारण शरीरमा दाग भएको कैदी उनलाई मन नपर्नु हो । फ्रान्सीले यो कुरालाई ध्यान दिइन् । उनको शरीरमा पनि एपेन्डिक्सको शल्यक्रिया गर्दाको दाग थियो । जब मेंगेल नजिक पुगे, उनले जसोतसो आफ्नो दाग लुकाउन सफल भइन् । 

मेंगेलले बोलाए– नम्बर ए–४११६ अगाडि आऊ । जब फ्रान्सी अगाडि छाती फुलाएर उभिइन् मेंगेलले फेरि सोधे ‘उमेर ?’
फ्रान्सी– ‘२४’ । 
मेंगेल– विवाहित ? 
फ्रान्सी – ‘हो’
मेंगेल – ‘पेशा ?’

फ्रान्सी – ‘इलेक्ट्रिसियन’
मेंगेलले आश्चर्य मान्दै फेरि सोधे ‘सत्य हो ? तिमी तार जडान गर्न सक्छौ ?’
फ्रान्सी –‘सक्छु ।’

आफ्नो पेशालाई चलाखीपूर्ण ढंगले ढाँट्न सकेकै कारण उनको ज्यान बच्यो । शिविरमा इलेक्ट्रिसियनको अभाव थियो । जसकारण उसको छनोट श्रमशिविरका लागि भयो । र, नेउग्राबिनस्थित शिविरमा सरुवा भयो । जहाँ उनले दुई वर्ष इलेक्ट्रिसियनको काम गरिन् । नेउग्राबिन उपशिविर हो, जुन चेक महिला कैदीकै लागि बनाइएको थियो । फ्रान्सीले ३ वर्षभन्दा बढी समय यातना शिविरमा बिताइन्, त्यो पनि एक, दुई होइन, ६ वटा शिविरमा । त्यसैले उनले थुप्रैलाई साथी बनाउने अवसर पाइन् । तीमध्येकी किट्टी भोहरिजेक पनि हुन् । पछि उनीहरू निकै मिल्ने साथी बने ।

सन् १९४५ मा दुवै जना उत्तरी जर्मनीस्थित बेर्गेन बेल्सेन क्याम्पमा थिए । १५ अप्रिलमा ब्रिटेनको सेनाले यसलाई मुक्त पार्‍यो । त्यतिखेर फ्रान्सी टाइफाइडबाट सिकिस्त बिरामी थिइन् । मुक्तिपछि उनलाई बेलायती अस्पताल पठाइयो । स्वस्थ भइसकेपछि उनले त्यहीँ काम पाइन् । बेलायती सेना उक्त शिविरमा पस्दा भित्र करिब ४० हजार कैदी मृत्युको नजिक थिए भने १३ हजार त गाड्न बाँकी लाश नै थियो । भित्र न ढलको व्यवस्था थियो न त खानेपानीको । 

रिहाइपछि उनले यातना शिविरमा बस्दाको स्मरण गर्दै पुस्तक लेखिन्– ‘फ्रान्सीको युद्ध’ । जसमा उनले लेखेकी छन्, ‘शिविरभित्र खुलेआम समलिंगी यौन सम्बन्ध चलेको हुन्छ । सुन्दर नारीले या त बलात्कारको शिकार बन्नुपर्छ, यौन सम्बन्ध राख्न आनाकानी गर्नेले मर्न तयार हुनुपर्छ । सेक्सको स्वच्छन्दता र यौन हिंसाको त कुरो गरिसाध्य छैन । यसको बाबजुद यौन हिंसाको शिकार बनेकाहरूले न कसैलाई आफ्नो व्यथा सुनाउँछन् न आपसमै यसबारे कुरो गर्छन् किनभने उनीहरू आफूहरूमाथि भएको यौन कार्य भविष्यमा आफ्ना छोराछोरी र नातिनातिनाले थाहा नपाउन् भन्ने चाहन्छन् । त्यसो त फ्रान्सी र किट्टीबीचको सम्बन्ध पनि शिविरभित्र चर्चाको विषय हुने गथ्र्याे । उनीहरूकै अग्रसरतामा शिविरभित्रको एकान्त कुनामा ‘कुम्बलस’ निर्माण भयो ।

जहाँ युवाहरूबीच सेक्ससम्बन्धी कुरो गर्न सकियोस् र यौन सम्बन्ध पनि राख्न मिलोस् । फ्रान्सीले शिविरमै हुँदा जोएलाई पनि जर्मन गुप्तचर प्रहरी ‘गेष्टापो’ ले पक्रेर थुनेको र उनको मृत्यु त्यहीँ भएको थाहा पाइन् । त्यसो त फ्रान्सीले पक्राउ पर्नुअगावै आफूहरूको सम्बन्धविच्छेद भइसकेको र बरु शिविरभित्रै एक जना १७ वर्षीय युवकसित नजिकिएको लेखेकी छन् । उक्त युवकसित उनले ‘जंगली प्रेम’ गरेको पनि उल्लेख गरेकी छन् । जर्मनीको हुम्बर्गस्थित डेस्साउएर उफेर क्याम्पमा रहँदा पनि उनको एक जना इटालियन कैदीसित प्रेम भएको, उक्त कैदीले घरबाट आफूलाई पठाउने खानेकुरो फ्रान्सीलाई पनि दिने गरेको तर उनीसित कहिल्यै यौन सम्बन्ध नराखेको दाबी गरेकी छन् ।

फ्रान्सी युद्धको समाप्तिपश्चात् आफ्नो देश चेकोस्लोभाकिया नै फर्किन् । उनले प्रागस्थित सैलुन फिर्ता लिने कोसिस गरिन् । आफ्ना पुराना ग्राहकसित मद्दत मागिन् तर पाइनन् । स्वदेश फर्केको केही समयमै कुर्त इप्सटाइनसित बिहे गरिन् । कुर्त फ्रान्सीका पूर्व पौडी प्रशिक्षक थिए । उनी वाटर पोलोमा २ पटक ओलम्पिक स्वर्ण विजेता पनि हुन् । उनी पनि यातना शिविरबाट फर्केका कैदी थिए । वर्ष दिनपछि फ्रान्सीले एउटी छोरी जन्माइन् –हेलेन । 

सन् १९४८ को फेब्रुअरी २५ मा सोभियत संघको सहयोगमा चेक कम्युनिष्टहरूले सत्तामा कब्जा जमाए । एप्सटाइन दम्पती कम्युनिष्ट शासनमा बस्न नसकेर अमेरिका पलायन भए । र, न्युयोर्कमा बस्न थाले । उनको निधन सन् १९८९ मा मस्तिष्कको नशा फुटेर भयो । उनकी छोरी हेलेन यतिखेर म्यासाचुसेट्समा बस्छिन् । लेखिका हुन् । न्युयोर्क विश्वविद्यालयमा पत्रकारिता पढाउँछिन् । उनले २० वर्षकै उमेरदेखि पत्रकारिता थालेकी हुन् । उनले त्यही बेला ‘जेरुसेलम पोष्ट’ मा ‘चेकोस्लोभाकियामा सोभियत हस्तक्षेप’ शीर्षकको लेख छपाएकी थिइन् । पुस्तक पनि लेखेकी छन्– ‘यातनाशिविरका केटाकेटी’ । 
 

टिप्पणीहरू