इजरायल-हमास युद्धमा मुस्लिम इत्तेहाद संगठन प्यालेस्टाइनको पक्षमा

इजरायल-हमास युद्धमा मुस्लिम इत्तेहाद संगठन प्यालेस्टाइनको पक्षमा

मुस्लिम इत्तेहाद संगठन नेपालले शक्ति राष्ट्रको आडमा इजरायलले प्यालेस्टाइनमाथि हमला गरेको भन्दै चिन्ता जनाएको छ । 

युद्ध चर्किंदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संगठनले प्यालेस्टाइनमा साम्राज्यवादको पक्षपोषणबाट सिर्जित गम्भीर मानवीय संकट र आम नागरिकको नरसहार गर्ने इजरायली हमला कुनै पनि कोणबाट सह्य हुन नसक्ने बताएको हो । अध्यक्ष ताज मोहम्मद मियाँले विज्ञप्ति जारी गर्दै युद्धका कारण हजारौं नागरिकको हत्या, हजारौंकै संख्यामा घाइते र लाखौं मानिस बेघरबार बन्नुपरेको कारुणिक अवस्थाले चिन्तित तुल्याएको बताए । 

‘इजरायलले युद्धको घोषणा गरी प्यालेस्टाइनको भूमिमा रहेका अस्पताल तथा मानव बस्तीमा आततायी ढंगबाट रकेट आक्रमण गरी पाँच सयभन्दा बढी निहत्था नागरिकको एकै दिन एकै स्थानमा हत्या गरेको घटना सार्वजनिक भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ मानवीय सेवा गर्ने एक महत्त्वपूर्ण स्थान हो, अस्पताल । अस्पतालमै आक्रमण गरी अबोध बालबालिका, निर्दोष नागरिक र सेवामा खटिएका स्वास्थ्यकर्मीको नरसहार गरिनु मानव अधिकारको गम्भिर उल्लंघन र अक्षम्य अपराध भएको हाम्रो ठहर छ ।’

विज्ञप्तिमा संकट समाधानका लागि सन् १९४७ मा राष्ट्र संघसमक्ष गरिएको दुईपक्षीय सम्झौताको अक्षरश कार्यान्वयन गर्दै संवादबाट शान्ति स्थापना गर्न सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाइएको छ । 

त्यस्तै, घटनामा परी ज्यान गुमाउने, अंगभंग हुने र बेपत्ता पारिएका नागरिकबारे सत्यतथ्य पत्ता लगाई मानवीय सहायता उपलब्ध गराउन र द्धन्द्धबाट उत्पन्न मानवीय संकट समाधानमा केन्द्रित बन्न शान्तिका पक्षधर अन्तर्राष्ट्रिय संघसंस्थासमक्ष अपिलसमेत गरिएको छ ।
 

टिप्पणीहरू