इजरायलको लगातार प्रहारको असर गर्भभित्रका प्यालिस्टिनी शिशुमा

इजरायलको लगातार प्रहारको असर गर्भभित्रका प्यालिस्टिनी शिशुमा

दक्षिण गाजाको ‘नासेर’ अस्पतालमा शनिबार एउटी आमाले प्रशव वेदनाले च्यापेपछि रुँदै–चिच्याउँदै ‘जुम्ल्याहा छोरी’ जन्माइन् ।

उत्तरी गाजाको ‘अल शिफा’ अस्पतालमा आक्रमण भएपछि उनी अघिल्लो साता लुकिछिपी परिवारसित दक्षिण गाजापट्टी पुगेकी थिइन् । र, २६ वर्षीया नाहला अबु एलोफले तोकिएको समयअगावै छोरीहरूलाई जन्म दिएकी हुन् ।

‘नूहा र फातिन’ नामका ती शिशुहरू इजरायलले गाजामाथि रकेट बर्साइरहेका बेला जन्मिएका हुन् । खान युनिसको ‘नासेर’ अस्पतालमा ‘पानी र बिजुलीको अभाव’ का बीच जन्मिएका छोरीहरूले युद्धको चर्को मार खेपिरहेका छन् ।

शिशुलाई थम्थम्याउँदै अस्पतालको ‘थियटर’ मा सुत्केरी आमाहरू छट्पटाइरहेका छन् । आँगनमा परिवारका सदस्य र आफन्तहरू इजरायली आक्रमण कुरिरहेका छन् । शहर पूरै शोकमा डुबेको छ ।

गाजापट्टीका पाँच लाख मानिस इजरायली आक्रमणपछि आफ्नो घर छाडेर भागेका छन् । सात महिनाकी गर्भवती नाहलाले मानसिक तनाव खेप्दा पनि ‘जुम्ल्याहा छोरी’ लाई सुरक्षित जन्म दिएको परिवारका सदस्यले जनाएका छन् । इजरायलले गाजामा गरेको लगातारको हवाई आक्रमणका कारण गर्भवतीको रक्तचाप घट्यो । र, उनलाई अघिल्लो सोमबार ‘अल शिफा’ अस्पतालमा भर्ना गरियो । त्यहाँ हजारौँ घाइतेहरू उपचारका लागि लगिएको थियो । गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल शिफा’ बमबारीबाट घाइतेहरूले भरिएको छ ।

उडिरहेको सुख्खा धुलो र रगतका टाटाले अस्पताल पुग्नेहरू डराउछन् । बस्नका लागि सुरक्षित ठाउँ खोज्दै मानिसहरू अस्पतालबाहिर भागिरहेका देखिन्छन् । ‘शव’ हरू मुर्दा घरबाहिरको फुटपाथमासमेत राखिएको अवस्था थियो ।

पीडादायी दृश्यको खाटा नमेटिँदै इजरायली सेनाले उत्तरी क्षेत्र खाली गर्न आदेश दियो । र, १० लाखभन्दा बढी मानिसलाई दक्षिणतिर सर्न चेतावनी दिएको छ । यता बिरामीहरूको चाप बढ्न थालेपछि २६ वर्षीया गर्भवती नाहलालाई अस्पतालले घर पठायो । र, उनी पतिसित उत्तरतिर लागिन ।

खान युनिस शहर नपुग्दै नाहलालाई बेथाले च्याप्यो । अनि, उनलाई हतारहतार ‘नासेर’ अस्पताल भर्ना गरियो । ‘इमर्जेन्सी सी–सेक्सन’ मा भर्ना भएपछि नाहलाले सात महिनामै समय नपुग्दै ‘जुम्ल्याहा छोरी’ जन्माइन् । उनका भाइ समर अबु एलोफका अनुसार अस्पतालमा पानी, बिजुली र औषधिको अभाव छ । ‘नूहा र फातिन’ धर्ती टेकेको पहिलो दिनमै अनकौं अभावसँग जुधिरहेका छन् ।

गहिरो निन्द्राबाट ब्यूँझिएझैँ ‘फूला’ ले घन्टौंपछि दुवै आखाँ खोलिन् । चारैतिर टुलुटुलु हेरिरहिन् । र, उनले हजुरआमालाई सोधिन्, ‘मलाई मेरी आमा चाहिन्छ ! मेरो बुवा खै ?’

अस्पतालको बेडबाट ६ वर्षीया फूलाले बारम्बार सोधिरहिन् आफ्ना ‘आमा–बाबु’ । उनको आवाज खान युनिस अस्पतालको अप्रेसन ‘थियटर’ भित्र गुञ्जिरहेको थियो । उनकी हजुरमाआमा छेउतिर टोलाइरहेकी थिइन् ।

भर्खंरै होशमा आएकी नातिनीलाई शान्त पार्ने प्रयासमा थिइन् उनी । तैपनि फूलाले आफ्ना आमा–बुबालाई खोजिरहिन् । उनी रोइन्, चिच्याइन्, हजुरआमालाई चिमोट्दै सामुन्ने नभएका ‘आमा–बा’ लाई बोलाइरहिन् ।

फूलाको मुखबाट ‘आमा–बा’को शब्द सुन्दा मौन हुन्थिन् हजुरआमा । उनी बोल्न खोज्थिन् । तर आँशु खसाल्दै रोकिन्थिन् । नातिनीको जिद्दिपनालाई शान्त पार्न परिवार बिथोलिएको ‘कथा–व्यथा’ सुनाउँदै गइन् ।

०००

दक्षिणी गाजापट्टीको तटीय सहर ‘अल–मावासी’ । अघिल्लो शनिबार फूलाको परिवार सुत्नको लागि तयार हुँदै थियो । ५८ वर्षीया हजुरआमा नवल अत्ता शावान अल–लहमले टेलिफोनमा कुराकानी गरिरहेकी थिइन् ।

रातको समयमा फूलाको परिवार सुतिरहेको बेला ‘बिना–चेतावनी’ घरमाथि मिसाइल प्रहार भयो । उनकी आमा, उनका बुबा, उनको सानो भाइ एज र ६ महिनाअघि गाजामा जन्मिएकी सानी बहिनी शाइमा इजरायली आक्रमणमा घरभित्रै मारिए ।

 १४ जना एउटै चिहान हुँदा ‘गुलाबी र खैरो रंगको कपडा’ लगाएकी फूलालाई बिहानपख भग्नावशेषबाट निकालिएको थियो । उनी मरेतुल्य थिइन् । लगतै गाजाका सामाजिक कार्यकर्ताहरूले उनलाई अस्पताल लगे र, उपचार थालिएको हो ।

०००

हजुरआमासँग बोलिरहँदा ‘फूला’ भर्खंरै बेहोशबाट ब्युँझिएकी थिइन् । उनको अनुहारमा दाग थियो, टाउकोमा धेरै चोट । आँखाहरू रसाइरहेका थिए । तैपनि बेसुरमा बोलिरहेकी थिइन् उनी ।

फूलाको काँध र घुँडामा सेतोपट्टी बाँधिएको थियो । हजुरआमाले पानी पिलाइरहेकी थिइन् । र, खान युनिसको नासेर अस्पतालमा डाक्टर र नर्सहरूले उनको उपचार गरिरहेका थिए । अस्पतालमा उनीजस्ता हजारौँ बालबालिका छट्पटाइरहेका छन् ।

‘फूला एकदमै दुःखी छिन्, बा–आमा गुमाइन् । शरीरभरि ठूलो चोट बोकिन् । बा–आमा खोजेर हजुरआमालाई हैरानी दिइरहेकी छिन्,’ थियटरमा खटिएकी एक नर्सले भनिन् ।

बालिकाको रोदन सुनेर हजुरआमा चिन्तित छिन् । ‘म फूलालाई मेरो हृदयमा राख्नेछु । इजरायली क्रूरताबाट लुकाउनेछु । मैले मेरो छोरा गुमाएँ तर नातिनी मेरो सबथोक हुन् । म उसलाई उसको बुबाले वाचा गरेको सबै खुशी दिनेछु,’ हजुरआमाले भनिन्।

विद्रोही समूह हमासले इजरायलमाथि स्थल आक्रमण गरेपछि जवाफमा इजरायली सेनाले लगातार गाजापट्टीमा प्रहार गरिरहेको छ । इजरायली आक्रमणबाट हजारौं मारिएका छन् । दशौं हजार घाइते छन् । तर पनि घाइतेहरूको उपचार भइरहेको छ । मृतकका शवहरू अस्पतालमा एकपछि अर्कोमाथि थुप्रिएका छन् ।

टिप्पणीहरू