गाजामा इजरायलले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

गाजामा इजरायलले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजराय र हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् ।

 राष्ट्रसंघको सुरक्षा परिषद्‍लाई सम्बोधन गर्दै महासचिव गुटेरेसले हमास हमला शून्यतामा भएको होइन भनेर बुझ्नसमेत आग्रह गरेका छन् । हमास आक्रमणलाई आतंकवादी हमला भन्दै विश्व समुदायले इजरायलतर्फ सहानुभूति दर्साइरहेका बेला संयुक्त राष्ट्रसंघमा महासचिवको यस्तो प्रतिक्रिया आएको हो । 

'हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी छ । प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्,' उनले भनेका छन्,'तर प्यालेस्टिनी जनताको गुनासोलाई हमासको डरलाग्दो आक्रमणलाई न्यायोचित ठहराउन सक्दैन । र त्यो डरलाग्दो आक्रमणहरूका कारण प्यालेस्टिनी जनता सामूहिक दण्डको भागी हुन सक्दैनन् ।'

गुटेरेसले निर्दोष सर्वसाधारणहरूको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहनसमेत आग्रह गरेका छन् ।

इजरायलले गाज शहर खालि गराएकोप्रति असन्तुष्टी जनाउदै महासचिव गुटेरेसले भनेका छन्, 'नागरिकहरूको सुरक्षा गर्नु भनेको दश लाखभन्दा बढी मानिसहरूलाई आश्रय, खाना, पानी, औषधि र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन ।'

इजरायली अधिकारीहरूले भने गुटेरेसको सम्बोधनप्रति आपत्ति जनाउँदै उनको राजीनामा मागेका छन् । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिअर हयातले बीबीसीसँग कुराकानी गर्दै महासचिव गुटेरेसले दिएको भाषणलाई 'अपमानजनक' भनेर टिप्पणीसमेत गरेका छन् ।

हमास समूहले गत ७ अक्टोबरमा दक्षिणी इजरायलमाथि अकस्मात आक्रमण गरेसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिएको छ । इजरायलको आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौं घरबारबीहिन भएपछि त्यसको सर्वत्र निन्दा भैरहेको छ ।

टिप्पणीहरू