प्रधानमन्त्रीलाई तत्काल अपदस्थ गर्न माग गर्नेलाई मन्त्रीले भने, ‘यो पागलपन हो !’

प्रधानमन्त्रीलाई तत्काल अपदस्थ गर्न माग गर्नेलाई मन्त्रीले भने, ‘यो पागलपन हो !’
सुन्नुहोस्

युद्धग्रस्त इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नुपर्ने माग चर्कोसँग उठेको छ । त्यहाँको विपक्षी दलका नेता यायर लापिडले नेतन्याहु नेतृत्वको चरम दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको बताएका हुन् । 

हमासमाथिको कारवाहीका नाममा गाजा शहरमा लगातार आक्रमण बढाउँदा अन्तर्राष्ट्रियरुपमा आलोचना खेपिरहेका नेतन्याहुलाई अपदस्थ गर्नुपर्ने आवाज इजरायलभित्र उठेपछि त्यसले तरंग छाएको छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहु र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले ट्वीटरमार्फत् भनेका छन् ।

इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमणपछि लचिलोपन देखाउँदै आएको पनि उनले भनेका छन् । जसको फाइदा प्रधानमन्त्री नेतान्याहुले लिइरहेको र जनतालाई धोका दिएको ल्यापिडको दाबी छ । उनले भने, ‘सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो, विशेषगरी प्रधानमन्त्री यसको मुख्य कारण हो ।’

विपक्षी दलका नेता ल्यापिडको पछिल्लो टिप्पणीलाई इजरायलको राजनीतिकभित्र बढ्दो असहमतिको संकेतको रूपमा हेरिएको छ । हमासमाथिको प्रतिआक्रमणमा नेतन्याहुको असफल नेतृत्वले बढाएको निराशाको परिणामका रुपमा पनि ल्यापिडको पछिल्लो टिप्पणीलाई लिइएको छ । तर, विपक्षी दलकै  कतिपय नेताले भने द्वन्द्व सकिएपछि यो विषय टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

‘म यो आवाजहरू सुन्छु कि यो समय होइन,’ ल्यापिडले भने, ‘तर, हामीले ४० दिन पर्ख्यौं, अब समय छैन । हामीलाई अहिलेको आवश्यकता भनेको सुरक्षा र अर्थतन्त्र बाहेक अरू केही गर्ने सरकारको हो । हामी आगामी वर्षमा अर्को चुनाव वहन गर्न सक्दैनौं ।’

तर, नेतन्याहु क्याबिनेटका मन्त्रीमध्ये एक बेन्नी गान्ट्जले भने ‘प्रधानमन्त्रीलाई प्रतिस्थापन गर्ने आह्वान पागलभन्दा कम छैन’ भन्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू