औषधि  खरिदबिक्रीका लागि डाक्टरको सिफारिस अनिवार्य

औषधि  खरिदबिक्रीका लागि डाक्टरको सिफारिस अनिवार्य
सुन्नुहोस्

औषधि व्यवस्था विभागले प्रेस्किप्सन (चिकित्सकको सिफारिस) बिना औषधि बिक्रीवितरण नगर्न कडा निर्देशन दिएको छ । विभागले प्रेस्किप्सनका आधारमा मात्र औषधि बिक्रीवितरण गर्न लिखितरुपमा आग्रह गरेको छ । 

औषधि ऐन, २०३५ को दफा (१७) को उपदफा (२) मा चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्रीवितरण गर्न नहुने उल्लेख गर्दै समूहकृत गरिएको (समूह ‘क’ र ‘ख’ का) औषधि प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ । 

विभागबाट नियमित रुपमा हुने गरेको औषधि पसलको निरीक्षणको क्रममा प्रेस्किप्सनका आधारमा बिक्रीवितरण गर्नुपर्ने औषधि बिना प्रेस्किप्सन नै बिक्रीवितरण गरेको पाइएको हो । 

प्रतिजैविक औषधिसमेत बिना प्रेस्किप्सन बिक्रीवितरण भएको र त्यस्तो औषधिको व्यापक प्रयोगले रोग प्रतिरोधक क्षमतामा ह्रास आएर कतिपय अवस्थामा औषधिले काम नगरेको समेत विभागले बताएको छ । 

विभागले समूह ‘क’ र ‘ख’ का विभिन्न औषधि अनिवार्य रुपमा प्रेस्किप्सनका आधारमा मात्र बिक्रीवितरण गर्न आग्रह गर्दै औषधि ऐनविपरीत काम÷कारबाही गरेको पाइएमा कारबाहीको चेतावनी समेत दिएको छ । 

त्यस्तै, सर्वसाधारणलाई पनि औषधि खरिद गर्नुपूर्व चिकित्सकको सल्लाह लिई प्रेस्किप्सन आवश्यक पर्ने औषधिको अनिवार्य प्रेस्किप्सनसहित औषधि पसलबाट मात्र खरिद गर्न सचेत गराइएको छ ।

टिप्पणीहरू