यस्तरी उदाउँछन् थरीथरीका भगवान्

यस्तरी उदाउँछन् थरीथरीका भगवान्

समय–समयमा नेपालीको ‘भगवान्’ फेरिइरहन्छन् । कुलमान घिसिङ, धुर्मुस–सुन्तली,  रवि लामिछाने हुँदै अहिले दुर्गा प्रसाईंलाई कतिपयले नेपालको व्यवस्था फेरिदिने ‘भगवान्’ ठानेका छन् । 

तर, तिनै प्रसाईं आफैँ अर्बाैँ ऋणमा चुर्लुम्म डुबेकै थिए, राजश्व छलीजस्तो गम्भीर अपराधमा समेत मुछिएका छन् । र, पनि भन्दै छन्, शंखधर साख्वाले झैँ ऋणमा डुबेकाहरूलाई मुक्त गराउँछु । भीड, पत्याउँदै उनकै पछि लागेर ‘जय’ गुन्गुनाइरहेको छ । प्रसाईंद्वारा सञ्चालित बिएण्डसी मेडिकल कलेज खरिद बिक्री गर्दा राजश्व चुहावट भएको भन्दै एउटा सरकारी निकायले छानबिन गर्न भनेको छ ।  

तीन वर्षअघि आफ्नो जग्गा आफैँलाई बेच्ने क्रममा हो, प्रसाईंले बदमासी गरेको । सोहीे क्रय बिक्रयको क्रममा राजश्व छली भएको आशंकासहित छानबिन गर्न भनेको थियो, महालेखा परीक्षकको कार्यालयले । एकातिर आफ्नो जग्गा आफैंलाई बेचेका छन्, अर्काेतिर त्यही जग्गा चार वटा बैंकमा दृष्टिबन्धक राखेर ऋण लिएका छन्, यो प्रकरणमा अनुसन्धान र कारबाही गर्न राष्ट्र बैंक र भूमिसुधार मन्त्रालयलाई समेत निर्देशन दिइसकिएको छ । 

अघिल्लो दिन ८ करोडमा राजीनामा पास गरेको जग्गा देखाएर भोलिपल्टै २२ गुणा बढी ऋृण लिएको भेटिएसँगै महालेखाले कैफियत  औँल्याएको हो । प्रसाईंंको यो गतिविधिलाई महालेखाले ऋण लिँदा कर छली गरेको हुन सक्ने वा बैंक तथा वित्त संस्थासँग मिलेर धितो अधिक मूल्यांकन गराई निक्षेपकर्ताको रकम दुरुपयोग गरेको हुन सक्ने भन्दै कैफियत औँल्याएको छ । तर, तीन वर्ष बित्दासमेत त्यो कैफियतमा सहभागी हुने न त बैंक, न राजश्व छल्ने प्रसाईंलाई नै कारबाही भएको सुनिएको छ । 

झापा अनारमनी ३ को ५७१ दशमलव ४८ वर्ग मीटर क्षेत्रफल भएको पाँच कित्ता जग्गा बिएण्डसी मेडिकल कलेजले आफ्ना सञ्चालकबाट ८ करोड थैली कायम गरी खरिद गरेको र सोको दुई दिनपछि नै उनले चार वटा बैंकसँग त्यही जग्गा दृष्टिबन्धक (बैंक वा वित्तीय संस्थाले व्यक्तिगत ऋण लगानी गर्दा व्यक्तिको अचल सम्पत्ति धितो जवानी राखेर लिखत पास) गरेको भेटिएको हो । 

महालेखाका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते प्रसाईंंले अनारमनी–३ (बिर्तामोड) को १८ आना जग्गा आठ करोड रुपैयाँ थैली रकम कायम गरी आफ्नै स्वामित्वको बिएण्डसी अस्पताललाई बेचेका थिए । यो किनबेच भएको दुई दिनपछि अर्थात् ४ साउन ७७ मा सोही जग्गा चार वटा ब्यांकमा राखेर एक अर्ब ७४ करोड रुपैयाँ ऋण फुत्काए । यो हिसाबले प्रसाईंको सम्पत्ति दुई दिनमै २२ गुणाले बढ्यो । प्रसाईंको यो बदमासीमा बैंकका शाखा प्रमुखहरू ‘सती’ गएको हुन सक्ने महालेखाका ती अधिकारी टिप्पणी गर्छन् । यसलाई महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजश्व छल्ने प्रयास भनेको छ । 

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनको पेटबोली यस्तो छ ‘एक दिनको अन्तरालमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अंक न्यून देखाउने तर सोही जग्गा दृष्टिबन्धक गरी खरिद मूल्यभन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजश्व प्राप्त हुने गरी गरेको कारोबारसम्बन्धमा नेपाल राष्ट्र बैंकले समेत थप छानबिन र छुट भएको राजश्व यकिन गरी असुल गर्नू ।’

महालेखाको प्रतिवेदनमा बेरुजु औल्याउने ती अधिकारीसँग प्रसाईंको बदमासीमा कुन–कुन बैंकले साथ दिएका रहेछन् ? भन्ने जनआस्थाको जिज्ञासामा गोपनीयता भन्दै मुख खोल्न मानेनन् । बरु प्रसाईंको यो कदममा बैंकिङ कसूर तथा सजायँँ ऐन आकर्षित हुन सक्ने बताए । 

कसुर ऐन ०६४ को दफा ७ (ख) पल्टाउँदा उनको यो बदमासीमा बिगो भराई चार वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ । सोको पेटबोलीमा ‘धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी कर्जा लिनु वा दिनुलाई’ कसूर मान्दै यस्तो कसूर गर्नेबाट बिगो भराई चार वर्षसम्म कैद सजायँ हुने’ भनिएको छ ।
 

टिप्पणीहरू