खेलकुद कर्णालीमा, पुरस्कारको घोषणा काठमाडौंमा

खेलकुद कर्णालीमा, पुरस्कारको घोषणा काठमाडौंमा
सुन्नुहोस्

कर्णाली प्रदेशमा आयोजना हुने ‘दशौं राष्ट्रिय खेलकुद’ को निम्ति उत्कृष्ट लोगो बनाउनेलाई राष्ट्रिय खेलकुद परिषद्ले पुरस्कृत गर्ने भएको छ । 

आगामी वर्षको मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुका लागि आवश्यक प्रतिक चिन्ह मस्कट, लोगो, गीत रचना र नारा तयार गर्नेलाई परिषद्ले पुरस्कारको घोषणा गरेको हो । 

परिषद्ले उत्कृष्ट लोगो बनाउने कलाकारलाई ५० हजार, मस्कट बनाउनेलाई २५ हजार, गीत रचनाकारलाई २५ हजार र नारा लेख्नेलाई १० हजार नगद पुरस्कार दिइने जनाएको छ । 

तोकिएको मापदण्डका आधारमा तयार पारेर गोप्य शिलबन्दीमा परिषद्को खेलकुद विकास विभागमा आगामी पुस ५ गतेभित्र पेश गर्न आग्रह गरिएको छ । मापदण्डअनुसार दशौं राष्ट्रिय खेलकुदको लोगो समग्र कर्णाली प्रदेशको प्रतिविम्ब झल्कने, खेलकुद समेटिएको र शान्तिको प्रतिक हुनुपर्दछ ।

त्यस्तै, गीत रचना बढीमा चार मीनेटको, राष्ट्रिय भावनाले ओतप्रोत तथा खेलकुद र खेलाडीको भावना समेटिएको हुनुपर्ने छ । 

मस्कटमा कर्णाली प्रदेशको प्रख्यात जनावर समेटिएको र खेलको प्रतिविम्ब झल्कने हुनुपर्ने तथा नारा बढीमा २५ अक्षरमा समेटिएको हुनुपर्ने परिषद्को सूचनामा उल्लेख छ ।

आवेदकले लोगो र मस्कट ए थ्री साइज, मल्टीकलर, स्ट्याम्पमा प्रयोग गर्न मिल्ने हुनुपर्ने र डिजिटल तथा म्यानुअल दुवै फम्र्याटमा पेश गर्नुपर्ने छ । अरुको लोगो, नारा तथा गीत बाझिएमा वा कपिराइट गरिएको रद्ध हुनेछ ।

टिप्पणीहरू