अधिवक्ता बन्ने रहरले बदलिएको जीवन

अधिवक्ता बन्ने रहरले बदलिएको जीवन
सुन्नुहोस्

त्यतिखेर आइ एल सकिनेबित्तिकै अभिवक्ताको लाइसेन्स लिन पाइन्थ्यो । मैले नेपाल ल कलेजमा ३९-४१ को व्याचबाट आइ एल सकाएको भए पनि ४५ सालमा मात्र अभिवक्ता बन्न पाएको थिएँ । नेपाल बैंकको जागीर छोडेर वकिल बन्ने तयारी गरेँ ।

पहिलो पल्ट मसँग भएको ६ हजार रुपैयाको कानून सम्बन्धी पुस्तक किनेर चौतारामा डाइनामिक ल सेन्टर भनेर अफिस खोलेँ । पछि चन्द्रकुमार बस्नेतजी पनि म सँगै काम गर्न थाल्नुभयो । म त्यतिखेरदेखि नै पुरा राजनीतिमा   लागिसकेको हुनाले अफिसको काम सबै बस्नेतजीले नै हेर्नु हुन्थ्यो । फिराद, प्रतिउत्तर, साक्षी बकाउने सबै काम उहाँले नै गर्नुहुन्थ्यो । म मुद्दामा बहस गर्न भने पुग्थे । पार्टीका साथीहरुकै विरुद्ध ज्यामीरेको गुमानसिंह तामागंको मुद्दामा पहिलो बहस गरेको थिए, जुन मुद्दा जितीयो पनि । तुल्सी र नीलकाजी विचको मुद्दामा पनि संलग्न भए । सबैभन्दा नमज्जा चाही एउटा सवारी दुर्घटनाको मुद्दामा चालकलाई पूर्पक्षको लागी थुनामा राख्ने आदेश गर्यो । जुन अन्य अवस्थामा त्यस प्रकारको आदेश हुदैनथ्यो । चालकको बुढी आमालाई आफ्नै लजमा राखेर घर पाँचखाल जाने गाडीभाडा समेत तिरेर पठाएको थिए । म पार्टीको अध्यक्ष पनि भएकोले सबै हाम्रा समर्थक शुभचिन्तकहरुको मुद्दा मैले नै हेर्नुपथ्र्यो ।

वार इकाइको गठन हुँदा मलाई केन्द्रिय पार्षद बनाइयो । नियमित रुपमा  नेपालबारको केन्द्रिय पार्षदहरुको बैठक बिभिन्न ठाउमा हुन्थ्यो । राष्टिय सम्मेलन प्रत्येक दुइबर्षमा हुन्थ्यो । म प्राय: सभा सम्मेलनहरुमा जान्थे । कार्यक्रममा मेरो सक्रिय सहभागीता हुन्थ्यो । प्रश्न गर्ने, भाषण गर्ने, पार्टीको तर्फबाट कुनै छलफलमा भाग लिने गरिन्थ्यो । चुनावमा चाही प्राय हामी एमाले लगायतको वामपन्थी मोर्चा बनाइन्थ्यो । शुरु शुरुमा त अगाडी कसीएर भाषण गर्न नाम टिपाउथे तर पछि रहर लाग्न छाड्यो र नाम टिपाउन छाडे पनि खै त सुरेन्द्रजी भनेर बोलाएर बोल्न बाध्य पारिन्थ्यो । कृष्णप्रशाद पन्त, राधेश्याम अधिकारी, प्रकाश वस्तीहरु अध्यक्ष बन्नुभयो । विरगंजमा भएको सम्मेलनमा कृष्णप्रशाद सर सँग साँझपरेपछि बगेडि खाएको सम्झना भइ रहन्छ ।

त्यही सम्मेलनमा जादा हेटौडामा कैलाश विष्टसँग भेट भयो । वहाँको गाडी चलाउने त उही पहिला पूर्पक्षमा थुनामा परेको चालक पो रहेछ । लण्डन आएपछि कैलाश विष्टसँग फेरी पहिलाको कुराहरु सम्झीयौ । यही सम्मेलनमा वकिलहरु विच हात हालाहाल पनि भयो । बाग्लुगं दागं, बुटवल, पोखरा, चितवन, दोलखा, धेरै स्थानहरुमा पुगीयो । सबै सँग राम्रो चिनजान परिचय पनि भयो । मलाई भने सधै एउटै कुराले सताइरह्यो । सबैजना अधिवक्ता, वरिष्ठ अधिवक्ता आफुभने अभिवक्ता, विएल पनि गरिएन, बिएड तिर लागीयो । कसरी अधिवक्ता बन्ने? फेरी बिएल गरेपनि प्रमाणपत्र लिन परिक्षा दिन पर्ने भयो । जसरी भएपनि अधिवक्ता बन्ने मेरो दृढइच्छा शक्ति बढ्यो । आइएलमा लामो समय अंग्रेजिमा फेल भएको संझेर झस्कीन्छु । फेरी पनि बिएल प्राइभेट दिने सोच बनाए । तीनै बर्षको परिक्षा कुनैपनि ब्याक नलागी पास पनि भए । त्यो कुरा संझेर अहीले पनि विश्वास नै लाग्दैन ।

अधिवक्ताको प्रमाणपत्र लिन बारको छुट्टै परिक्षा दिन पर्ने नियम हामी भन्दा एकबर्ष अगाडिबाट लागु भएको थियो । हामी परिक्षा दिएर प्रमाणपत्र लिनेमा दोस्रो ब्याचका थियौ । उक्त परिक्षा २०५२ सालको मंसिर २९ गते तय भएको थियो । जनयुद्धको तयारी २०५१को अन्त्यतिर बाट गरिसकेका थियौ । सिन्धुपाल्चोकमा ५२ सालको विचतिर बाट ठुलाठुला घटनाहरु नै घटे । म जसोतसो बचीरहेको थिए, तर कुनै पनि बेला भाग्न पर्छ भनेर सबै पुस्तकहरु र लुगाहरु सहीत एउटा झोला तयार बनाइ राखेको थिए । एक बिहान म कलेज पढाएर घर फर्कदै थिए ।

शारदा प्रशाद ढुंगेल, जो हाम्रो पारिबारिक मित्र हुनुहुन्थ्यो,ले ए कान्छा तिमि अझै यतै छौ ? कुनैपनि बेला समात्न सक्छ है ? हिजो राती हामी सबै सिडीओकोमा गएका थियौ । अन्य पार्टीका प्रतिनीधिहरु (मलाई नामै भनेको थियो तर लेख्न उचित लागेन) उनीहरुले मलाई समाते पछि सबै थाहा पाइन्छ भनेका रहेछन् । आजबाट व्यापक धरपकड शुरु हुदैछ है भनेपछि म छिटो छिटो घरमा गइ झोला बसपार्क पुर्याउन कान्छादाइलाई भने । खाना पाकीसकेको थियो, जयन्द्रदाइले धेरैपछि आफैले मासु किनेर घर लग्नुभएको थियो रे तर मैले खान मानिन । घरबाट म घलेगाउ हुदै मिनुलाई भेट्न दुधराज सरको घरमा भएको बोर्डिगं स्कुलमा गए । उनीसँग भएको पैसा लिएर म पुरानोबजार बसपार्क पुगेर हतारमा बसमा निस्कीए ।

त्यसदिन साँगाचोकमा पार्टीको बैठक थियो । त्यहाँ सबै जिल्ला नेतृत्व आउने कुरा थियो, मलाई पनि बोलाइएको थियो तर म जाने सोचमा थिइन । म आफु भागेर अरु सबै साथीहरु पक्राउ परे भने म जिन्दगीभरी पछुताउनुपर्ने थियो र सारा सिन्धुपाल्चोकले असर व्योहर्नपर्ने थियो । त्यसैले साँगाचोक स्कुलको माथी डाँडामा पुगेपछि म बसबाट झरेर दौडिदै जनजागृती स्कुलमा छिरेर शिक्ष्यक वाग्जु लामालाई सबै कुरा सुनाएर म भन्ज्यागंमा पुगे । त्यहाँ बिष्णुलाल श्रेष्ठलाई भनेर म फेरी बस चढेर काठमाण्डौतिर लागे । नभन्दै केही समयपछि प्रहरीले साँगाचोकमा छापा मारेछन् सबैजना बच्न सफल भएछन् । जनयुद्ध रोकिनु भन्दा केहि समय अगाडी पार्टीले उनै ढुंगेल साहुजीको सफाया गरेको घटाना सुने पछि दुख लागेको थियो।

म कुलेश्वरमा महेन्द्रमामाको घरको तल्लो फ्ल्याटको कोठामा बस्थे । त्यही घरमा लेखराज भट्टको परिवार पनि बस्नुहुन्थ्यो । एक साँझ अग्नी सापकोटा सर मलाई भेट्न आउनुभयो र फाल्गुन १ गतेबाट आधीकारीक रुपमा जनयुद्ध शुरु हुदैछ, यो हाम्रो अन्तिम भेट पनि हुन सक्छ । आफू बच्दै युद्धलाई कसरी सक्नुहुन्छ सहयोग गर्नु होला भन्नुभयो । छुटीदा बहुत दरिलो हात मिलायौ । हाम्रो २९ मा हुने भनेको परिक्षा खै के कारणले हो फाल्गुन १ गतेका लागी सरेको थियो । म भने १ गते कहा कहा के होला भन्ने खबर सुन्नमा आतुर थिए ।

हाम्रो परिक्षा पुरानो वानेश्वरको एउटा स्कुलमा भएको थियो । परिक्षा दिएर सबै पत्रपत्रिका किनेर घरमा आए छापाभरी हिजो राती गरेका घटनाहरु बारेमा छापिएको थियो । म भने अब के होला ? कता जाने के गर्ने ? भन्ने भविष्यका बारेमा सोचीरहेको थिए ।अब जे भएपनि अधिवक्ता बन्ने धोको चाही पुरा हुनेमा निर्धक्क थिए । मेरो यो अधिवक्ता बनीछाड्ने इच्छाले चौतारा छाडेर आएको थिए अन्यथा मेरो भूमिगत हुने इच्छा नभएकोले चौतारामा कानून व्यवसाय छाडेर हिड्नु झन् खतरा हुन सक्थ्यो । परिक्षा सकेर म तुरुन्तै घर जान मिलेन त्यसैले बाग्लुगं म्याग्दीतिर घुम्न गए, फेरी काठमाण्डौमा आएर बसे ।

तर यही घरमा भएको घटना भने रोचक छ । म बसेको घरमा पहिले लेखराज भट्ट बस्नुभएकोथियो, हितमान शाक्यको दाइको घर भएकोले एक साँझ पुलीसहरु आएर छापा मार्न थालेको थाहा पाएपछि मैले मिनुलाई हाम्रो कोठामा ताला लगाएर जानु भने र उसले पनि त्यही गरी । भाग्यवश माथी तलाको कोठाहरु मात्रै हेरेछन् र तलको तलामा नआइकनै फर्केछन् । पछि पो डर लाग्यो । पछि उनीहरुले त्यो ताला फोडेर भित्र कोठामा आएर मलाई पक्राउ गरेको भए के हुन्थ्यो होला ? बरु ताला नलगाई बसेको भए आफ्नो परिचय दिएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्यो । आत्तीदाखेरी यसखाले गम्भीर भूल हुनेरहेछन् भन्ने लाग्यो । अधिवक्ताको परिक्षामा म पास भएको रहेछु । त्यहाँ काम गर्ने एकजना साथीसँग सम्पर्क गरेर कति नं पाएको रहेछु भनेर बुझ्दा तेस्रो नं मा मेरो नाम रहेछ । सबै बिषयमा राम्रो भएकोरहेछ । यदी अधिवक्ता बन्छु भन्ने दृढसंकल्प नगरेको भए जीवनले कुन मोड लिनेथियो होला यसै भन्न सकिएन । तर ती भएका कुरा हुन खोजेका कुराको स्मृतीले मानवीय संचेतनामा धेरै विचलन ल्याइदिन्छ ।

( लामो समय देखि बेलायत बसोबास गर्ने जनआस्था साप्ताहिकका नियमित लेखक सुरेन्द्र नेपाल श्रेष्ठको २०७६ श्रावनमा प्रकाशित आत्म कथा'' मेरो आधा शताब्दीको'' एक अंश )

 

टिप्पणीहरू