अमिताभ बच्चनका पिताको प्रेमकहानी

अमिताभ बच्चनका पिताको प्रेमकहानी

मृदु भावों के अंगुरों की आज बना लाया हाला,
प्रियतम, अपने ही हाथों से आज पिलाऊँगा प्याला,
पहले भोग लगा लुँ तेरा फिर प्रसाद जग पाएगा,
सबसे पहले तेरा स्वागत करती मेरी मधुशाला । । १ । 

प्रियतम, तु मेरी हाला है, मैं तेरा प्यासा प्याला,
अपने को मुझमें भरकर तु बनता है पीनेवाला,

मैं तुझको छक छलका करता, मस्त मुझे पी तु होता,
एक दुसरे की हम दोनों आज परस्पर मधुशाला । । ३ । 

आज सजीव बना लो, प्रेयसी, अपने अधरों का प्याला,
भर लो, भर लो, भर लो इसमें, यौवन मधुरस की हाला,
और लगा मेरे होठों से भूल हटाना तुम जाओ,
अथक बनुँ मैं पिनेवाला, खुले प्रणय की मधुशाला । । ६३ । 

एक समय छलका करती थी मेरे अधरों पर हाला,
एक समय झुमा करता था मेरे हाथों पर प्याला,
एक समय पिनेवाले, साकी आलिंगन करते थे,
आज बनी हुँ निर्जन मरघट, एक समय थी मधुशाला । । ११० । 

यो काब्य बलिउड सिनेजगतका महानायक अमिताभ बच्चनका पिता तथा हिन्दी साहित्यका प्रसिद्ध कवि हरिवंश राय बच्चनद्वारा लेखिएका हुन् । सन् १९३५ मा प्रकाशित उनको कृति ‘मधुशाला’ को अंश हो यो । 

हरिवंशका अभिन्न मित्र प्रोफेसर प्रेमप्रकाश जौहरी बरेली कलेजमा अंग्रेजी पढाउँथे । । हरिवंशले सन् १९३० देखि नै कविता लेख्न थाले । सन् १९४० सम्म त उनीद्वारा लिखित थुप्रै कविता पत्रपत्रिकामा छापिन थालिसकेका थिए भने ‘मधुशाला’ ले हिन्दी साहित्यमा छुट्टै छाप छाड्न सफल भइसकेको थियो । १९ वर्षको उमेरमा १४ वर्षकी श्यामासित उनको बिहे भएको थियो । श्यामालाई पहिल्यै क्षयरोग लागिसकेको हुँदा बुहारीको रोग छोरालाई पनि सर्ने डरले आमाबाबुले सँगै सुत्न नदिने धेरै प्रयत्न गरे तर हरिवंश श्यामालाई औधी माया गर्थे, त्यसैले आमाबाबुको कुरो टेरेनन् । यसबीच सन् १९३६ मा श्यामाको मृत्यु भयो । मात्र १० वर्ष दाम्पत्य जीवन बिताउन पाएका हरिवंश अत्यन्त मर्माहत बने । 

त्यसो त हरिवंशको यो पहिलो प्रेम थिएन । हाइस्कूलमा पढ्दै एक जना मित्रले कर्कलकी पत्नीलाई माया गरेका थिए । कर्कल र उनकी पत्नी चम्पा उनीभन्दा जेठा थिए, तर मित्रता गहिरो थियो । चम्पा र हरिवंशबीचको सम्बन्धबारे कर्कल जानकार थिए तर दुवैलाई रोकेनन् । अझ आफू बिरामी हुँदा चम्पाको हेरविचार गर्ने जिम्मा उनै मित्रलाई सुम्पे । उक्त सम्बन्धबारे हरिवंशका मातापितालाई पनि थाहा थियो, यहाँसम्म कि चम्पाकै मायामा डुबेका कारण छोरा हाइस्कूलको परीक्षामा अनुत्तीर्ण भइसक्दा पनि उनीहरूले  छोरोलाई त्यसो नगर भनेनन् । पछि जब कर्कलको निधन भयो, सम्बन्धलाई लिएर अनेकौं हल्ला चल्यो, किनभने त्यतिञ्जेलसम्ममा चम्पा गर्भवती भइसकेकी थिइन् । धन्न, आमाले सदाको लागि छोरीलाई हरिद्वार लिएर गइन् । पहिलो प्रेममै धक्का खानुपरेपछि हरिवंश निकै दुःखी भए र इलाहाबाद विश्वविद्यालयमा अस्थायी अध्यापक बने । विश्वविद्यालयको नजिक डेरा लिए । यसैबीच आइरिस नामक इसाई महिलासितको चिनजान प्रेममा बदलियो । तर, धर्म नमिलेको हुँदा आमाबुबाले बिबाह गरिदिन मानेनन् । त्यो बेला पिता प्रतापनारायण श्रीवास्तव बिरामी भएकाले पनि हरिवंशले जोड दिन सकेनन् । आफै बेखुशी भई बस्न थाले । पछि हिन्दी साहित्यका प्रसिद्ध साहित्यकार तथा समाजवादी अभियन्ता यश पालकी पत्नी प्रकाशवतीसँग पनि उस्तै सम्बन्ध जोडे । उनी प्रकाशवतीलाई ‘रानी’ भनेर संबोधन गर्थे । 

यसरी प्रत्येक प्रेम असफलतामा टुंगिएपछि हरिवंश एकान्तप्रेमी बन्न थाले । कवि सम्मेलनमा भने जान्थे । सन् १९४१ को डिसेम्बरमा पञ्जावको अबोहर फाजिल्का शहरमा आयोजित कवि सम्मेलनमा पुगे । उनका मिल्ने साथी प्रेमप्रकाश जौहरी बरेली कलेजमा अंग्रेजी भाषा पढाउँथे भने पत्नी प्रेमा फत्तेहचन्द महाविद्यालयकी प्रिन्सिपल थिइन् । प्रेमा र तेजी सुरी मिल्ने साथी थिए । लाहोरकी मनोविज्ञान पढाउने उपप्राध्यापक तेजी पनि पञ्जाबी युवकसित हुन लागेको बिहे टुटेपछि खिन्न भएर बसेकी थिइन् । प्रेमा क्रिसमस मनाउन घर फर्कंदा तेजीलाई पनि लिएर गइन् । यस्तैमा प्रेमप्रकाश र प्रेमाको दिमागमा एउटा योजना फु¥यो । प्रेम र विवाहमा असफल दुई पात्र हरिवंश र तेजीको जम्काभेट गराइदिने । प्रेमले हरिवंशलाई पञ्जाबबाट फर्कंदा बरेली भएर जान सन्देश पठाए । नयाँ वर्ष सँगै मनाउन आफ्नो घरमा आउन निम्तो दिए । 

हरिवंश ३१ डिसेम्बरको बिहानै प्रेमको घर पुगे । चिया पिउने समयमा तेजीसँग परिचय भयो । ‘उसको रूप पहिलो नजरमै जो–कोहीलाई अभिभूत गर्न पर्याप्त थियो । यदि उसले मायालु नजरले नहेरेको भए, उसलाई देख्नेबित्तिकै मेरो आँखा झुक्ने थियो ।’ हरिवंशले पहिलो भेटबारे पछि यसरी लेखे । साँझ जौहर दम्पतीले दुबै जनालाई शहर घुमाउन लगे । बग्गीमा तेजीले अगाडि बस्ने इच्छा प्रकट गरिन् जहाँ हरिवंश पहिल्यै बसिसकेका थिए । हरिवंशले पहिलोपटक तेजीबाट मायालु स्पर्श पाए, कुरैकुरोमा तेजीले काँधमा हात राखिन् । दुबै सँगै बसेर गफिँदै शहर घुमे । सोही दिन बेलुकी वरिष्ठ वकिल रामजीशरण सक्सेनाको घरमा आयोजित सांगीतिक कार्यक्रममा गए । त्यहाँ पनि सँगै बसे । त्यहाँबाट घर फर्किसकेपछि जौहरी दम्पतीले नयाँ वर्षको स्वागतमा एउटा कविता सुनाउन आग्रह गरे । हरिवंशले दुई श्लोकको ‘के गरुँ तिम्रो समवेदना लिएर’ भन्ने कविता सुनाए । जसको अन्तिम हरफ थियो– ‘यी आँखाबाट झरिसके, यी आँखाको अश्रुधारा ।’
कविता पाठपछि हरिवंशले प्रेमाको पछिल्तिर बसेकी तेजीतर्फ नजर दौडाए । तेजीले आँशु झारिसकेकी थिइन् । यो देखेर हरिवंश पनि रोए । यो देखेर जौहरी दम्पती कोठाबाट बाहिर गैदिए । हरिवंश लेख्छन् ‘उनीहरू बाहिरिसकेपछि हामी अँगालो हालेर रोयौं । चौबिस घण्टा नबित्दै दुई जना अपरिचित जीवनसाथी बनिसकेका थियौं ।’

भोलिपल्ट बिहान सन् १९४२ को नयाँ वर्ष । प्रेमप्रकाशले गुलाफको दुइटा माला बनाउन लगाएर दुबैको गलामा लगाइदिए ‘सगाइ’ भएको घोषणा गरिदिए । उक्त खबर छपाउन पत्रपत्रिकामा पनि पठाइयो । हरिवंश र तेजी जनवरी ४ सम्म बरेलीमै बसे । ५ जनवरीमा तेजी पिताको आशीर्वाद लिन लाहोर गइन् भने हरिवंश बिहेको तयारीका निम्ति इलाहावादतिर लागे । तेजीका मातापिताले हरिवंशलाई ज्वाइँ बनाउन मानेका थिएनन् । तर, तेजीले आमाबुबाको स्वीकृतिबिनै बिहे गर्ने निधो गरिन् । जसकारण बिहेपछि कहिल्यै माइत गइनन् । यसरी पहिलो भेटको ३ सातापछि नै जनवरी २४ मा उनीहरूको बिहे भयो । त्यसबेला हरिवंशको उमेर ३४ र तेजीको २७ थियो । सोही साल (सन् १९४२) अक्टोबर २४ मा तेजीलाई पुत्रलाभ भयो । प्रसिद्ध कवि सुमित्रानन्द पन्तले बालकको नाउँ राखे ‘अमिताभ’ ।

हरिवंश श्रीवास्तवले साहित्य सिर्जना गर्दाको समय श्रीवास्तवको सट्टा बच्चन नलेखेको भए महानायक अमिताभ बच्चनलाई आज हामीले अमिताभ श्रीवास्तव भनेर चिन्थ्यौं होला । तेजीले सन् १९४७ मा अर्को पुत्र जन्माइन् जो अजिताभको नाउँले चिनिन्छन् । महानायक अमिताभका पिता, अर्का नायक अभिषेकका बाजे, अभिनेत्री जया भादुरीका ससुरा र विश्वसुन्दरी तथा नायिका ऐश्वर्या रायका ससुरा हजुरबुबा हरिवंशको ९६ वर्षको उमेरमा सन् २००३ मा र पत्नी तेजीको ९३ वर्षको उमेरमा सन् २००७ मा निधन भइसकेको छ । हरिवंश कलेजमा अंग्रेजी पढाउँथे तर कविता भने हिन्दीमा लेख्थे । महानायक अमिताभ बच्चनले अभिनेत्रीद्वय रेखा र परविन बाबीसँगको आफ्नो प्रेम कथा लुकाए, सार्वजनिक रुपमा स्वीकार्ने हिम्मत गरेनन् तर उनका बुबा हरिवंशले आफ्नो आत्मकथामा साहस गरेर सबै स्त्रीसितको प्रेम प्रसंगलाई छताछुल्ल पारेका छन् । यस अर्थमा अमिताभ शेर हुन् भने हरिवंश बबरशेर । 
 

टिप्पणीहरू