बाहिर बाहिर महाधर्म, भित्र अनेक रंगिन कर्म

बाहिर बाहिर महाधर्म, भित्र अनेक रंगिन कर्म फोटोः अलेक्ज्याण्डर (षष्टम) र भानोजा

पोप, रोमन क्याथोलिक चर्चका सर्वोच्च धार्मिक नेता हुन् । रोमका विशप र भ्याटिकनका प्रमुख हुने ‘पोप’ को शाब्दिक अर्थ हो ‘पिता’ । यो ल्याटिन शब्द ‘पापा’ बाट आएको हो । फ्रान्सिस अहिलेका २६६ औं पोप हुन् । यिनको जन्म अर्जेन्टिनामा भएको हो । सन्तपिता अर्थात् होली फादर या पोप विश्वकै भूगोल र जनसंख्याको हिसाबले सबैभन्दा सानो मुलुक भेटिकनको राष्ट्रप्रमुख हुने व्यवस्था छ । यो मुलुक इटलीको राजधानी रोमको बीचमा अवस्थित छ । मात्र १२१ एकड भूमिमा फैलिएको र कूल जनसंख्या ८ सय २५ भएको अत्यन्त सानो यो मुलुक सन् १९२१ मा इटलीबाट स्वतन्त्र भएको हो ।

विश्वमा इसाई धर्म मान्नेको संख्या २ अर्ब ३८ करोड रहेको तथ्यांक छ । यो कूल जनसंख्याको ३१ प्रतिशत हुन आउँछ । त्यस्तै, २५ प्रतिशतले इस्लाम, करिब १६ प्रतिशत कुनै धर्म नमान्ने अर्थात् नास्तिक, १५ प्रतिशत हिन्दू र करिब ७ प्रतिशत बौद्ध रहेको तथ्यांक छ । इसाई धर्मको पनि ६ वटा शाखा छन् । तीमध्येको सबैभन्दा ठूलो शाखा रोमन क्याथोलिक हो, विश्वका १ अर्ब ३८ लाख जनसंख्या यसमा आबद्ध छन् । अलेक्ज्याण्डर (षष्टम) यिनै रोमन क्याथोलिकका पवित्र पिता अर्थात् २१४ औं पोप थिए । तर, पोपहरूमध्येकै बदनाम पोप भएकै कारण उनलाई इसाईले नै धार्मिक नेताको रुपमा लिने गरेको छैन । उनी तिनीहरूमाझ खराब पापा वा बदमास पोप भनेर चिनिन्छन्, किनभने उनी विषपान, घुसखोरी, यौन प्रकरण र यहाँसम्म कि कौटुम्बिक यौन व्यभिचारमा समेत संलग्न हुने गरेका थिए । उनले थुप्रै महिलासित अनैतिक सम्बन्ध जोडे, नाजायज सन्तानको बाबु बने । त्यो बेला भ्याटिकन नगर स्वतन्त्र मुलुक बनिसकेको थिएन तर इटलीका कतिपय राज्य र टापुको शासन प्रशासन सीधै चर्चबाट हुने गथ्र्याे र पोप यी राज्यको प्रमुख हुन्थे ।

अलेक्ज्याण्डर पोप बन्नुअघि स्पेन निवासी रोडरिगो डे बोर्जाले पोप बन्न धेरै मिहिनेत गरे । विरोधीहरूलाई मार्गबाट हटाउन अनेक षड्यन्त्र रचे । यहाँसम्म कि फ्रान्सको सहयोगसमेत लिए । सान निकोलाको कार्डिनल डेकोन (जुनियर कार्डिनल), गिरोनाको प्रशासक, उर्जेलको विशप, अल्बानोको कार्डिनल विशप आदि÷इत्यादि हुँदै उनी सन् १४९२ मा पोप बन्दा उमेर ६१ पुगिसकेको थियो । पोप बन्नु २६ वर्षअघि उनी चर्चद्वारा शासित विभिन्न राज्यको प्रशासक र चर्चको कार्डिनल थिए । त्यसैबेला उनको भेट गियोभाना ‘भानोन्जा’ क्यातानेईसँग भयो । भानोजाको जन्म कुलीन परिवारमा भएको थियो । उनी स्मार्ट र मिहिनेती थिइन् अनि सौन्दर्यका लागि पनि उत्तिकै चर्चित । उनी रोममा खुलेका धेरै वटा मदिरालयको मालिक्नी थिइन् । रोड्रिगो बोर्जियासँग भेट हुनुअघि उनको ‘सम्बन्ध’ पछि पोप जुलियस द्वितीय बनेका कार्डिनल गुलियानो डेल रोभेरोसित थियो । भानोजासित बोर्जाले अनैतिक सम्बन्ध राख्दै गए । करिब दशकभन्दा पनि बढी उनीहरूको सम्बन्ध गयो र यसबीच भानोजा ४ सन्तानको आमा बनिन् । बोर्जाले सगौरव ती सन्तान आफ्नै भएको दाबी गरे । उनले भानोजासित सम्बन्ध राखेको बेला होस् वा पछि, सबै खर्च आफैँले व्यहोर्दै गए । आर्थिक सहयोग पनि यति धेरै गरे कि भानोजा रोम शहरको एक धनी महिलामा गनिन पुगिन् ।

यो सम्बन्ध रहेकै बेला भानोजाले बिहे गरिन् । उनको लोग्ने बनेका डोमिनीको अरिगनानो चर्चकै एक अधिकारी हुन् । अचम्मको कुरा, डोमिनिकोसँग बिहे गर्न भानोजालाई बोर्जाले नै सल्लाह दिएका थिए । डोमिनिकोको निधन भानोजा दोस्रो पटक आमा बन्नुअघि नै भयो । तब, बोर्जाले फेरि भानोजाको बिहे आफ्नै स्वकीय सचिव ग्रेगियो डे क्रोसेसित गराइदिए । ग्रेगियोको निधन पनि सन् १४८६ मा भयो । उनको मृत्युपश्चात् भानोजाले कार्लो क्यानालेसित बिहे गरिन् । बोर्जा पोप बनेपछि भने भानोजाप्रतिको मोहमा कमी आयो । विस्तारै टाढिन थाले । यद्यपि, पछिसम्मै दुबै असल सथीको रुपमा रहे । बोर्जाले आफ्नै हुन् भनी दाबी गरेका सबै सन्तानको पढाइ हुर्काइमा लाग्ने सम्पूर्ण खर्च ब्यहोरे । थुप्रै धनराशि दान दिइदिए । भानोजाको निधन बोर्जा पोप बनेको २३ वर्ष र बोर्जा उर्फ पोप अलेक्ज्याण्डर (षष्टम) को मृत्युको १५ वर्षपछि भयो । उनलाई बोर्जापछि पोप बनेका पोप लियो (दशम) ले पोप अलेक्ज्याण्डरको विधवाको रुपमा मान्यता प्रदान गरे भने डचेज अफ फेराराबाट समेत सम्मानित गरिदिए । अन्त्येष्टि पनि राजकीय सम्मानसाथ गर्न लगाए ।

भानोजा र बोर्जाका छोरा सिजरलाई पछि बोर्जाले कार्डिनल बनाइदिए । पोप अल्क्ज्याण्डर (षष्टम) को पालामा उनीद्वारा शासित राज्यमा नातावाद, कृपावाद चरमोत्कर्षमा पुगेको थियो । उनीहरूका छोरी लुक्रेजियाले जीवनमा ३ पटक बिहे गरिन् तर उनको शारीरिक सम्बन्ध दाजु सिजर र पिता बोर्जासित पनि रहेको हल्ला त्यतिखेर राज्यभित्र चलेको थियो । पोप अलेक्ज्याण्डरलाई यसै कारण पनि कौटुम्बिक ब्यभिचारी पनि मान्ने गरिन्छ । अलेक्ज्याण्डरले भानोजासित ‘श्रीमती’ कै व्यवहार गर्दै गरेको बेलैमा पनि उनको अर्की प्रेमिका थिइन् – गिउलिया फर्निस । गिउलिया पछि पोप बनेका पाउल (तृतीय) की बहिनी थिइन् । अलेक्ज्याण्डर र उनको उमेरमा ४३ वर्षको अन्तर थियो । तैपनि, बूढो अलेक्ज्याण्डरको मायाजालमा फसिहालिन् ।  अलेक्ज्याण्डरसित मायाप्रेम गर्दै गरेको समयमै उनको बिहे ओर्सिनो ओर्सिनीसित भयो । उक्त बिहे पनि अलेक्ज्याण्डरकै जोडबलमा गिउलियाले गरेकी थिइन् । ओर्सिनो नातामा अलेक्ज्याण्डरको भाइ पर्छन् ।  आमातिरका नातेदार।

अलेज्याण्डर पोप बनेपछि गिउलियाले राज्य र चर्चबाट लाभ लिनेसम्म लिइन् । आर्थिक लाभ त लिइन् नै आफ्नो भाइ अलेसान्द्रोलाई पनि कार्डिनल बनाउन सफल भइन् । गिउलियाले अधिकांश समय रोम शहरभन्दा ५० किमी टाढाको शहर लाटिउममा अवस्थित दरबारमा बिताइन् जुन दरबार पोप अलेक्ज्याण्डरले उपहार दिएका थिए । गिउलियाले एउटी छोरी जन्माएकी थिइन् –लाउरा ओर्सिनी । लाउराका पिता पनि ओर्सिनो थिएनन् उनै पोप अलेक्ज्याण्डर नै थिए । इटलीका जनतालाई पोप र भानोजाको सम्बन्ध लोग्ने र स्वास्नीकै रुपमा रहेको जानकारी थियो, हुँदाहुँदा फेरि गिउलियासित पनि पोपले उस्तै सम्बन्ध कायम गर्न पुगेपछि पोपको पवित्र चरित्रमाथि अनेकन प्रश्न उठाए । यहाँसम्म कि पोपको व्यवहार मन नपराउने जनताले गिउलियालाई ‘पोपको रखैल’ भन्न थाले भने पोपका समर्थकले ‘क्राइस्टकी बेहुली’ । अंग्रेज लेखक, सम्पादक तथा पत्रकार मिसेल डे ला बोडोयेरेले पनि गिउलियालाई ‘पोपको रखैल’ नै भनी आफ्नो पुस्तकमा लेखेका छन् ।

गिउलिया र पोपको सम्बन्ध त्यतिबेला बिग्रियो जब गिउलियाका भाइ आन्द्रो मृत फेला परे । शत्रुलाई विषपान गराउन लगाएर मार्नसमेत पछि नपर्ने पोप अलेक्ज्याण्डरले नै आफ्नो भाइलाई पनि मारेको आरोप गिउलियाले लगाइन् । यति नै बेला फ्रान्सले इटलीमाथि सैन्य आक्रमण ग¥यो । र, गिउलियालाई बन्दी बनायो । उनको रिहाइका लागि पोपले फ्रान्सलाई ठूलै धनराशि तिरेकाले फेरि सुलह भयो । गिउलियासित मायाप्रेम बसेको बेला अलेक्ज्याण्डरको भानोजासितको प्रेममा कमी आएको थिएन तसर्थ पनि, गिउलियालाई दरबार, थुप्रै धन सम्पत्ति दिएर रोमभन्दा टाढा नै राखे । सन् १५०० मा ओर्सिनोको अकस्मात् मृत्युपश्चात् गिउलियाले नेपल्सको धनी व्यक्ति बारोन गियोभानीसित बिहे गरिन् । उनी पोपकै प्रतापमा कार्बोग्नानोको गभर्नरसमेत बनिन् । गिउलियाको निधन ५० वर्षको उमेरमा सन् १५२४ मा भयो । उनका दाजु अलेसान्द्रो पछि पाउल (तृतीय) को नाउँले पोप बने सन् १५३४ मा ।

भनिन्छ, पोप अलेक्ज्याण्डर् (षष्टम) को भानोजा र गिउलियाबाहेक थुप्रै महिलासित अनैतिक सम्बन्ध थियो, उनीहरूबाट थुप्रै सन्तान छन् । चारित्रिक त खराब छ नै त्यसबाहेक शत्रुहरूको अपहरण गर्न लगाउने, नोकरमार्फत विषपान गर्न लगाएर मार्ने, चर्चलाई भ्रष्टाचारमा लिप्त पार्ने र दासप्रथालाई समर्थन गरेजस्तो संगीन आरोप उनीमाथि लाग्ने गरेको छ । उनको निधन सन् १५०३ मा भयो, त्यसबेलासम्म पनि उनी पोप नै थिए ।

 

टिप्पणीहरू