रविमाथि कारबाहीको माग गर्दै नेविसंघ सहकारी विभागमा

रविमाथि कारबाहीको माग गर्दै नेविसंघ सहकारी विभागमा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरेको छ । 

उनीमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्दै नेविसंघको केन्द्रीय समितिले आज सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । 

सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, सहारा चितवन सहकारीको रकम रविले आफू संलग्न भएको गोरखा मिडिया नेटवर्कको खातामा ट्रान्सफर गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै समितिले तुरुन्त अनुसन्धान अघि बढाउन विभागको ध्यानाकर्षण गराएको छ । दोषी भाग्ने अवस्था विद्यमान रहेकाले शंका लागेका व्यक्तिलाई अनुसन्धान कार्यमा सरिक गराउन समितिको सुझाव छ । 

उक्त सहकारीका बचतकर्ताले ठगिएको जानकारी गराएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ,‘उक्त सहकारीहरुमार्फत भएको ठगी प्रकरण सम्बन्धमा अनुसन्धान कार्य अगाडि बढाई सत्यतथ्य नआउँदा ठगीको घटना बढ्दै जाने अवस्था हुँदा दोषीलाई कारबाहीमा ल्याउन सहकारी विभागको महत्वपूर्ण भूमिका रहने हुँदा यथार्थता बाहिर ल्याउन तथा दोषी भाग्न नपाउने भनि जोडदार माग गर्दछौं ।’

ज्ञापनपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा अनुराग शाह, ललितपुर जिल्ला अध्यक्ष सरोज खोरासैनीलगायत एक दर्जनको टोली विभाग पुगेको थियो । यता, सर्वोच्च अदालतमा रिट हालेर रविको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले पनि उनीविरुद्ध विभागमा उजुरी हालेका छन् । उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन समयमा एमडी रहेका रविमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गर्दै अस्ति उजुरी दर्ता गरेका हुन् ।
 

टिप्पणीहरू