बासी टियर ग्याँस

बासी टियर ग्याँस

अचेल कुनै ठाउँमा यसो छुसुक्क मात्रै गोलमाल पर्‍यो भने पनि प्रहरीले ड्यांग लाएर गोली चलाइहाल्छन् । काठमाडौं मात्र होइन, बाहिर जिल्लातिर पनि यस्तो घटना निकै बढिरहेको छ ।

जुलुस निस्क्यो त्यसमा गोली, प्रदर्शन भयो त्यसमा पनि गोली, धर्ना बस्यो त्यसमै गोली । जेमा पनि गोली । आखिर प्रहरीले जेमा पनि यसरी गोली हानेको हान्यै किन गर्छ होला ?

सबैलाई आश्चर्यमा पार्ने यो प्रश्नको उत्तर भर्खर भेटिएको छ । यसको प्रमुख कारण हो, प्रहरीसँग भएको टियर ग्याँस जम्मै डेट एक्स्पायर हुनु । भीड नियन्त्रण गर्न गोलीभन्दा पहिले टियर ग्यास हान्नुपर्ने हो । हान्नलाई प्रहरीसँग टियर ग्याँस नभएको पनि होइन, छ ।

तर भएर के गर्नु, जम्मै डेट एक्स्पाएर । अब डेट एक्स्पाएर भएको टियर ग्यास हानुँ भने भोलि त्यसले अर्को प्रश्न उठाइदिन सक्छ, जनतामाथि डेट एक्स्पाएर भएको टियर ग्यास हानियो भनेर । यसले जनताको मानवअधिकार उल्लंघन भएको पनि ठहरिन सक्छ । सरकारले त्यसमा पनि ध्यान राख्नै पर्‍यो । 

तर गोलीचाहिँ त्यस्तो छैन । गोली जम्मै फ्रेस, ताजा । अर्थात डेट एक्स्पाएर भएको छैन । स्टक पनि प्रशस्तै छ । त्यसैले जनतामाथि बासी टियर ग्यास हान्नुभन्दा ताजा गोली हान्नु नै उत्तम हो । बिचरा जनता बासी तरकारी र बासी फलफूल खाँदाखाँदा वाक्क भइसके ।

अब कमसेकम गोली त ताजा खान पाउन् । प्रहरीले असल चित्त राखेर सोचेको त यही हो । अब मान्छेहरूले गलत अर्थ लगाउँछन् भने हामीले के भन्नु ! 
 

टिप्पणीहरू