नवौं उद्घाटन

नवौं उद्घाटन

एउटा भनाइ छ, जुन रोग निको हुने कुनै सम्भावना हुँदैन त्यसको उपचार विधि अनेक हुन्छ । अहिले मेलम्चीको पानीमा पनि त्यस्तै भइरहेको छ । जुन पानी आउने सम्भावनै छैन, त्यसैको उद्घाटन बारम्बार भइरहेको छ ।

भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट यसको पाँचौं उद्घाटन भयो । यो भन्दा अघि यसको चार पटक उद्घाटन भइसकेको थियो । कहिले राष्ट्रपतिबाट, कहिले प्रधानमन्त्रीबाट, कहिले खानेपानी मन्त्रीबाट, कहिले गृहमन्त्रीबाट । उद्घाटन भएको भयै छ ।

देशमा कुनै त्यस्तो सरकार बाँकी छैन होला जसले मेलम्चीको उद्घाटन नगरेको होस् । अब त यस्तो भइसक्यो, मेलम्चीको उद्घाटन नगरेको सरकार पर्‍यो भने लाजमर्दो नै हुन्छ होला । देशमा जुन सरकार आए पनि एकपटक भारत भ्रमण गर्नैपर्ने जुन चलन छ नि ! त्यो अब मेलम्चीको उद्घाटनमा पनि सर्लाजस्तो भइसक्यो ।

जुन सरकार आए पनि एक पटक मेलम्चीको उद्घाटन गर्नै पर्ने । होइन भने सरकारलाई आरोप लाग्न सक्छ, मेलम्ची उद्घाटन नगर्ने सरकार पनि सरकार हुन्छ ?

तर विडम्बना यही छ, जति उद्घाटन गरे पनि मेलम्चीबाट पानी भने आएकै होइन । अहिले सरकार पानी नआउने धारोको उद्घाटन गर्नमै व्यस्त छ । यसको सट्टा बरु आफ्नै घरमा जारको पानी उद्घाटन गर्नु राम्रो होला जस्तो छ, कमसेकम पानी झर्ने ग्यारेन्टी त हुन्छ ! 
 

टिप्पणीहरू