‘उपहार’ बन्यो बहाना, काँग्रेसमा लाग्ने रेखाको चाहना

‘उपहार’ बन्यो बहाना, काँग्रेसमा लाग्ने रेखाको चाहना
सुन्नुहोस्

राजनीतिमा को कतिबेला साथी बन्छ र को कतिबेला दुश्मन बन्छ, पत्तो हुँदैन ।  कलाकारको हकमा झन् नेताहरुको ’फेभरेट’ र ’एनिमी’ बन्न कुनै बेर लाग्दैन । यो प्रसंगको अग्रपंक्तिमा आउँछिन्, अभिनेत्री रेखा थापा । 

२०६९ सालमा प्रधानमन्त्री तथा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग राजधानीको भद्रकालीमा ’कुम जोडेर’ नाचेपछि रेखाले राजनीतिमा राम्रै तरङ्ग ल्याइन् । पार्टी मुख्यालय पेरिसडाँडा पुगेर प्रचण्डको हातबाट टीका लगाएर रेखा माओवादीमा प्रवेश गरिन् । 

माधव नेपाल प्रधानमन्त्री भएको बेलामा कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले गरेको सडक प्रदर्शनमा रेखाले दिलोज्यान दिइन् । सिंहदरबार अगाडिको जुलुसमा ’लालुपाते लुङ्गयो भुइँतिर’ बोलको गीतमा प्रचण्डसँग कम्मर मर्काएर नाचेपछि एकाएक रेखा अभिनेत्रीबाट नेतृ पनि बनेकी थिइन् ।

तर, माओवादीमा लागेको पाँच वर्षपछि उनलाई के भयो कुन्नी, ०७३ को मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रोजिन् । त्यसयता उनी राजेन्द्र लिङ्देनसँग नजिकिइन् । लिङ्देनले ०७९ को निर्वाचनमा रेखालाई मोरङ—३ बाट चुनावी प्रतिस्पार्धाको निम्ति टिकट दिलाए । भलै उनी चुनावमा पराजित भइन् तर पनि रेखाले लिङ्देनलाई अभिभावक नै मान्दै आएकी थिइन् ।

गत माघ दोश्रो सातादेखि भने रेखा राप्रपा र लिङ्देनसँग पनि चिढिएकी छन् । अहिले उनी काँग्रेसतिर लागेको बताइन्छ । लिङ्देनले एक सार्वजनिक कार्यक्रममा रेखालाई व्यङ्ग्यपूर्ण अभिव्यक्ति दिएपछि उनी चिढिएको बताइन्छ । पहिलो सन्तान जन्माउन रेखा श्रीमानसँग अमेरिका गएपछि लिङ्देनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । उ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’

लिङ्देको उक्त अभिव्यक्तिले रेखालाई नराम्रोसँग पोल्यो, सायद । उनले पनि लिङ्देनलाई जवाफ फर्काइन्,  ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

सोही विवादपछि अहिले रेखा राप्रपा छाडेर नेपाली काँग्रेसतिर नजिक भएकी हुन् । पछिल्लो समय काँग्रेसका केही शीर्ष नेताहरुसँग रेखाले सम्बन्ध बलियो बनाउँदै लगेको उनी निकटस्थहरुको दावी छ । 

अहिले रेखाको नयाँ चलचित्र ’उपहार’ रिलिजको संघारमा छ । उक्त चलचित्रका पोस्टर, गीत, टिजर र ट्रेलर पनि सार्वजनिक भइसकेको छ । तर राप्रपाका कुनै पनि नेताहरुले रेखालाई सहयोग हुने ढंगले चलचित्र प्रचारमा सहयोग गरेको देखिँदैन । बरु नेपाली काँग्रेसका केही नेताले उनको चलचित्रको प्रचार गरिरहेका छन् । सांसद सुनिल शर्माले सामाजिक सञ्जालमा केही दिनयता रेखाकै पक्षमा विभिन्न स्टाटस लेख्दै आएका छन् । 

त्यसो त, स्थानीय निर्वाचनमा रेखाले मोरङ—३ बाट चुनाव लड्दा सांसद शर्मा पनि प्रतिद्वन्द्वी थिए । तर अहिले शर्मा रेखाको चलचित्र प्रचारमा निकै सक्रिय भएर लागेका छन् । शर्माले रेखालाई हक्की र निडर महिलाको संज्ञा समेत दिएका छन् । उनले कुनै दिन रेखासँग सहकार्य हुने आशय पनि व्यक्त गरेका छन् । 

‘निक्कै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् विस्वास राखेको छु’, शर्माले चलचित्रको प्रचार गर्दै भनेका छन्, ’रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सँधै रहनेछ । सहकार्य रहनेछ ।’
 

टिप्पणीहरू